Logo

धुर्कोटको नयाँगाउँमा ५ हजार सुन्तलाका विरुवा लगाईँदै



Spread the love
सुन्तलाका बिरूवा रोपिने स्थान ।

२५ असार, गुल्मी । सुन्तलाका लागि निकै प्रसिद्ध गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँको काउलेमा पाँच हजार सुन्तलाका विरुवा लगाईँने भएको छ ।

परम्परागत रूपमा गरिँदै आएको सुन्तला खेतीलाई आधुनिक तथा प्रविधिमैत्री ढंगबाट सुन्तला उत्पादन तथा प्रर्वद्धन गर्ने उदेश्यका साथ चक्लाबन्दीविधिबाट खेती सुरु गरिएको हो । चक्लाबन्दी विधिबाट गह्रा सुधार गरी २ सय रोपनी जग्गामा पाँच हजार सुन्तलाका बिरुवा लगाउन शुक्रबारदेखि सुरु गरिएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले सुन्तलाका बिरुवा रोप्दै गाउँपालिका कृषकको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले भने,’हामी कृषिप्रधान देशका नागरिक हौं । कृषिबाटै हाम्रो समृद्धि हुनेछ । तपाईँहरु काम गर्नुहोस्, जुटुनुहोस्, गाउँपालिका तपाईहरूसँगै छ ।’

स्थानीय सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था र प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीको साझेदारीमा सुन्तलाका बिरुवा लगाउन सुरु गरिएको सहकारीका अध्यक्ष चेतमान कुँवरले जानकारी दिए ।

२१ लाख २६ हजार ६ सय २१ रुपैयाँ कुल लागत रहेको योजनामा सहकारीले १० लाख ६३ हजार ३ सय १५ रुपैयाँ लगानी गरेको छ भने प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीले ९ लाख ९७ हजार ५ सय ६७ रुपैंया अनुदान उपलब्ध गराएको छ ।

किसानका लागि आवश्यक ज्ञान सिप तथा तालिम,आधुनिक यन्त्र उपकरण पनि प्रदान गरिएको छ । त्यस्तै किसानहरुले यस क्षेत्रलाई नमुना बगैँचाको रुपमा स्थापना गर्ने, संरक्षण गर्न सिंचाई तथा सुरक्षाको लागि आवश्यक सहयोग गर्नु पर्ने माग गरेका छन् ।

आजदेखि सुरु गरिएको सुन्तला रोपण कार्यक्रममा धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिव खत्री, प्रमुख प्रशासकीय अधिकृत कांशीराम पन्थी, कृषि अधिकृत अन्जली गौतम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख नारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्