Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

कलेज जीवनका सम्झनाहरु-३



दोस्रो सेमेष्टरको पढाइ अगाडि बढ्दै गर्दा काठमाडौंको जाडो पनि बढ्दै थियो । काठमाडौं बाहिरबाट पढ्न आएकाका धेरैजसोका लागि यो काठमाडौंको पहिलो हिउँदे बसाई थियो । कक्षामा पढाई हुने बाहेकको अरु समयमा बाहिर चौरमा बसेर घाम पारिलो घाम ताप्न पाउँदा निकै आनन्दको अनुभूति हुन्थ्यो ।अझ सानो डालीमा बदाम लिएर आउने दाइहरुसँग बदाम किनेर, घाम ताप्दै साथीभाइसँग बदाम छोडाउवदै खानुको मज्जा नै अर्को थियो । विभिन्न ब्लकका बिचमा रहेका चौर तथा पुरानो पुस्तकालयबाट नयाँ छात्रावासतिर लाग्ने बाटो मुनिको भिरालो पाखो घाम ताप्नका लागि प्रिय स्थानहरु थिए । यसरी घाम तापेर बस्दा गरिने गफहरु आ-आफ्ना रुचिका रमाइला विषयहरुमा केन्द्रित हुन्थे । केही साथीहरु चुट्किला भन्नमा माहिर थिए । त्यसै भिरालो पाखामा भनिने गरिएका, हाम्रो कक्षाका साथी नगेन्द्र अधिकारीजीका जोक्सहरु निकै लोकप्रिय भएका थिए । पछि त्यस पाखोमा हामीले कन्टुर सर्वेका प्रयोगात्मक अभ्यासहरु पनि गर्‍यौं ।

हाम्रा केही साथीहरु आफ्नो खास नामले भन्दा पनि साथीहरुद्वारा दिइएको उपनामले बढी चिनिन्थे । हाम्रो कक्षाका मुकुन्द प्रसाद लामिछाने (हाल सडक विभाग) जी वहाँको वास्तविक नाम भन्दा पनि ‘विद्वान मित्र’ उपनामले बढी चिनिनुहुन्थ्यो । त्यस्तै, हाम्रै ब्याच ‘ए/बी’ सेक्सनका विनोद पौडेल (हाल बुढानिलकण्ठ नगरपालिका) क्याम्पसमा ‘दिल बहादुर’ उपनामले बढी चर्चित हुनुहुन्थ्यो । हुनत वहाँलाई साथीहरुले अरु उपनामले समेत बोलाउँथे ।

कतिपय साथीहरु खालि समयमा पुस्तकालयमा गएर पत्रपत्रिका पढ्न रुचाउँथे, त्यसमध्येको एक म पनि थिएँ । पुस्तकालयमा दैनिक, साप्ताहिक र मासिक पत्रिकाका अतिरिक्त टाइम्स, न्युजविक, स्पोर्ट्सस्टार जस्ता केही विदेशी पत्रिकाहरु पनि हुन्थे । न्युजविक पत्रिकाको एक पृष्ठमा संसारका विभिन्न देशहरुको प्रतिव्यक्ति वार्षिक आय लगायत विभिन्न सुचकांकहरु दिइएको हुन्थ्यो, जुन हामी नियमित रुपमा हेर्ने गर्थ्यौं । नेपालको प्रतिव्यक्ति वार्षिक आय त्यतिखेर प्राय: २०० अमेरिकी डलरको आसपास रहेको हुन्थ्यो । पत्रिकामा नियमित रुपमा हेरिने अर्को विषय राशिफल पनि हुन्थ्यो । मेरो कक्षाका नारायण मरासिनी र म एकै राशिका भएकाले दुई मध्ये एकले राशिफल हेरे अर्कालाई पनि बताइदिन्थ्यौं । त्यो दिनको राशिफल दुईजनामा को-कसमा के कति मिले नमिलेको तुलना पनि गर्थ्यौं । एकचोटि राशिफल हेर्न जाने क्रममा हाम्रै कक्षाका मुस्लिम साथी मोहम्मद समरुज्दिन एज्दीले मेरो राशी कुन होला भनेर सोध्दा अकमक्क परेको पनि याद छ ।

त्यतिबेला प्रकाशित हुने युवामञ्च, विमोचन आदि पत्रिकाहरुको आवरण पृष्ठको भित्रपट्टि पत्रमित्रतामा रुचि राख्नेहरुको विववरण फोटो सहित छापिएको हुन्थ्यो । अहिले जस्तो इमेल, इन्टरनेट वा सामाजिक सञ्जालको सुविधा थिएन । मित्रता बढाउन र प्रणय सम्बन्ध गाँस्न चाहने साथीहरु पत्रमित्रता मार्फत् आफ्नो मित्रताको दायरालाई फराकिलो पार्थे । केही साथीहरुले त पत्रमित्रता मार्फत गाँसिएको प्रणयसम्बन्धबाट वैवाहिक जिन्दगीको नै शुरुवात गरे जस्तो लाग्छ ।

हाम्रो ब्याचको कुरा गर्दा चाहिं छात्राहरुको संख्या छात्रको तुलनामा निकै कम थियो, आर्किटेक्चरमा बाहेक । केही सीमित साथीहरुलाई छाड्ने हो भने एउटै ब्याचका हाम्रा साथीहरुका बिच प्रणयसम्बन्ध त्यति फष्टाए जस्तो लाग्दैन । अधिकांश साथीहरु विभिन्न बाहिरी जिल्लाबाट आएका, अध्ययनलाई प्राथमिकता दिने, किशोरावस्थामै भएर आफूलाई परिपक्व महसुस नगरिसकेका, लजालु वा संकोची स्वभाव आदि कारणहरुले गर्दा पनि यी कुरामा साथीहरु अलिक पछाडि परे कि भन्ने जस्तो लाग्छ । हाम्रो ‘ई/एफ’ सेक्सनको कुरा गर्ने हो भने त यो मामलामा अझ पछाडि थिए । केही साथीहरु भने सुन्दरी छात्राहरुको दर्शन पाउन र नजिकिन आर्किटेक्चर ब्लकतिर धेरै धाउने पनि थिए ।

दोस्रो सेमेष्टरमा हामीलाई गणित पढाउनुहुने पद्मनारायाण श्रेष्ठ सरको पढाउने तरिका निकै रोचक थियो । कुनै अप्ठेरो प्रश्न आएमा यो प्रश्नलाई शनिवारको दिन घाम तापेर बदाम खाँदै हल गर्ने प्रश्न हो भन्नुहुन्थ्यो । वहाँले हामीलाई गणितको-अर्डिनेट परिच्छेद पढाउनुभएको थियो । कालोपाटीमा ‘ओ’ लेख्दा अरु अक्षर भन्दा निकै ठूलो लेख्नुहुन्थ्यो । वहाँको पढाउने शैलीले विद्यार्थीहरु कक्षामा कहिलेकाहीं हाँस्थे पनि, वहाँ चाहिं ‘अहिले धेरै नहाँस्नुहोला, पछि परीक्षामा पनि हाँसेको हाँस्यै हौला नि फेरि’ भन्नुहुन्थ्यो । नभन्दै त्यस सेमेष्टरको गणित परीक्षामा पढाईमा धेरै नै मेधावी साथीहरु पनि अनुत्तीर्ण हुन पुगेका थिए ।

पहिलो वर्षका दुवै सेमेष्टरका प्रायजसो: विषयहरु विज्ञान र गणित सम्बन्धित थिए । यी विषयका फरक फरक परिच्छेदहरु फरक फरक सर/मेडमहरुले पढाउनुहुन्थ्यो । हाल मेरो सम्झनामा आएका सर/मेडमहरुमा भौतिकशास्त्रमा श्यामा रेग्मी, खेम शर्मा पौडेल, निरञ्जन शर्मा, रसायनशास्त्रमा उजेली बज्राचार्य, राधिका पोखरेल, गणितमा विदुर श्रेष्ठ, श्रीप्रकाश श्रेष्ठ, जिसी सर, नेपालीमा परशुराम चापागाईं र लालानाथ सुवेदी सर, अंग्रेजीमा रामेश्वर अर्याल सर लगायत हुनुहुन्छ । पढाई तालिकामा सर/मेडमहरुको संक्षिप्त अंग्रेजी नाम मात्र हुने भएकोले ड्रईङ लगायत कतिपय विषयका सर/मेडमहरुको नाम स्मृतिबाट विलुप्त भईसकेको अवस्था छ, तथापि वहाँहरुले कक्षामा पढाउनुभएको दृश्य चाहिं अझै पनि झल्झल्ती आँखा अगाडि आउँछ ।

हाम्रो पढाई अगाडि बढ्दै गर्दा डिप्लोमा प्रवीणता तहलाई विस्तारै पुल्चोक क्याम्पसबाट हटाउने, सिटिईभिटी अन्तर्गत लग्ने वा पुल्चोक क्याम्पसको स्नातक (बिई) तहको प्रवेश परीक्षा आइ.एस्सी. को पाठ्यक्रम अनुसार लिने भन्ने हल्ला पनि चल्न थालेका थिए । यस बिचमा म र मेरा रुममेट टोपेन्द्र खनालजीले पाटन संयुक्त क्याम्पसमा बिहानीको आइ.एस्सी. कक्षामा भर्ना हुने निर्णय गर्‍यौं ।यता पुल्चोक क्याम्पसको प्रवीणता तहको पहिलो वर्षको विज्ञान र गणित विषयहरु आइ.एस्सी. को पाठ्यक्रमसँग धेरैजसो मिल्दोजुल्दो हुने भएकोले त्यत्ति धेरै थप मिहिनेत गर्नु पर्दैनथ्यो । हामीले आइ.एस्सी. प्रयोगात्मक कक्षाहरुमा उपस्थित हुने गर्‍यौं र भ्याएसम्म अन्य सैद्धान्तिक कक्षाहरु पनि लिन गयौं ।त्यतिबेला आई.एस्सीमा सँगै पढ्दा याद गरिएका थोरै साथीहरु मध्ये जाजरकोटका अनिल कार्कीजीसँग एक सडक आयोजनाको अनुगमना क्रममा सन् २०१९ मा सुर्खेतमा भेट भएको थियो ।

दोस्रो सेमेष्टरको पढाई अगाडि बढ्दै गर्दा क्याम्पसमा स्ववियु चुनाव पनि हुने भयो । २०४६ सालको जनआन्दोलन पश्चात् कलेजहरुमा स्ववियुको चुनाव भएको थिएन । भर्खरैको राजनीतिक परिवर्तनले गर्दा समेत हुनसक्छ, विद्यार्थीहरुमा स्ववियु चुनावप्रतिको उत्साह निकै नै थियो । स्ववियु चुनावको घोषणासँगै क्याम्पसमा विद्यार्थी संगठनहरुको चहपपहल बढ्न थाल्यो । विद्यार्थी संगठनमा संलग्न सिनियर दाइहरु कक्षाकोठाहरुमा तथा छात्रावासमा आउने क्रम बढ्दै गयो ।

पुल्चोक क्याम्पसमा यसअघिका चुनावहरुमा अनेरास्ववियु एकछत्र रुपमा विजयी हुँदै आएको थियो । स्ववियु कार्यालयको भित्तामा टाँगिएका बोर्डहरुमा हेर्दा स्ववियु सभापतिका रुपमा भरतराज पहारी र पदमसुन्दर जोशीको नाम धेरै चोटि दोहोरिएको देखिन्थ्यो ।यस चोटिको चुनावमा सभापतिको पदमा अनेरास्ववियुका तर्फबाट सुशील ज्ञवाली (हाल पुनर्निमाण प्राधिकरण) र नेविसंघबाट नारायण काफ्ले (हाल अष्ट्रेलिया) दाइहरु उठ्नुभएको थियो । अन्य उम्मेदवारहरुमा दिपकबाबु कँडेल (हाल, मेयर, पालुङटार नगरपालिका), तुलसी राई, विनोद प्रसाद कुशवाहा, आशीष पाण्डे, तिलकराज भट्टराई, अनिलभक्त श्रेष्ठ, रोशन कुमार श्रेष्ठ, देवनारायण यादव, नवीन कुमार कर्ण, हाम्रा ब्याचका नगेन्द्रनाथ योगी, भवेशभक्त प्रधानांग, जीवन कुमार श्रेष्ठ, अजय कुमार शाह, विनिता अग्रवाल, पदम खडकाहरु लगायत थिए ।

क्याम्पसमा विद्यार्थी संगठनहरुले आ-आफ्ना प्यानलका पक्षमा चुनावी माहौल बनाउने क्रमलाई तीब्रता दिंदै गए । विद्यार्थी संगठनका केन्द्रीय नेताहरु समेतको सहभागितामा चुनावीसभाहरु आयोजना गरिए । क्याम्पसको वातावरण चुनावी भित्तेलेखन, तुल, ब्यानर आदिले रंगीचंगी र झकिझकाउ बन्दै गयो । प्रत्येक ब्याचले आ-आफ्ना तर्फबाट तुलहरु बनाएर टाँग्ने क्रम पनि बढ्दै गयो । चुनावी प्रचारप्रसारका क्रममा सामान्य भनाभन बाहेक अन्य अशोभनीय घटनाहरु भएनन् । आ॒आफ्नो राजनीतिक आस्था र झुकाव अनुसार विद्यार्थीहरु आ-आफ्नो प्यानलको प्रचारप्रसारमा जुटे । म आफू पनि सक्रिय रुपमा चुनावी प्रचारमा लाग्ने मध्येमा एक थिएँ । विशेषगरी स्कूलबाटै राजनीतिक पृष्ठभूमि भएका साथीहरुमा चुनावी सक्रियता बढी देख्न सकिन्थ्यो, चुनावमा उम्मेदवारै नभएका भएतापनि । चुनावी प्रचारप्रसारमा साथीहरुलाई परिचालन गर्ने देखि लिएर केही विद्यार्थी उम्मेदवारको चुनावी भाषण लेखिदिनेसम्मको काममा म संलग्न थिएँ । (मेरो आफ्नो राजनीतिक संलग्नता र सक्रियताका बारेमा यहाँ लेख्दा अलिक लामै हुने भएकोले यो विषयलाई छुट्टै अर्को लेखमा समेट्नेछु ।)

चुनावमा उम्मेदवार हुने बाहेक त्यतिबेला पुल्चोकको विद्यार्थी राजनीतिमामा सक्रिय अन्य अनुहारहरुमा शंकर पण्डित, केशव नेपाल, सत्यनारायण शाह, श्रीराम न्यौपाने, लेखनाथ खरेल, हरिकृष्ण पौडेल, अनुप रेग्मी, हरिश्चन्द्र लामिछाने, विमल गुरुङ, छविराज पोख्रेल लगायतको नाम लिन सकिन्छ । नारायण काफ्ले दाइले शायद धेरै अगाडि देखि नै विद्यार्थीहरु माझ आफू स्ववियुमा उठ्ने हिसाबले सम्बन्ध विस्तारमा ध्यान दिनुभएको थियो जस्तो लाग्छ । सुशील ज्ञवाली दाइ पनि धेरै भद्र, मिलनसार र शालीन उम्मेदवारको रुपमा हुनुहुन्थ्यो । अखिलका साथीहरु आफ्नो किल्ला भत्किन नदिन प्रयासरत थिए भने नेविसंघका साथीहरु त्यस किल्लालाई यसपालि जसरी पनि तोड्नुपर्छ भन्ने हिसाबले जोडतोडका साथ लागेका थिए ।

क्याम्पसका छात्रावासहरु चुनावी प्रचारका केन्द्र नै थिए । हरेक साँझ कुन ब्याचका कुन सेक्सनबाट कसलाई कति भोट जाने हो भन्ने हरहिसाब हुन्थ्यो र कुन प्यानलमा लाग्ने भनेर धरमरमा भएका विद्यार्थीहरुलाई कसरी आफ्नो पक्षमा ल्याउने भन्ने रणनीति बनाइन्थ्यो । २०४९ साल फाल्गुन १४ गते चुनाव भयो । बेलुकीबाट मतगणना शुरु भयो र राति दश-एघार बजेतिर चुनावको नतीजा घोषणा भयो । सदस्यको एक उम्मेदवार बाहेक सबै पदमा नेविसंघका उम्मेदवारहरु विजयी भए । नेविसंघबाट सदस्यमा पराजित एक मात्र उम्मेदवार हाम्रै सेक्सनका साथी नगेन्द्रनाथ योगी (हाल अमेरिका) हुनुहुन्थ्यो, वहाँलाई बिईमा अध्ययनरत दाइ अनिलभक्त श्रेष्ठले (हाल नेपाल विद्युत प्राधिकरण) १२ मतको अन्तरले (शायद ५२०-५०८ जस्तो लाग्छ) हराउनुभएको थियो जस्तो लाग्छ । त्यतिबेला राति एघार बजेतिर चुनावमा विजयी भएर अवीर माला लगाउनुभएको फोटो नारायण काफ्ले दाइले फेसबुकमा अहिले पनि बेलाबेलामा पोष्टिराख्नु हुन्छ र त्यसको फोटोको कमेन्टमा तल्तिर वहाँका कुनै घनिष्ठ साथीबाट ‘नेपालमा राजनीति गरेर मन्त्री हुनुपर्ने मानिस, तँ अष्ट्रेलिया पो भागिस्’ भनेर लेखिएको कमेन्ट पनि पढिराखेको हुन्छु ।

स्ववियु चुनाव सकिएपछि क्याम्पसको वातावरण विस्तारै पूर्ववत् सामान्य अवस्थामा फर्कियो । चुनावको रन्को सेलाउँदै गयो । विद्यार्थीहरु चुनावको माहौललाई बिर्सेर पुन: आ-आफ्नो पढाईमा केन्द्रित हुन थाले । अघिल्लो वर्ष मात्र देशमा संसदीय चुनाव भएर बहुमतका साथ नेपाली कांग्रेसको सरकार बनेको थियो भने तत्कालीन नेकपा एमाले प्रतिपक्षमा । तीस वर्षको लामो पञ्चायती शासनपछि बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएको हुनाले भूमिगत राजनीतिमा अभ्यस्त राजनीतिक दलहरु संसदीय प्रतिस्पर्धाको राजनीतिमा विस्तारै आफूलाई ढाल्दैथिए । संगठन विस्तारका लागि यी राजनीतिक दलहरुको बलियो आधार भनेको विभिन्न वर्गीय र पेशागत संगठनहरु थिए । त्यसमध्ये विद्यार्थी संगठनहरु अग्रपंक्तिमा आउँथे । राजनीतिक दलहरुको आपसी प्रतिस्पर्धा, आन्दोलन र राजनीतिक गतिविधिहरुमा यिनै विद्यार्थी संगठनहरुलाई प्राय: अगाडि उभ्याउँथे ।

प्रजातन्त्र पुनर्स्थापना पछि भर्खरै शुरुवात भएको खुला वातावरणले हुनसक्छ वा संसदीय राजनीतिको छोटो अभ्यास र अनुभवले हुनसक्छ, यी राजनीतिक दलहरुको प्रतिस्पर्धा कहिलेकाहीं अस्वस्थ पनि बन्न पुग्थ्यो । कतिपय अवस्थामा तिक्ततायुक्त आरोपप्रत्यारोप र मुठभेडपुर्ण पनि । विशेषगरी प्रदर्शनी मार्गमा रहेका रत्न राज्य क्याम्पस र नेपाल कानुन क्याम्पसतिर विद्यार्थी संगठनहरुको बिचको अस्वस्थ प्रतिस्पर्धा कहिलेकाही मुठभेड र भिडन्तमा बदलिनु सामान्य बनिसकेको थियो । हाम्रो पुल्चोक क्याम्पस भने यस्ता कुराहरुबाट धेरै हदसम्म अछुतो थियो जस्तो लाग्छ ।

२०४९ सालको चैत महिनामा भने विद्यार्थी संगठनहरुका बिच हुने गरेका यस्ता विवाद, द्वन्द्व र मुठभेडको फिलिंगो पुल्चोक क्याम्पसमा पनि सल्कियो र विद्यार्थी संगठनका बिच भएको भिडन्तले अनपेक्षित मोड लियो । शायद कुनै राजनीतिक दलले नेपाल वा उपत्यका बन्द यस्तै केही घोषणा गरेका थिए । बन्दका दिनमा सामान्यतया: त्यतिखेर सडकमा सवारीसाधनहरु चल्दैनथे र धेरै विद्यार्थीहरु कलेज आउन सक्दैनथे । संभवत छात्रावासमा बस्ने वा वरपरका विद्यार्थीहरु भने अध्ययनका लागि कक्षाकोठासम्म आएका थिए । बन्दको समर्थनकर्ता विद्यार्थीहरुले कक्षा लिन चाहने विद्यार्थीहरुलाई बाहिर निक्लन अनुरोध गरे, धम्क्याए वा लखेटे । यसरी बाहिर निस्कने र भाग्ने/लेखेटिने क्रममा केही विद्यार्थीहरु घाइते भए/खुट्टा भाँचिए । घाइते हुने विद्यार्थीहरु नेविसंघ समर्थक थिए । यस समाचार भोलिपल्ट विद्यार्थीमाझ फैलिएपछि विशेष गरी नेविसंघ समर्थक विद्यार्थीहरु बिहानैदेखि आक्रोशित र क्रुद्ध बने । बिहान कक्षा शुरु हुन पाउँदा नपाउँदै फरक फरक विद्यार्थी संगठनका समर्थक विद्यार्थीहरुका बिच वादविवाद र आरोप प्रत्यारोप बढ्दै गयो । होहल्ला बढ्दै गएपछि भर्खर पढाई शुरु हुन थालेका कक्षाहरुबाट शिक्षक र विद्यार्थीहरुबाट विद्यार्थीहरु बाहिर निक्लन थाले । पढाईको माहौललाई होहल्लाले विस्थापित गर्दै लग्यो ।

क्याम्पस परिसरमा बढ्दै गएको हुलमुलको वातावरण र होहल्लाका बिच फरक विद्यार्थी संगठनका समर्थक विद्यार्थीहरुका बिच भिडन्त हुने संभावना बढ्दै गएको थियो । कक्षाकोठाबाट बाहिर निस्कने क्रममा ‘आइ/जे’ सेक्सनमा पढ्ने मेरा रुममेट टोपेन्द्र खनालजीसँग मेरो भेटघाट भयो । वहाँ र मेरा राजनीतिक आस्था र झुकावहरु फरक फरक थिए । हामी दुवै जना राजनीतिक दर्शनसँग सम्बन्धित थुप्रै पुस्तकहरु पढ्थ्यौं, बहस पनि गर्थ्यौं, तर एकआपसका विचार र भावनाको सम्मान पनि उत्तिकै गर्थ्यौं । क्याम्पस परिसरमा उत्पन्न भएको मुठभेडको अवस्था हाम्रा लागि कत्ति पनि प्रीतिकर थिएनन् । हामी दुवै जनाले यस्तो तनावपूर्ण अवस्थामा समयमा नै क्याम्पस परिसरबाट बाहिर निस्कँदा उपयुक्त हुने निष्कर्षमा पुग्यौं र त्यसदिन दुई जना बुढानिलकण्ठ घुम्न जाने योजना बनायौं ।
पुल्चोकबाट पाटनढोकाको पुरानो, ठूलो टाटा बस चढ्यौं, रत्नपार्क पुगेर और्ल्यौं । अलिक परसम्म हिंडेर जमल पुगेपछि सानो मिनिबस चढ्दै बुढानिलकण्ठतिर लाग्यौं । चक्रपथ निस्केपछि बस्तीहरु निकै पातला हुँदै गए । त्यतिबेला बाँसबारीमा बाँसका झ्याङहरु निकै ठूला र फैलिएका थिए । त्यहाँबाट अझ बाहिर लागेपछि त सडक छेउमा फाट्टफुट्ट मात्र घरहरु देखिन्थे । त्यसभन्दा पर गहुँ छरेका र तोरी फुलेका फाँटहरु मात्र । बुढानिलकण्ठमा पुगेर पोखरीमा सुतेको अवस्थामा रहेको नेपालको सबभन्दा ठूलो मूर्तिको रुपमा चिनिएको भगवान विष्णुको मूर्तिको दर्शन गर्‍यौं, जुन मूर्तिलाई नेपालको राजवंशले दर्शन गर्नुहुँदैन भन्ने कुरा पनि कतै पढिएको थियो ।

त्यहाँबाट नजिकै पर्ने बुढानिलकण्ठ स्कूललाई बाहिरैबाट हेर्‍यौं । स्कूलमा चार कक्षा पढ्दा विद्यालय निरीक्षणका क्रममा हाम्रा घरमा बास बसेका विद्यालय निरीक्षकहरु (मेरो बुबा गाउँको नजिकैको स्कूलको प्रधानाध्यापक हुनुहुन्थ्यो) ले मदेखि प्रभावित भएर मलाई बुढानिलकण्ठ स्कूलमा पढाउनका लागि सिफारिश/सहयोग गरिदिने कुरा गरेका थिए, तर त्यतिखेर मेरो उमेर सानै भएकोले बुबाआमाले घरबाट टाढा पठाउने आँट गर्नुभएको थिएन । त्यो दिन टोपेन्द्रजी र म त्यतै वरपर, अनि अलि परको विष्णुमतीको किनारतिर केही समय टहलियौं ।

चारबजेतिर त्यहाँबाट फर्कियौं । रत्नपार्कमा आइपुग्दा पाँच बज्न लागिसकेको थियो । रानीपोखरी छेउको बार हुँदै रत्नपार्क गणेश मन्दिर आइपुग्दा बाटोमा हाम्रो अघिल्लो ब्याचका दाइ हर्क प्रधानसँग भेट भयो । वहाँ त्रसित र आतंकित मुद्रामा हुनुहुन्थ्यो । वहाँले एकै सासमा पुल्चोक क्याम्पस परिसरमा ठूलो भिडन्त भएको, थुप्रै विद्यार्थीहरु घाइते भएको र क्याम्पस प्रशासनले छात्रावास तत्काल खालि गराउने आदेश दिएको, छात्रावासमा बस्न सकिने सुरक्षित अवस्था नभएको कुरा बताउनु भयो । यो समाचार हाम्रा लागि ज्यादै अनपेक्षित र दु:खदायी थियो । हामी दुई जना विना कुनै तयारी क्याम्पसबाट बिहानै बाहिर निस्केका थियौं ।

क्याम्पसमा भएको यस भिडन्तको समाचार विभिन्न संचारमाध्यमबाट पनि आउन थाल्यो । पुल्चोक क्याम्पसको अवस्था तनावपूर्ण बन्दै गएपछि अन्य क्याम्पसहरुबाट पनि विभिन्न विद्यार्थी संगठनका समर्थकहरु त्यहाँ ओइरिने क्रम बढ्दै गएछ । विशेषगरी पाटन संयुक्त क्याम्पस, रत्नराज्य क्याम्पस, कानुन क्याम्पस र केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट ठूलो संख्यामा विद्यार्थीहरु हाम्रो क्याम्पसमा ओइरिएछन् । अनि त शुरु भएछ, ठूलो भिडन्त र कुटपिटको श्रृंखलाहरु । शुरुको मुठभेडमा हाम्रो क्याम्पसका अखिलका थुप्रै नेताहरुले कुटाई खाएछन् । पछि बाहिरका विभिन्न क्याम्पसबाट आएका विद्यार्थीहरु हुनाले सबैले सबैलाई राम्रोसँग चिन्ने कुरा पनि भएन । त्यस्तो परिस्थितिमा आफ्नै संगठनका समर्थक समेत कुटाइमा पर्न सक्ने अवस्था समेत सिर्जना भएछ ।

यस्तै भिडन्तका क्रममा नेपाल कानुन क्याम्पसबाट आएका गोरखाका नेविसंघ समर्थक एक विद्यार्थी भरत देवकोटा कसैको छड प्रहारबाट गंभीर घाइते भएछन् । केही समयपछि उनको दु:खद निधन पनि भयो । । नेविसंघले उनको मृत्युलाई लिएर अनेरास्ववियुप्रति आरोप लगायो भने अनेरास्ववियुले पनि पत्रकार सम्मेलन गरेर नेविसंघप्रति नै उनको हत्याको आरोप लगायो । लामो समयसम्म यस घटनालाई लिएर दुई विद्यार्थी संगठनका बिचमा आरोप, प्रत्यारोप र मुद्दामामिला चलिरह्यो जस्तो लाग्छ ।

क्याम्पस नजिकै पुगेपछि हाम्रा अर्का रुममेट फलेन्द्रजीसँग पनि हाम्रो भेटघाट भयो ।क्याम्पस आसपासमा भेटिएका सबै साथीहरु आतंकित मुद्रामा हुनुहुन्थ्यो । त्यसदिन क्याम्पसभित्र छिर्नु, रहनु अत्यन्त असुरक्षितपूर्ण भएको र धेरै साथीहरुले भागेर जसोतसो ज्यान जोगाउन सफल भएको कुरा वहाँले बताउनुभयो । वास्तवमा हामी तिनै जना रुममेट तिन फरक फरक विद्यार्थी संगठनप्रति झुकाव राख्दथ्यौं, तर त्यसदिनको घटनाबाट तिनै जना उत्तिकै दु:खित थियौं । फलेन्द्रजी वहाँका जिल्लावासी आफन्त (निम बहादुर ओली) सँग बस्नका लागि जानुभयो भने म र टोपेन्द्रजी कुनै समयका मेरा रुममेट नारायण खवासजीको डेरा, चाकुपाटमा गएर त्यस रात बितायौं ।

अकस्मात छात्रावास खालि गराईंदा छात्रावासमा बसिराखेका धेरै विद्यार्थीहरुको बिचल्ली भएको थियो । ती मध्ये केही आफन्तका शरणमा पुगे भने केही साथीहरुकहाँ आश्रय लिन पुगे । यी दुवै विकल्प नभएका विद्यार्थीहरुले विस्तारै उपत्यका बाहिर आफ्नो घरतिरको बाटो तताए ।

वास्तवमा त्यसदिन टोपेन्द्रजी र मैले क्याम्पस बाहिर जाने निर्णय गरेर सही गरेका रहेछौं । कम्तीमा त्यस दिन घटेको आततायी घटनाको साक्षी हुन र आतंकित मनस्थितिबाट प्रत्यक्ष गुज्रन त परेन । मुठभेडको घटनाका बारेमा धेरै प्रत्यक्षदर्शी साथीहरुले पछि आङै सिरिङ्ग हुने गरी वर्णन गरे । शुरुको झडप क्याम्पसकै फरक विद्यार्थी संगठनका समर्थकहरु बिच सीमित रहेछ । शुरुवाती झडपमा विशेषगरी हाम्रो क्याम्पसका अनेरास्ववियुका थुप्रै नेताहरु पिटिएछन् । पछि अन्य क्याम्पसबाट समेत हातमा छड, लाठी बोकेर आएका अपरिचित र क्रुद्ध व्यक्तिहरुको जत्था क्याम्पसभित्र घुस्न थालेपछि भने अवस्था अनियन्त्रित बन्न पुगेछ । प्रत्यक्षदर्शी साथीहरुका अनुसार ती जत्थाहरु क्याम्पस परिसरमा छड, लाठी, ईंटा बोकेर यत्रतत्र घुमिराखेका थिए रे । कतिपय साथीहरु शौचालयमा लुकेर ज्यान जोगाएछन् । कतिपय साथीहरु कतै पर्खालको आडतिर लुकेछन् भने कतिपय साथीहरुले भाग्ने क्रममा सडक विभागतर्फको अग्लो पर्खाल नाघेर हाम फाल्ने क्रममा खुट्टा मर्काएछन् । मलाई लाग्छ, हाम्रा थुप्रै समकालीन पुल्चोक मित्रहरुका मस्तिष्कमा यस घटनाको परिदृश्य अझै पनि आलै रहेको हुनुपर्छ ।

यस घटना पछि क्याम्पसमा अनिश्चितकालीन विदा दिइयो ।यो विदा कम्तीमा एक दुई महिना लम्बिने संकेत देखिएको थियो । यस समयमा अब के गर्ने त भन्ने प्रश्न हाम्रो सामु उभियो । अब विदाको समयमा कि त घर फर्कन सकिन्थ्यो कि त काठमाडौंमै कतै डेरा खोजेर वा आफन्त, साथीभाइको आश्रय लिएर बस्न सकिन्थ्यो । टोपेन्द्रजी र मैले कतै डेरा लिएर बस्ने र केही महिना अगाडि भर्ना भएको आई.एस्सी.को पढाई पूरा गर्ने निर्णय गर्‍यौं । नारायण खवासजी बसेकै घरमा एउटा कोठामा डेरा लियौं र आई.एस्सी., पहिलो वर्षको परीक्षाको तयारीमा लाग्यौं ।

हामीले नियमित रुपमा आई.एस्सी.का कक्षाहरु नलिएको हुनाले केही विषयको ट्युसन पढ्ने निधो गर्‍यौं । यसै बिचमा अर्का साथी रामचन्द्र तिवारी पनि आई.एस्सी.मा भर्ना हुनुभएको रहेछ । हाम्रो तयारीमा वहाँ पनि साथै जोडिन आउनुभयो । भौतिक शास्त्रमा पाटन संयुक्त क्याम्पसमा प्राध्यापन गर्नुहुने सीताराम भट्टराई सरसँग ट्युसन पढ्यौं भने रसायन शास्त्रमा त्यतिबेला त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्नुहुने रमेश सिलवाल सर (हाल, राष्ट्रिय खेलकुद परिषद्) सँग ट्युसन पढ्यौं ।

चाकुपाट, पाटनढोका आसपासका क्षेत्रमा त्यतिबेला ठूलो संख्यामा पुल्चोक र पाटन क्याम्पसमा पढ्ने विद्यार्थीहरु डेरा गरिबस्थे । अशोक हलदेखि केही पर हाम्रै ब्याचका साथी सुरज लामिछाने (हाल पुल्चोक क्याम्पसमा प्राध्यापनरत) को डेरा थियो । वहाँ पाटन क्याम्पसमा बि.एस्सी. पढ्ने चितवनकै एकजना दाइसँग बस्नुहुन्थ्यो । सुरजजी टोपेन्द्रजीको क्लासमेट हुनुहुन्थ्यो भने रामचन्द्र तिवारीजीको जिल्लावासी । त्यसघरमा पाटनमै आई.एस्सी. पढिराखेका बुटवलतिरका अरु दुई जना दाजुभाइ (दाइको नाम रविन उपाध्याय, जसलाई मैले सन् २०१० मा नेपालगञ्जको एक प्रशिक्षण कार्यक्रममा भेटेको थिएँ र उनी त्यतिखेर बैतडीको ऊर्जा तथा वातावरण शाखामा इञ्जिनियरको रुपमा कार्यरत रहेछन्) पनि बस्थे । उनीहरुले पनि हामीसँगै भौतिकशास्त्रको ट्युसन पढे ।

रमेश सिलवाल सरको घर भने पाटनढोका नजिकै थियो । हामी वहाँकै घरमा ट्युसन पढ्न जान्थ्यौं । त्यहाँ ट्युसन पढ्न आउनेहरुको विभिन्न समूहहरु हुन्थे । हामी अगाडि एउटा समूह वहाँसँग ट्युसन पढिराखेको हुन्थ्यो भने हामी पछि पनि अर्को समूह प्रतीक्षारत रहेको हुन्थ्यो ।रमेश सर साह्रै मिहिनेत साथ हामीलाई पढाउनुहुन्थ्यो । वहाँले कापीमा कार्बन राखेर लेखेर नोट लेखिदिनुहुन्थ्यो र हामी घर आएपछि बाँडेर पढ्ने गर्थ्यौं । त्यतिबेला वहाँ एमालेको युवा राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । ट्युसन कक्षामार्फत् वहाँसँग त्यतिबेला गाँसिएको घनिष्ठता र आत्मीयता आजपर्यन्त पनि यथावत छ । पासाङ ल्हामु शेर्पाले पहिलो महिलाको रुपमा सगरमाथा चढेर फर्कंदै गर्दा ऊनको निधन भएको तथा तत्कालीन एमालेका नेता द्वय मदन भण्डारी र जीवराज आश्रित चढेको जीप चितवन, दासढुंगामा दुर्घटना भएको खबरहरु हामीले सरसँग ट्युसन पढ्दै गर्दाका साँझहरुमा सुनेका थियौं ।

हाम्रो यता आई.एस्सीको तयारी चल्दैथियो भने पुल्चोक क्याम्पसको धमिलिएको वातावरण पनि बिस्तारै सङलो भएर जाँदैथियो । पुल्चोक क्याम्पस बन्द भएको लगभग डेढ महिना पछि खुल्यो । दोस्रो सेमेष्टरको परीक्षा तालिका प्रकाशित भयो । संयोग कस्तो पर्‍यो भने आई.एस्सी.को परीक्षा तालिका पनि प्रकाशित भयो र परीक्षा पनि एउटै समयमा पर्‍यो । कतिपय विषयका परीक्षाहरु ऊही दिनमा जुधे, तर आई.एस्सी. प्रथम वर्षको परीक्षाहरु बिहानको समयमा थिए भने दिउँसोको समयमा पुल्चोक क्याम्पसको दोस्रो सेमेष्टरको परीक्षा ।आई.एस्सी.को परीक्षाकेन्द्र रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा परेको थियो । एकैदिनमा बिहान र दिउँसो गरी दुई विषयका परीक्षाहरु पनि दिइयो ।आफैंमा एक पृथक किसिमको यो अनुभव पनि बटुलियो । रातदिनको पढाई, थकान र मानसिक दबावले पछिल्ला दिनहरुमा त म चाहिं बिरामी नै भएँ र साह्रै कमजोर महसुस पनि । जसोतसो दुवैतिरका परीक्षाहरु सकाइयो । परीक्षा सकाएपछि हप्ता-दशदिन त ज्वरोले निस्लोट भएर सुतें पनि ।

यता पुल्चोक क्याम्पसमा तेस्रो सेमेष्टरको पढाई शुरु भईसकेको थियो । यसै सेमेष्टेरदेखि सर्वे, स्ट्रक्चर जस्ता खास ईञ्जिनियरिङ विषयहरुको पढाई शुरु हुन्थ्यो । मेरा भने शुरुका हप्ता दश दिनका कक्षाहरु नै छुट्न पुगे ।

(क्रमश:………….)

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्