Logo

म्युजिकल जिन्दगी !!!



Spread the love

 

 

जहाँ शब्दहरु असफल हुन्छन्, त्यहाँ संगीत बोल्न थाल्छ !!!

कृश्चियन एंडरसन

हेल्लो, नमस्ते !!

साप्ताहिक रेडियो कार्यक्रम “म्युजिकल जिन्दगी” पर्खेर बस्नु भएका सम्पुर्ण श्रोताबृन्दहरुमा म कार्यक्रम प्रस्तोता राजन के.सी.’प्रमोद’को आत्मीय नमस्कार।

हरेक बुधबार साँझ सात बजेको ‘सल्लेरी समाचार’ पछि प्रसारण हुने कार्यक्रम ‘म्युजिकल जिन्दगी’मा, हामी जिन्दगी र जिन्दगीका अनेक आयामहरुमा संगीतको जादुबारे चर्चा-परिचर्चा गर्ने गर्छौं। केही सुमधुर मनपसन्द गीत-संगीतको रसपान। केही सांगीतिक गफगाफ। अनि, थोरै केही जिन्दगीका कुरा। समग्रमा, एक म्युजिकल महफिल।

हजुर ! सदा झै आज पनि हामी म्युजिकल जिन्दगीको जबर्जस्त सेलिब्रेसन गर्न, यहाँहरुको माझ उपस्थित भैसकेका छौं। काठमाडौ बिजुलीबजारमा रहेको हाम्रो स्टुडियो रुम भित्र म छु र काँचको पर्दा पारी रहेर छुस्स दारीमा फुस्स मुस्कुराउदै निरन्तर साथ दिइरहनु भएको छ, प्राविधिक दाजु बिकास अर्यालले।

आत्थु ! यो चिसोको करेन्ट ! साँझ बढेसँगै झन्झन् बढेको चिसोले अचेल खुबै सताइरहेको छ। वाक्क दिक्क प्याक्कै हुने गरी ! यहाँहरुलाई पनि सायद सताइ रहेकै होला।

तपाईहरू मध्य कोहि अहिले घरमा मज्जाले  हिटर ताप्दै, कोही खाना-साना पकाउदै, त् कोही ब्ल्यान्केट मुनी कोच्चिएर सहि, हाम्रो कार्यक्रम सुनीरहनु भएको होला। कोहि भने अझैं अस्तव्यस्तको बाटो मै पनि हुनुहुन्छ होला।

जेहोस् ! जहाँ-जता भएपनी, स्वस्थ, मस्त अनि व्यस्त रहनुहोला, हामीलाई सुन्दै गर्नुहोला, हाम्रो सुभेक्षा।

कार्यक्रम ‘म्युजिकल जिन्दगी’मा हामी यहाँहरु माझ हरेक हप्ता एउटा प्रश्न राख्ने गर्छौं। बिल्कुल सांगितिक प्रश्न। अनि, तपाईहरुले हामीलाई उक्त प्रश्नबारेको आफ्नो मनमा लागेको बिचार फटाफट म्यासेज गरेर पठाउनु पर्ने हुन्छ। बोनसमा, आफ्नो विचारसँगै आफ्नो मनपसन्द गीत पनि डेडिकेट गर्न पाइन्छ।

अनि..अनि ! मेसेजमा, आफ्नो नाम र ठेगाना चै लेख्न नभुल्नुहोला है।

आजको लागि हाम्रो प्रश्न रहेको छ,”संगीतले तपाईको जिन्दगीमा के अर्थ/महत्व राख्दछ ?”

आउनुहोस् ! फटाफट छेउको आफ्नो मोबाइल उठाउनुस्, मेसेज बक्समा जानुस्, आफ्नो नाम-ठेगाना सहित आफ्नो बिचार, साथमा एउटा मनपसन्द गीतको नाम लेख्नुस् अनि, हामीलाई पठाउनुस् है त।

ल ! अहिलेलाई चैं, कार्यक्रमको सुरुवातमा एउटा सुमधुर गीत राख्न चाहन्छौ। गीतपछि हामी पुन: उपस्थित हुने नै छौं। हामी सँगै रहनुहोला।

दुइटा फुल देउरालीमा, साथै राखुँ जस्तो लाग्छ

कतै टाढा जाँदा खेरी, सँगै हिडु जस्तो लाग्छ …

नारायण गोपाल

गीत पछि पुन: स्वागत छ यहाँहरुलाई, कार्यक्रम ‘म्युजिकल जिन्दगी’मा।

बहराम बेइजाइको इरानी फिल्म ‘बाशु, द लिटल स्ट्र्यान्जर’मा एउटा दृश्य छ, जहाँ फिल्मको मुख्य पात्र ‘बाशु’ हराभरा बारीमा जोडजोडले ड्रम बजाउँदै गीत गाइरहेको भेटिन्छ। दृश्य अलि बिचित्र लागेपछी, उसलाई यसको कारणबारे सोधिन्छ।

निर्दोष आवाजमा ऊ बोल्न थाल्छ,”संगीत यति गज्जबको जादु हो कि, यसको बहावले मान्छेलाई मात्र होइन, बिरुवालाई पनि बडो सुन्दर अनुभूति दिलाउँछ रे। जसका कारण ऊ छिट्टै हुर्किन्छ, फल्छ र मनग्ये अन्न दिन थाल्छ। मलाई मेरी आमाले भन्नू भएको। त्यसैले यी बिरुवा छिट्टै हुर्किउन भनेर यस्तो गर्दैछु।”

खैर ! अबको पालो म्यासेजको।

“संगीतले तपाईंको जिन्दगीमा के अर्थ/महत्व राख्दछ ?” भन्ने आजको हाम्रो प्रश्नमा, ललितपुर एकान्तकुनाबाट आशिषजी लेख्नुहुन्छ,”संगीत मेरो लागी एक मायावी जादु हो, जसले मलाई कुनै पनि कुराको एकोहोरो टेन्सनबाट सदा मुक्त पार्दिन्छ। अनि, कहिलेकसो भने केही मिठा सुमधुर यादहरू तरोताजा बनाइ दिन्छ।”

अहो ! कती सुन्दर !! थ्यांक यु आशिषजी यहाँको यति सुन्दर विचार सहितको सहभागिताको लागि।

हजुरहरु पनि यसरी नै आफ्नो विचार हामीलाई सम्प्रेषण गर्दै कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुन्छ।

अहिलेको लागि भने, आशिष जीको मनपसन्द गीत, हजुरहरु सबैका सामु पेश गर्न चाहन्छौं। सुन्दै गर्नुहोला।

होश वालोंको खबर क्या, बेखुदी क्या चिज है

इश्क किजिए फिर समझिए, जिन्दगी क्या चिज है !!

जगजीत सिंह

यो श्रुतिमधुर सांगितिक बसाइ पछि पुन: स्वागत छ, सल्लेरी एफ.एम.को साप्ताहिक कार्यक्रम ‘म्युजिकल जिन्दगी’मा। म यहाँहरुकै सहयात्राी राजन के.सी.’प्रमोद’।

कुनै यस्सो एक खुलस्त मौसम, मन्दमन्द हावा, सन्ध्याकालीन अँध्यारो, शहरको चमकधमक। दुई कानमा टमक्क इयरफोन अनि, इयरफोन भित्र उहीँ आफ्ना प्रिय मनपसन्द गीत। अहो ! त्यो रहरलाग्दो मज्जा। त्यो लोभलाग्दो महफिल।

फ्रेडरिक नित्से बुढाले त्यसै कहाँं भनेका हुन र,”संगीत बिनाको जिन्दगी फगत एक भुल हो।”

खैर ! अबको बसाइमा हामीसँग अाइपुगेका केही म्यासेज पल्टाउन तिर लाग्छु।

तिनकुनेबाट राधाजी लेख्नुहुन्छ,”किनकिन संगीत मलाई जिन्दगीको एउटा पाटो मात्रै होइन, बल्की सिंगो जिन्दगी जस्तै लाग्छ। हुबहु। भाषा बिना नै पनि यती गज्जबको हुनाले, संगीत मलाई अझ बिशेष लाग्छ। शायद, सबै चिजहरुमा हुन्छ संगीत। कतै लयात्मक, कतै सुरिलो। कतै मधुर, कतै लाउड। बस् ! हामीले चिन्न सक्नु पर्छ। सायद, यहीं खोज नै हो जिन्दगी।”

वाउ ! कति सुन्दर दृष्टिकोण। थ्यांक यु राधाजी, यति सुन्दर विचार सम्प्रेषणको लागि। आउँदा दिनहरुमा पनि हामीलाई सम्झिदै गर्नुहोला। चटक्कै माया नमार्नुहोला है।

अबको क्रममा भने उहाँकै रोजाईको गीत, यहाँहरु सबैको लागि। त्यतिञ्जेल, हजुरहरु पनि आफ्नो म्यासेज पठाउदै गर्नुस् है।

सम विल विन, सम विल लुज

सम वेर बर्न, टु सिङ द ब्लुज !!

ओ ! द मुभी नेभर एन्ड्स,

इट गोज अन…एन्ड अन…

डोन्ट स्टप बिलिभिङ, जर्नी

गीत पछि पुन: स्वागत छ, कार्यक्रम ‘म्युजिकल जिन्दगी’मा। स्टुडियोको घडीले जनाए अनुसार, हामी कार्यक्रमको लगभग अन्त्य-अन्त्यतिर पनि आइपुगेका छौं।

साच्चै ! जिन्दगीमा धेरै कुराहरु छन्, जुन सधै  सुन्दर अनि भब्य लाग्दछन्। जसरी जसले जताबाट नियाले पनि। जस्तो कि; कला, साहित्य, संगीत, रोमान्स, प्रकृति अनि केही अरु-अरु पनि। त्यसमध्ये पनि संगीत सम्भवत: कलाको सरल, सर्बोच्च एवं सर्वप्रिय स्थानमा पर्दछ, शायद। जसरी लेख्य साहित्यको सर्बोच्चतामा पर्छ, ‘कविता’।

यसैबिच, भक्तपुरबाट रशिकजी लेख्नुहुन्छ,”संगीतको वास्तविक अर्थ र परिभाषा, मलाई लाग्छ, सायद उसलाई नै थाहा होला, जसले यी मान्छेहरू बनायो, मान्छेहरुलाई मक्ख पार्ने यती गज्जबको यो संगीत बनायो।”

त्यसैगरी, हामीलाई अर्को म्यासेज पठाउनु भएको छ, श्रीजना जीले ललितपुर पाटनबाट। उहाँ लेख्नुहुन्छ,”मैले संगीत बारे त्यति बुझेकी त छैन। तर पनि, जे-जति सुनेकी छु, त्यस आधारमा भन्ने हो भने, हामी प्रत्यकको जीवनमा संगीतले अहम अर्थ राख्दछ। जसरी, गाउघरतिर बनजंगलमा घाँसदाउरा गर्दा होस् या खेतबारीमा अन्न बाली रोप्दा-हुर्काउदा होस् या त बिहे-पुजा गर्दा नै किन नहोस्। संगीतले धेरै महत्व राख्दछ। संगीत हुदैनथ्यो त सायद, दर्दनाक ती जीवनहरु, कदापी सह्य हुन सक्दैन थिए होलान्।”

श्रीजनाजी  र रशिकजी, यहाँहरु दुबैजनालाई यती सुन्दर प्रतिकृयाको लागि धेरै-धेरै धन्यवाद ।

अबको क्रममा, श्रीजनाजीको मनछुने गीत, यहाँहरू सबै-सबैका लागि। हामी सँगै रहनुहोला हस्।

सल्लो ढल्यो सल्यानतिर, साल ढल्यो दाङतिर

लाग्ने माया त्यसै लाइन्छ, नहेर आङतिर !!

टप्पा गीत, खर्क बुढा

अहो ! यो सुन्दर लोक सुगन्ध।

कुनै एक लामो सफर, रफ्तारमा गाडी, झ्यालनेरको सिट, सिरसिर हावा, साइडमा कोही प्रिय मुस्कान अनि, ब्याकग्राउन्डमा कुनै मीठो मधुर  संगीत। अहो ! त्यो मस्तमौला ‘म्युजिकल जिन्दगी’।

एक व्यस्त जीवन, चरम थकान, सितल छहारी, चिसो ठन्डा पानी अनि, एक ब्याकग्राउन्डमा कुनै सुरिलो संगीत। अहो ! त्यो शानदार ‘म्युजिकल जिन्दगी’।

सोलडोलमा, कास् ! जिन्दगी यदि यति भब्य र म्युजिकल हुदैनथ्यो भने, यो सुमधुरता, यो सभ्यता, यो रोमाञ्चकता, यो जबर्जस्ती सायदै हुदो हो।

हवस्त ! आजको बसाइँमा यति नै।

आफ्नो व्यस्त समयका बाबजुद पनि, कतै हलचल नगरिकन, अहिलेसम्म हामीलाई सुनिदिनु भो, सहभागिता जनाइदिनु भो, यहाँहरू सबैलाई मुरीमुरी धन्यवाद। त्यसैगरी, प्राबिधिक दाजु बिकाश अर्याललाई पनि असीम आभार। अर्को हप्ता पुन: यस्तै सांगीतिक महफिल लिएर उपस्थित हुनेनै छौं। यसपालिलाई भने बिपुल छेत्रीको ‘जुनकिरी’ सँगै बिदा हुन चाहन्छौं, हवस्त। धन्यवाद ! शुभ रात्री !

आजको यो रात फेरि मलाई

रहरले बिउँझायो

कल्पनाहरु मेरो आँखाभरी

जुनकिरी बनी छायो

यो मीठो रात यतै

बसिदे भए हुन्थ्यो !!!

जुनकीरी, बिपुल छेत्री

स्पेशल नोट:-

डोन्ट मेक एनी कम्प्रोमाइजेसन इन

जबर्जस्त सेलीब्रेसन अफ

दिस् शानदार लाइफ !!

लेट्स से टुगेदर,

चियर्स जिन्दगी !!!

 

राजन के.सी.’प्रमोद’को साप्ताहिक स्तम्भको अघिल्लो शृंखला:-

चियर्स जिन्दगी !!!

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्