Logo

४० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा, १४ वर्ष बित्दा पनि भएन अदालतको फैसला कार्यान्वयन



Spread the love

अदालतले फैसला गरेको १४ वर्षसम्म पनि सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता हुन सकेको छैन । जिल्लाको सत्यवती गाउँपालिका ६ जोहाङ्ग स्थित फल्लारुखमा रहेको ४० रोपनी जग्गा स्थानीय केही व्यक्तिले आँफूहरू सुकुम्वासी रहेको दाबी गर्दै १०/१० रोपनी जग्गा हत्याएका थिए ।

अदालतले फैसला सुनाएको १४ वर्ष बित्दा पनि उक्त जग्गा सरकारको नाममा फिर्ता हुन सकेको छैन भने व्यक्तिहरूले निजी प्रयोजनमा प्रयोग गरिरहेका छन् ।

टाठाबाठाले सुकुम्बासी भन्दै हत्याए जग्गा

२०१७ सालमा तत्कालीन् जोहाङ्ग गाउँ विकास समितिको वडा नम्बर २ स्थित फल्लारुखमा बडीगाढ खोलाको किनारमा ५६ रोपनी जग्गा गाैचरणको लागि भनेर राखिएको थियो । समथर भूभाग र सडक सञ्जालको विस्तार तथा अन्य विकासका पुर्वधारको विकास हुँदै गएपछि त्यस जग्गामा स्थानीय टाठाबाठाहरुले आखाँ लगाउँदै गए र अन्ततः २०५५ सालमा आँफूहरू सुकुम्वासी रहेको विवरण पेस गर्दै ४० रोपनी जग्गा चार जनाले १० रोपनीका दरले हत्याउन सफल भए ।

२०५५ साल मंसिर ८ गते सुकुम्वासी जिल्ला समस्या समधान आयोग गुल्मीले १०-१० रोपनी जग्गा दिने निर्णय गर्‍यो । मंसिर १३ गते नै कित्ता नम्बर १४४४ मा टेक बहादुर भण्डारी, १४४५ मा राम भण्डारी, १४४६ मा लोकनाथ भण्डारी र १४४७ मा हुमनाथ भण्डारी आफ्नो कित्ताकाट गर्दै १०-१० रोपनी जग्गा हात पारे । यी मध्ये हुमनाथ भण्डारीको भने निधन भइसकेको छ ।

५६ रोपनी जग्गा भए पनि खोला छेउछाउ र अलि नराम्रो जग्गा छाडेर ४० रोपानी जग्गा आफ्नो नाममा बनाएको पुनरावेदन अदालतले पुष्टि गरेको छ ।

२०५५ पुस २७ गते स्थानीय कर्ण बहादुर खत्रीले सार्वजनिक जग्गा गैरसुकुम्वासीलाई दिएको भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दर्ता गरे । मुद्दा लड्दै गर्दा २०६३ असार १९ गते गुल्मी अदालतले आफ्नो विपक्षमा फैसला गरिदिएपछि उनी पुनरावेदन अदालत बुटवलमा गए ।

पुनरावेदन अदालतले २०६४ साल पुस १७ गते उक्त जग्गा सार्वजनिक रहेको र गैरसुकुम्वासीले हडपेको ठहर गर्दै उक्त जग्गा फिर्ता गर्ने फैसला सुनायो । पुनरावेदन अदालतले फैसला सुनाएको १४ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । अदालतले फैसला गरिदिएको कागज लगेर तम्घासस्थित मालपोत, नापी, चन्द्रकोट गाउँपालिका रहेको नापी कार्यालय, सत्यवती गाउँपालिकाको कार्यालय पुग्दा समेत सबै कार्यालय प्रमुखले आफ्नो खुसीले जवाफ दिने गरेको कर्ण बहादुर खत्रीले बताए । करिब २२ वर्षदेखि मुद्दा लड्दा आफ्नो करिब १२ लाख खर्च भइसकेको र आफू थाकिसकेको उनले गुनासो पोखे ।

गाउँपालिकाको अपरिपक्व कदम

विवादित यस जग्गामा सत्यवती गाउँपालिकाले अपरिपक्व निर्णय गरेको छ । अदालतले सार्वजनिक जग्गा भनेर फैसला गरे पनि सार्वजनिक जग्गामा पूर्ण रूपमा परिणत नहुँदै त्यस जग्गामाथि करोडौँ रकम खर्चेको छ । ३४ रोपनी जग्गामा खेलमैदान बन्दैछ भने १६ रोपोनी जग्गा व्यक्तिकै नाममा रहेको छ ।

खेलमैदान बनाउने उद्देश्यले ४८ करोडको डिपिआर तयार पार्दै अहिलेसम्म १ करोड ५० लाख खर्च भइसकेको छ भने यो वर्ष ५० लाख खर्चने तयारी गरेको छ । व्यक्तिकै नाममा जग्गा रहेको अवस्थामा गाउँपालिकाले अन्धाधुन्ध करोडौँ रकम खर्चनु अपरिपक्व कदम भएको प्रष्ट हुन्छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने र गराउनप्रति कुनै चासो नदिई उक्त जग्गामा लाखौँ रकम लगानी गरेर जग्गाको हेरचाह र समथर बनाउनु दुःखद विषय रहेको स्थानीयले बताए ।

कार्यान्वयन गर्ने तह फितलो, जवाफ लाजमर्दो

यस जग्गाको बारेमा सल्लेरी खबरले विगत छ महिनादेखि निरन्तर खोजी कार्य जारी गर्‍यो । यस बिचमा धेरै सरकारी कार्यालयका प्रमुख तथा जनप्रतिनिधिसँग पनि घुमाउरो पाराले उनको धारण लिइयो । विशेष गरी मालपोत र नापी कार्यालयका प्रमुखले आँफू भर्खर-भर्खर कार्यालयमा आएको र आँफूलाई थाहा नभएको बताउने गर्छन् । आफूले बुझ्दै गरेको उनीहरूको प्रतिक्रिया छ । जिल्ला मालपोत कार्यालयका हाकिम खेत बहादुर खत्रीले त हामीले भने पछि मात्रै थाहा पाए । हाम्रा कुरा सुनेपछि मात्रै थाहा पाएका हाकिम खत्री यसको सम्पूर्ण कार्यक्षेत्र भनेको मजुवाको मालपोतको भएको बताउँदै पन्छिए । त्यस्तै, मालपोत कार्यालय मजुवामा रहेका कर्मचारीलाई यो केस हेर्ने अधिकार नभएको त्यहाँका कर्मचारीको भनाई छ । त्यहाँ कार्यरत कर्मचारी खरिदार ओम खाम्चा र सुब्बा देविराम पन्थी भन्छन् “हामी त यहाँका निमित्त कर्मचारी हौँ । यो केस हेर्ने अधिकृत तहको कर्मचारी आउनु पर्छ । अधिकृत तहको कर्मचारी आएपछि केस अगाडी बढ्ला । हामी अदालतको फैसला कार्यान्वयन नगर्ने कुरै भएन ।”

गुल्मीका कर्मचारीलाई केश हेर्न र बुझ्नै १४ वर्ष लाग्यो भने कार्यान्वयन गर्ने अझै कति वर्ष लाग्ने हो थाहै छैन !

के भन्छन् जग्गा पाउनेहरू ?

यता जग्गा पाउँनेहरूले भने आँफूहरू पीडित भएको गुनासो गरेका छन् । पुनरावेदन अदालतमा मुद्दा हारेपछि सर्वोच्चमा जान सक्ने आर्थिक स्थित र पहुँच नभएका कारण चुप बस्न बाध्य भएको लोकनाथ भण्डारीले बताए ।

उनले भने, ‘टाठाबाठा दाजु हुमनाथ बित्नु भयो हाम्रो केही सिप चलेन । नापी कार्यालय नआउँदासम्म उहाँले नै जग्गाको कित्ताकाट गर्नु हुन्थ्यो । उहाँ मुख्य जिम्माल पनि हुनुहुन्थ्यो ।’

त्यस्तै, गाउँपालिकाले खेलमैदान तथा मन्दिर बनाउँदा आफूहरूसँग कुनै सल्लाह नगरेको पनि उनले गुनासो गरे ।

यसरी सार्वजनिक जग्गा गैरसुकुम्बासीले हडप्दा वास्तविक सुकुम्वासी चाहिँ ओझेलमा पर्दै आएका छन् । यसबारे सम्बन्धित निकायले सक्रियता बढाउनुपर्ने देखिन्छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्