Logo

च्याम्पियन्स लिग – रियल मड्रिड र एट्लेटिको नकआउट चरणमा, लिभरपुलको शतप्रतिशत जित



Spread the love

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा रियलले इन्टर मिलानलाई २-० ले पराजित गरेको हो।

खेलको १७औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। ६४औं मिनेटमा बरेलाले रेड कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटियो। ७९औं मिनेटमा एसेन्सियोले गोल गरी मड्रिडलाई जित दिलाए ।

समूह डीको विजेता मड्रिड नकआउट चरणमा पुगेको छ भने इन्टर पनि उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।


त्यस्तै, एट्लेटिको मड्रिड पनि अन्तिम १६ मा पुगेको छ। पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो ।

एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एन्जल कोर्रेया र पाउलले एक – एक गोल गरे । खेलको इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएका थिए ।

यस्तै, मोहम्मद सालाह र डिभोक ओरिगीको गोलमा इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले च्याम्पियन्स लिगमा एसी मिलानलाई २–१ ले हराएको छ । योसँगै लिभरपुलले समूह चरणमा शतप्रतिशत नतिजाका निकाल्न सफल भएको छ ।

समूह ‘बी’मा लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा रह्यो । पराजित मिलान चार अंकका साथ समूहको पुछारमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्