Logo

‘थप बन्दाबन्दी थेग्न नसक्ने’



Spread the love

२८ कार्तिक, काठमाडौं : वायु सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ।

विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो।

‘केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘छ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन।’ 

संघले हजारौँ श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायुसेवा कम्पनी रु ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु नहुनेमा जोड दिएको छ। 

कोभिड–१९ महामारीको सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाडौँ उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो। महामारीकैबीच भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान सुरु भएको थियो।

सरकारले मङ्सिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ। यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई भने कारवाहीको दायरामा ल्याउन पनि सङ्घले माग गरेको छ। 

बन्दाबन्दीका बीचमा समेत सङ्क्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै सङ्घले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन्। रासस 

प्रतिक्रिया दिनुहोस्