Logo

विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्छ



Spread the love

२९ चैत, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको र विद्यालयमा अझ धेरै मात्रामा फैलिएपछि सिसिएमसीले उक्त सिफारिस गरेको हो ।

प्याब्सनले आइतबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाबाट सबै विद्यार्थीलाई समेट्न नसकिने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ । 

प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ ।’

विज्ञप्तिमार्फत प्याब्सनले बालबालिकालाई संक्रमणबाट जोगाउन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पुर्‍याइदिन अभिभावकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्