Logo

रामचुलोमा रामजानकी मन्दिर



Spread the love

२९ कात्तिक, रामपुर – धार्मिक एवम् ऐतिहासिक क्षेत्र रामपुर, पाल्पामा बन्दै गरेको रामजानकी मन्दिरको आज नेपाल पर्यटन विकास बोर्डका प्रबन्धक केबी शाहलगायतको टोलीले अवलोकन तथा निरीक्षण गरेको छ । रामजानकी मन्दिर विकास परिषद् रामपुरद्वारा भारत, अयोध्याका रामचन्द्रले खाना पकाएर खाएको भनिएको रामचुलो भएको स्थानमा मन्दिर निर्माणाधीन छ ।

मन्दिरको अवलोकन गर्दै बोर्डका प्रबन्धक शाहले ‘राम बास बसेको र यात्रा गरेको तथा रामसीतासँग जोडिएको क्षेत्र’ साँच्चिकै सुन्दर र महत्वपूर्ण भएकाले यसको विकासमा अझ ध्यान दिनुपर्नेमा जोड दिए । उनले रामजानकी मन्दिर जनकपुर जस्तै प्रख्यात बनाउनका निम्ति आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रामपुरको महत्व र मन्दिर निर्माण सन्दर्भमा परिषद्का अध्यक्ष फडेश्वर गौतमले जानकारी गराएको कार्यक्रममा जलयात्रा व्यवसायी देवराज जैसी, प्याराग्लाइडिङ विज्ञ दीपक रोकाय, पतञ्जलि योगपीठ नेपालका निर्देशक पवन सुवेदीलगायतको सहभागिता थियो । रामपुर नगरपालिका – ५ मा करीब रु १० करोडको लागतमा बन्दै गरेको मन्दिरमा आगामी साल चैतभित्र पूजा चलाइएने परिषद्को लक्ष्य छ ।

साढे तीन तला ढलान भएको मन्दिरमा अन्य निर्माणको काम तीव्र रुपमा भइरहेको छ । विसं २०७१ मा श्रीमद्भागवत ज्ञानमहायज्ञ सञ्चालन गरी करीब रु साढे दुई करोड जम्मा भएपछि मन्दिर निर्माण थालिएको हो । राम र सीतासँग जोडिएका रामघाट, रामचुलो, सीताकुण्ड र रामचे धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । रामजानकी मन्दिर भएको स्थानमा अहिले पनि रामले खाना पकाएको भनिएको तीन ढुङगाबाट बनाइएको चुलो देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्