Logo

यात्रा…चौरजहारी !!!



Spread the love

 

 

बाइरोडको उकालोमा फुइफुइ धुलो उडाउँदै, दुइ थान बाइक हुँइकिरहेका छन्। कामचलाउ कन्डिसनको एक थान बुढो अपाचे। अनि, ह्यान्डल बाङ्गिएर थोरबहुत होश गुमाएको एक थान अशक्त होन्डा शाइन

साइडमा डिएसएलआर क्यामेरा ब्याग बोकेका क्लिन शेभ्ड ओली ब्रो अपाचेमा सवार छन्। अर्कोतिर, दारीवाल मार्शल ब्रो होन्डा शाइनको बाङ्गो ह्यान्डल सम्हाली रहेछन् भने उनको पछाडि टुसुक्क बसेको छ, स्वीटे फुच्चे प्रमोद

कुमाख लेकलाई देब्रे पार्दै यात्रा अगाडि बढ्दो छ। सकेसम्म एक अर्कालाई साफ धुलो ख्वाउदै बाइकहरू एकोहोरो हुइकिरहेछन्। बुढो अपाचे र अशक्त होन्डा शाइनको यो रस्साकस्सी बहुतै रहरलाग्दो छ।

एकाध घण्टाको उकालो पछि चोरपानी बजार आइपुग्छ। फ्रेस टिमुरको सुगन्धले बजार बिल्कुल मीठो देखिएको छ। रातो-सेतो माटोले छपक्कै पोतिएका अधिकांशजसो घरहरू बिल्कुल गज्जबसँग टास्सिएर बसेका छन्। हुबहु भर्खरै मायामा परेका नवजोडी जस्तै।

पेटमा केही अघि देखि नै बडेमानका मुसाहरू दौडिरहेका हुनाले तीन जवानहरू यसो बाइक रोकेर एउटा सानो होटल तिर लाग्छन्। बिल्कुल लोकल फ्लेवरको होटल। खाजाको नाउँमा बस् चिया समोसा। अर्डर गरिन्छ, खाइन्छ, मुसाको सत्यानास।

फुच्चे प्रमोद केही सट फोटो लिन थाल्छ। सुगन्धित टिमुरको, बजारको, गाउँलेहरूको अनि केही छिटफुट पहाडी सुन्दरता पनि।

पुग्नुपर्ने ठाउँ अझै टाढै भएकाले मार्शल ब्रो हतारिन्छन्। फटाफट फुच्चे प्रमोदलाई बसाल्छन् र हुइकिन्छन्। ओली ब्रो बूढो अपाचेको कान निमोठ्दै अशक्त होन्डा शाइनलाई पछ्याउँन थाल्छन्। यात्रा पुनः सुचारु हुन्छ।

बुढो अपाचेले अशक्त होन्डा शाइनलाई बगलेर अलि अगाडि नै गैसकेको छ। बरु ढिलै होस् तर धुलो चै खादै नखाने भन्ने सल्लाह बमोजिम मार्शल ब्रो अलि सुस्त गतिमा छन्। फुच्चे प्रमोद बाइकको पछाडिबाट अनेक उरन्ठेउला गफ एकोहोरो फ्याकिरहेको छ। गफैगफका बिच कसोकसो ऊ एक्कासी रोमान्टिक हुन थाल्छ। मार्शल ब्रो, उनको रोमान्टिक अन्दाजमा मन्द-मन्द साथ दिइरहेछन्।

यति चोखो यति मीठो, दिम्ला तिम्लाई माया

बिर्सनेछन् साराले, पुराना प्रेमका कथा !!

हुइकिदै जादा यात्रामा अनेक स-साना चिटिक्कका गाउँहरू देखिन्छन्। अनि, त्यतै कतै देखिन्छन्, आफ्नै काममा मस्त केही निर्दोष अनुहारहरू। कोहि बारीमा मकै भाच्दै गरेका, कोहि पधेरा हुदै पानीका गाग्री बोकिरहेका। अहो ! यो ग्रामीण सुन्दरता।

‘स्यानीपिप्ली’ आउँछ, ‘मौलहाल्ने’ आउँछ, अनि बल्ल आउँछ ठाडो ओरालो। फुच्चे प्रमोद यी नामहरू देखि बहुत अचम्म मान्छ। चोरपानी रे, स्यानीपिप्ली, मौलहाल्ने रे ! अरे यार ! कल्ले राख्यो होला यस्ता अजिबका नाम ? ऊ एकाएक बेकारमा जोस्सिन्छ र क्षणभरमै सेलाउछ।

ओरालोमा अचानक ओली ब्रो भेटिन्छन्। खुलेयाम मुत्र बिसर्जन गर्दै गरेका। शान्त जंगल, के को चिन्ता। फुच्चे प्रमोद र मार्शल ब्रोको दुई सदस्यीय टोली पनि झटपट ओर्लेर बाटो छेउको झाडीमा तुर्क्याउन थाल्छ। जाडोको महिना अब यस्तै त हो।

बाइकमा अडेस लाग्दै ओली ब्रो सुनाउँछन्,”त्याँ माथीबाट सिस्ने हिमालको भ्यु क्या दामी देखिने रैछ यार। लास्टै कडा। तपाईहरूले देख्नु भो ! फर्किदा यसो फोटो-सोटो खिच्नु पर्छ है।”

मार्शल ब्रो छक्क, फुच्चे प्रमोद बक्क। गफमा मस्त उनीहरू, कहाँ हिमाल देख्न पाउनु ?

दुबै बाइक स्टार्ट हुन्छन्। सानो घ्वार-घ्वार पछि यात्रा अगाडि बढ्छ। एक घन्टा जति हिडिसक्दा नि ओरालो नसकिएको देख्दा सबै बिरक्त हुन्छन्। स्पीड अलि बढ्न थाल्छ। धुलो अझै कायमै छ।

एकछिनमा जसोतसो एउटा गज्जबको फाँट आइपुग्छ। लहलह धानका बालाले पुरै हरियो। निकै लोभलाग्दो दृश्य। तिनैजना मक्ख हुन पुग्छन्।

हेर्दाहेर्दै बाटो एउटा खोलामा गएर टुङ्गिन्छ। एकछिन त लाग्छ, कतै उल्टो बाटो त आइएन ? त्यस्तो त नहुनु पर्ने फेरि ?

धन्न ! खेतमा काम गरिरहेका एउटा दाजु भेटिन्छन्।

मार्शल ब्रो आफ्नो झटपटको अन्दाजमा सोधि हाल्छन्,”दाइ ! यो रागेचौर जाने बाटो कता हो ?”

दाइ बिल्कुल सोझो तालमा बोल्छन्,”यै हो बाबू ! यो अघ्याटौ खोलो छ तो, हो यै खोल्खोलै जानुस्। तपाईंको चाइने, केही मिन्टमै राग्याचौर बजार आइजान्छ।”

मतलब ! अगाडिको खोलो नै अबको बाटो थियो। तिनै जवान बिल्कुल अचम्ममा पर्छन्। खोलैखोलाको यस्तो एड्भेन्चरस बाटो सबैका लागि बिल्कुल नयाँ थियो। अबको सफर अझ रोमाञ्चक बन्ने पक्का भएपछी भने  तिनैजना खुबै दंग पर्छन्।

फुच्चे प्रमोद एकाएक भिडियो बनाउन तम्सिन्छ। झटपटमा मार्शल ब्रोको गोजीबाट ‘ए वान’ मोबाइल झिकेर ऊ सुरुसुरु भिडियो खिच्न थाल्छ।

खोलाको शानदार यात्रा सुरु हुन्छ। बूढो अपाचे अघिअघी, अशक्त होन्डा शाइन पछिपछी। पानीमा छप्ल्याङ छुप्लुङ गर्दै, ‘आ..ऊ…ओ…अहो…”गर्दै, चिच्याउदै, कराउँदै, अनि जुत्ता बचाउने ध्याउन्नमा लमतन्न खुट्टा तन्काउदै।

वरीपरीका गाउँले अनुहारहरू खोलाको बाटो हुँदै हुइकिरहेका तीन फकिरलाई हेर्दै-मुस्कुराउँदै छन्।

ढल्याक ढुलुक र पल्याक पुलुकमा जसोतसो हुइकिरहेको अशक्त होन्डा शाइन अचानक एउटा चिप्लो ढुङ्गामा फेल खान पुग्छ। फलतः भिडियो बनाइ रहेको फुच्चे प्रमोद र बाइक हुइक्याइ रहेका मार्शल ब्रो खोलामा चुर्लुम्मै हुन पुग्छन्। जुत्ता-पाइन्ट स्याम्मै। धन्न पुरै ज्यान ढल्दैन। हाँसोको लहर चल्छ, भिडियो जारी रहन्छ।

खोलाको यो रोमाञ्चक सफर करिब आधा घण्टा सम्म चल्छ। अनि बल्ल बाटो, खालाको किनारा तिर लाग्दै जान्छ। किनार-किनारैको सानो अन्तराल पछि, अन्ततः ‘रागेचौर’ आइपुग्छ। रागेचौर अर्थात् कुमाख गाउँपालिकाको केन्द्र, आजको हाम्रो गन्तव्य।

सल्यानी युवा संजालको ‘कुमाख गाउपालिका कार्यसमिती’ गठनको शिलशिलामा रागेचौर आइपुगेको तीन सदस्यीय टोली सरासर रागेचौर उमावि तिर लाग्छ। फटाफट नयाँ कार्यसमिती गठन गर्दै, अध्यक्षको नाताले मार्शल ब्रो नवगठित सम्पुर्ण पदाधिकारीलाई अबिरद्वारा बधाई दिन भ्याउछन्।

हल्का-फुल्का चिनापर्ची, चियापान र गफगाफ पश्चात् कतैबाट एउटा गज्जबको कुरो निस्किन्छ,”चौरजहारी त यहाँबाट निकै नजिक छ नि सर। तपाईहरूलाई त्यस्तै आधी-घन्टा लाग्ला बाइकमा। यहाँ सम्म आउनु भा’छ, यसो चौरजहारी सम्म नि पुगेर आउनुस् न। फेरि आउने कैले हो कैले।”

अहो ! फुच्चे प्रमोद आफ्ना लामा कान झन ठाडा पार्दै खुबै दंग पर्छ। उसलाई साथ दिन्छन्, ओली ब्रो। अनि, यसो घडीमा हेर्दा यसको मोटो सुइ बल्ल १ तिर देखेपछी मार्शल ब्रो नि जंगिन्छन्,”ल ल ! गैदिने हो, गैदिने हो।”

कुरा फाइनल भयो। अबको नयाँ गन्तव्य, रुकुम चौरजहारी।

बूढो अपाचे एकाएक तन्नेरी भएर आयो, अशक्त होन्डा शाइन अचानक सशक्त भएर आयो। यात्रा फलतः झन् दोब्बरको रफ्तारमा गैदियो।

सदाझै ओली ब्रो अघिअघि। फुच्चे प्रमोद र मार्शल ब्रो म्युजिकल मुडमा पछिपछि।

टाढा टाढा

जानू छ साथी

एकफेर हाँसीदेऊ !!

ब्याकग्राउन्डमा सालका रुखहरू धमाधम  फेरिइरहन्छन्। धानका बाली लहलह लगालग फर्फराइ रहन्छन्। आकाशैभरी सुर्यका किरण खुलस्त मुस्कुराइ रहन्छन्। जेहोस्, यात्रामा सबैतिरबाट रोमाञ्चकता थपिइरहन्छ।

केही समथर यात्रा। केही घुमाउरा मोड। केही फुर्फुरे धुलो, केही लदबदे हिलो। केही गाउँले मुस्कान, केही मीठो थकान। साथमा केही ग्रामीण मिठो सुगन्ध पनि।

यी-यस्तै महफिलका बिच आइपुग्छ, भेरी नदि। नदिहरु यसै पनि साह्रै सुन्दर हुने, त्यसमाथी भेरी झन खास थियो। खास यस मानेमा पनि कि, तिनैजनाले बचपन देखि नै सुन्दै आएको तर, त्यति मुलाकात गर्न नपाएको। त्यसैले पनि बाइकहरूलाई सडकबाट नदि किनारमा पुर्याउनै पर्ने देखियो। केटाहरु जोशिए। अचानक भेरी नदिको काखमा केही गतिला फोटा खिच्ने आइडिया फुर्यो।

शुरुमा मार्शल ब्रो, आफ्नो सिग्नेचर दारी छुस्स मिलाउदै केही दामी पोज दिन भ्याए। अलिकती साहसिकवाला, अलिकता ह्यान्सम टाइपका फोटा।

ओली ब्रो पनि के कम ! फटाफट आफ्नो ब्रान्डेड चस्मामा सजिएर केही बबाल-बबाल सट दिन भ्याउछन्। ब्रो गमक्क पर्न थाल्छन्।

अब पालो फुच्चे प्रमोदको। उसले नि सकेजतिको बल लगाएर राम्रो बन्ने कोशिस त गर्यो। तर थोपडा नै गतिलो नभएसी के लाग्थ्यो। बिचरा ! फोटा हेर्दै ऊ निधार खुम्च्याउन थाल्छ।

पानीमा केही अल्लारे छप्ल्याङ-छुप्लुङ गरेपछी तीन लक्का जवानको टोली सरासर अघि बढ्छ।

भेरी नदि सँगै चौरजहारी इलाका शुरु भैसकेको थियो। गन्तव्य आउन थाले सँगै यात्रा झन्झन् रोमाञ्चक बन्न थाल्छ। तपाईं एकिन पनि गर्न सक्नु हुन्न होला यो बाटो। आम्मा ! गोला-गोला ढुङ्गाले पुरै भरिभराउ सडक, पुर्णतः डरलाग्दो देखिएको हुन्छ। ढुङ्गाहरु यति मज्जाले बिच्छ्याइएको छ, मानौं कि चौरजहारीवासीले आज रिसको झोकमा बाटो बन्द गर्दिएका छन्। या भनौ, उनीहरू सायद देखाउन खोज्दैछन् कि,”चौरजहारीको पहिचान, सडकैभरी गोला-गोला ढुङ्ग्यान।”

बूढो अपाचे गोला ढुङ्गामा खुबै अतालिरहेको देखिन्छ। ऊ भन्दा अतालिरहेका छन्, ओली ब्रो। बाउको त्यति प्रिय बाइक यसरी जबर्जस्त चलाइरहदा, उनी अलि सेन्टी हुनु स्वभाविकै पनि हो।

यता, अशक्त-अपाङ्ग होन्डा शाइनमा पनि खुबै दबाब परिरहेझै भान भैरहेको छ। एक त सानो बाइक, त्यसमाथी अशक्त, पहाडको बाटो अझ त्यसमा यी डरलाग्दा ढुङ्गाहरू। बिचरा बाइक। टिठलाग्दो हुँदै थियो उसको हुलिया। तैपनी जतिसक्दो जबर्जस्त कान निमोठिरहेका छन्, मार्शल ब्रोले। मानौं उनी सोचिरहेका छन्,”साथीको बाइक त हो, मलाई के को बाल। कुदाइ दिने हो, कुदाइ दिने हो।”

लामो संघर्ष पछि यो गोलढुङ्गे यात्रा सकिन्छ र चौरजहारी बजार आइपुग्छ। भेरी नदिको किनारमा बिराजमान ‘चौरजहारी बजार’, एक प्राचीन सङ्ग्रहालय झै प्रतीत हुन्थ्यो। पुराना घर, पुरानै बस्तीहरू तर निकै धेरै संख्यामा। धेरै नफैलिएको भए तापनि, लम्बाइमा भने निकै लामो रैछ बजार। कुनै बेलाको त्यो शहरी सुगन्ध सजिलै अनुमान लाउन सकिन्थ्यो। पक्कै पनि, उबेला सल्यान, रुकुम र जाजरकोटका यी भेगहरुको निकै प्रभावशाली स्थानमा पर्थ्यो रे, ‘चौरजहारी बजार’। त्यतिबेला नै बिमानस्थल बन्नु चानचुने कुरा कहाँ थियो र !

परन्तु, खै कहिले देखि रोकिएको हो, चौरजहारी पुर्णतः आधुनिकताबाट निकै टाढा देखिन्छ। मानौ अहिलेको बिकास र समृद्धि बारे यसलाई थाहा नै छैन।

चौरजहारी पारी जाजरकोट सदरमुकाम खलंगा बजार खुबै टल्किएको देखिन्छ। हेर्दाहेर्दै केटाहरूले एउटा मीठो कल्पना पनि गर्न भ्याउछन्,”कुनै दिन टक्क मिलाएर सब्बै जना हामी सल्यान खलंगा-कुपिण्डे हुँदै सल्लीबजारबाट डाइरेक्ट जाजरकोट खलंगा आउने र, त्याँबाट पुरै रुकुम घुम्दै स्यार्पु दह जाने अनि फर्किने।” कति मीठो सपना। आखिर सपना देख्न पैसा चाहिन्न क्यारे !

एकछिनको बजार सफारी, केही फोटोसुट र नास्ता-सास्ता पछि टोली बिस्तारै फर्किने मुडमा लाग्छ। यता बिस्तारै सुर्य नि अस्ताउन थालेको छ। यत्तिकै पनि ४ बजिसकेको छ, घर फर्किन अझै कम्तिमा ४ घन्टा लाग्ने निश्चित थियो।

फिर्ती-यात्रा तेब्बर रफ्तारमा अघि बढ्छ।

रागेचौर आइपुग्दा हल्का तिरमिर-तिरमिर अँध्यारो भैसकेको हुन्छ। ओली ब्रोले बूढो अपाचेको बत्ती बालिदिन्छन्। यता मार्शल ब्रो पनि जङ्गिन्छन् र अशक्त होन्डा शाइनको स्वीच दबाउन थाल्छन्। तर अह ! बत्ती बले पो। फेरिफेरी पनि प्रयास गर्छन् तर अह ! बले पो। भएन भनेर फुच्चे प्रमोद पनि पछाडी बाट खुबै जान्ने भएर बाल्ने कोसिस गर्छ, तर अह ! बले पो। जति प्रयास गरेपनी होन्डा दाइले बत्ती बाल्न मान्दै मान्दैनन्।

अन्ततः फुच्चे प्रमोदले आफ्नो र मार्शल ब्रोको मोबाइल झिकेर फ्ल्यास बत्ती बाल्छ अनि, अचानक आपतकालीन हेडलाइटको आविष्कार गर्छ। अबको सफर, मार्शल ब्रो बाइक हुइक्याउने, फुच्चे प्रमोद नवनिर्मित हेडलाइट र दुई आँखाको सहायताले बाटो देखाउने।

बाटो त जसोतसो कटिरहेकै थियो तर अचानक आइपुग्छ उहीँ बिहानको खोला। अब खोल्खोलैको बाटो पो कसरी जाने। किन्तु, पानीमा त फ्ल्यास लाइट जाबोले केही भ्याउनेवाला थिएन  ! परन्तु, मार्शल ब्रो कहाँ डराउथे र ! आफ्नो सदाबहार हिरो अन्दाजमा उनी जबर्जस्त हुइकाइदिन्छन्। फुच्चे प्रमोद पहिले-पहिले त अलि डराइ रहेको हुन्छ तर, पछि बिस्तारै ऊ पनि बानी पर्न थाल्छ। जुत्ता भिज्नु, पाइन्ट रुझ्नु, हल्का ढलक-पलक हुनु, चप्ल्याङ-चुप्लुङ हुनु त अब सामान्य जस्तै भैसकेको थियो।

धन्न ! बिना धनजनको क्षति, जसोतसो खोलो कट्छ। बाटो बिस्तारै उकालो लाग्छ। उकालो लागे सँगै तिनैजना लक्का जवानहरूको घरबाट एकोहोरो फोनकल आउन थाल्छ।

ओली ब्रो क्लियर बताइ दिन्छन्,”हामी अघि नै फर्की सक्यौं। आज म यतै मार्शल दाइकोमा बसे है त।”

फुच्चे प्रमोद पनि त्यस्तै केहि भनेर टार्छ।

मार्शल ब्रो पर्छन् टेन्सनमा।

“ममी ! हामी आउदैछौं है। आइपुग्नै लाग्यौं। अब एकैछिनमा आइपुगी हाल्छौं। आज सबै त्यतै बस्छौ होला। खाना पकाउदै गर्नु होला है।”

‘आउनै लागेको’ भन्न त भने केटाहरुले तर, यात्रा पुरै बाकीं नै थियो।

रफ्तार झनै बढ्छ। कतै पल्टिदै, कतै पल्टेको हेर्दै रमाउदै बाटो कटिरहेको हुन्छ। तर अचानक, अशक्त मोरो होन्डा शाइन एकाएक हिड्न छोड्छ। ल खत्तम ! चेन नै फुत्किएछ। अब परेन त फसाद।

ओली ब्रो र मार्शल ब्रो यसो यताउती केही जानेजती जुगाड गर्ने कोसिस गर्छन्। तर अह ! केही पनि लाग्दैन। फुच्चे प्रमोद बस् ट्वाल्ल परेर हेरिरहन्छ मात्र, बाइक बारे केही फुट्टि जाने पो।

अन्ततः होन्डा शाइनलाई पालैपालो डोर्याउदै लिने निर्णय गरिन्छ। मार्शल ब्रो ह्यान्डल समात्ने, फुच्चे प्रमोद धकेल्ने। फेरि, ओली ब्रो ह्यान्डल समात्ने, फुच्चे प्रमोद धकेल्ने। यहाँनेर आएर चै फुच्चे प्रमोदलाई आफुले बाइक चलाउन नसिकेकोमा नराम्ररी पछुतो लाग्छ। नत्र भने ऊ पनि यसो बेलाबेला साटफेरमा बूढो अपाचेमा हुइकिन त पाउथ्यो।

जेहोस् ! करिब आधा किलोमिटर जति डोर्याउदा पनि कुनै गाउँ त परै जाओस्, एउटै घरको समेत कुनै नामोनिशान नदेखेपछी, हुक्क भएर मार्शल ब्रो एउटा कठोर निर्णय लिन पुग्छन्।

“यसरी डोर्याएर सकिँदैन, रात पनि परिसक्यो। अब, यो अशक्त रोगी होन्डा शाइनलाई यतै जंगलमा छोड्दिने, तिनैजना अहिलेलाई ओली ब्रो कै बूढो अपाचेमा बसेर घर जाने। बिहान सबेरै मिस्त्री लिएर आउने, यदि इन्केस केही नराम्रो भएनछ भने, बनाएर लैजाने।”

अन्ततः तिनै जना बूढो अपाचेमा चढ्न थाल्छन्। मार्शल ब्रो ह्यान्डिलमा, ओली ब्रो बिचमा अनि, पुछारमा फुच्चे प्रमोद।

हतारमा बूढो अपाचेको कान निमोठ्नु सम्म निमोठिएको छ। चिसो हावाले सबैका नाक कान बिस्तारै बन्द भैरहेछन्। मार्शल ब्रोको ‘ए वान’ मोबाइल लगातार जसो बजिरहेको छ। अध्यारो रात झन्झन् अँध्यारो हुदैछ। बाइक यसो ढल्याक-ढुलुक हुदाँ फुच्चे प्रमोद ‘कतै खसिहाल्छु कि’ भन्ने महा-पिरमा देखिन्छ।

खैर ! रोमाञ्चक यो सफर अझै जारी छ। हामी सँगै रहनुहोला। चियर्स जिन्दगी !!!

नोटः-

राजन के.सी.’प्रमोद’को साप्ताहिक स्तम्भ ‘चियर्स जिन्दगी’का अघिल्ला अंकहरू;

१. चियर्स जिन्दगी !!!

२. म्युजिकल जिन्दगी !!!

 

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्