Logo

रोशन र पूजा बने प्रदेश च्याम्पियन



Spread the love

१८ कात्तिक, घोराही – दाङको घोराहीमा सम्पन्न प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता २०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन् ।

दाङ आइटिएफ तेक्वान्दो सङ्घको सहकार्यमा भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा हिजो र आज दुई दिनसम्म घोराही उपमहानगरपालिका–१४ स्थित घोराही कबर्ड हलमा सञ्चालन भएको प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पुरुषतर्फ रोशन आले र महिलातर्फ पूजा रसाइलीले उपाधि हात पारेका हुन् ।

प्रतियोगिताको अन्तिम खेलमा नवलपरासीकै सुमन मस्र्याङ्दी मगरलाई हराउँदै रोशनले प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका थिए । उपाधिसँगै रोशनले नगद रु ३० हजारसहित ट्रफी, प्रमाण प्राप्त गरेका छन् ।

त्यस्तै महिलातर्फ भएको अन्तिम खेलमा बाँके जिल्लाकी राधिका चौधरीलाई हराउँदै पूजा प्रतियोगिताको उपाधि चुम्न सफल भएकी छिन् । पूजाले नगद रु २० हजारसहित ट्रफी, प्रमाणपत्र हात पारेकी छिन् ।

च्याम्पियनसिपलाई घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र नेपाल इन्टरनेशनल तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै प्रतियोगितामा पुरुषतर्फ नवलपरासीकै सुमन मस्र्याङदी मगर दोस्रो र गुल्मीका विकल पौडेलले तेस्रो स्थान हात परेका थिए । दोस्रो र तेस्रो हुने नगद रु २० हजार र १० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यस्तै प्रतियोगितामा महिलातर्फ बाँकेकी राधिका चौधरी दोस्रो र दाङकी सञ्चिता पुनले तेस्रा स्थान लिएका थिए । दोस्रो र तेस्रो महिलाले नगद रु १३ हजार र सात हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलाडी’ भन्ने नाराका साथ भएको प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियन सीप प्रतियोगितामा प्रदेश नं ५ का १२ जिल्लाका १२० जना खेलाडीको सहभागिता रहेको थियो । जसमा पुरुषतर्फ ६० जना र महिलातर्फ ६० जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्