Logo

कोरोनाको दोस्रो लहर बढी सचेतना जरुरी



Spread the love

३० चैत, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ । दैनिक ४८ जनासम्म ओरालो झरेको सङ्क्रमणपछि पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ ।

केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ । विज्ञहरूले कोरोनाबाट जोगिन अझ बढी सचेत हुनुपर्ने बताउन थालेको छन् ।

भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ । नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ । दैनिक सङ्क्रमण मात्रै होइनस सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको जानकारी दिए । यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए । मन्त्रालयका अनुसार देशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ जना पुगेको छ । केही दिनअघि मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या सात सयमा झरेको थियो । गत बुधबार सक्रिय सङ्क्रमित दुई हजार २०१ पुगेका थिए ।

डा गौतमले नेपालमा सङ्क्रमितको सङ्ख्या मात्रै नथपिएको भन्दै गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा रहेको जानकारी दिए । एक साताअघि कोरोना सङ्क्रमणले गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको थियो । आइतबारको तथ्याङ्कअनुसार आईसीयूमा ८९ र भेन्टिलेटरमा १५ जना छन् ।

नेपालमा दोस्रो चरणको नयाँ भेरियन्ट आएको र युवा पुस्तालाई समेत गाह्रो पार्न थालेकाले पनि कोरोनाले थप चिन्ता बढाएको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउन्छन् । टेकु अस्पतालका चिकित्सक डा पुनका अनुसार थोरै लापरबाहीले मुलुकको भविष्य गम्भीर अवस्थामा पुग्न सक्ने बताए । उनले कोरोना सङ्क्रमण नियन्त्रणमा आउन लाग्यो भनिरहेका बेला पुनः उचाइ लिन थालेकाले सचेत हुन आग्रह गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्