Logo

नामका कारण विवादमा प्रदीपको फिल्म ‘रोजी’



Spread the love

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरिएको छ । रोजीबाट ‘रोज’ नामाकरण गरिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म रोजीको कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको छ । बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित फिल्मको कथा मिलेको मर्हजन परिवारले दाबी गरे । महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपु¥याउने सम्झौता भएको छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो ।

फिल्मको नाम परिवर्तन गर्नुको कारणबारे निर्देशक पौडेलले भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’रोजी हत्या काण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले फिल्मको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याकाण्डबारे आफूले अध्ययन गरेको पनि निर्देशक पौडेलले खुलासा गरे । रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफूहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे ।

यो फिल्मलाई महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुुरी दिएर सुरुमै छायाँकनमा अबरोध गरेको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा पनि परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायाँकन सुचारु भएको थियो ।गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्