Logo

बैंकिङ् सेवासुविधा अपाङ्गमैत्री बनाउन माग



Spread the love

१३ कात्तिक, काठमाडौँ – नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलगायतले अपाङ्गता भएका व्यक्तिलाई बैंकिङ् सेवासुविधामा सहजता गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

केन्द्रका अध्यक्ष जगदीशप्रसाद अधिकारीले बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई बालुवाटारस्थित कार्यकक्षमा ध्यानाकर्षणपत्र हस्तान्तरण गरे । बैंकका कार्यकारी निर्देशक पौडेलले अब निर्माण हुने बैंकका संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई अनुकूल हुने गरी बैंकिङ सेवा उपलब्ध गराइने बताए । अपाङ्गता भएका व्यक्तिका सवाललाई सम्बन्धित निकायसम्म लैजाने र यस विषयमा छलफल गर्ने उनले बताए ।

सो अवसरमा केन्द्रका अध्यक्ष अधिकारी, नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धिताल, दृष्टिविहीन सरिता लामिछानेलगायतले बैंकिङ् सेवाअन्तर्गत एटिएम बुथ तथा कार्ड, बैंकका संरचना अपाङ्गमैत्री नभएको बताउँदै बैंकिङ् सेवासुविधालाई अपाङ्गता अनुकूलको बनाउनपर्नेमा जोड दिए । उक्त पत्रमा प्रत्येक बैंकले एक अपाङ्गता भएका व्यक्तिका लागि रोजगारीको पनि पहल गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्