Logo

परिवेश



Spread the love

मेरी आमैले मलाई सुनाएको कथा, उनलाई पनि उनकै आमैले सुनाएको भन्थिन क्यारे … पृथ्वीको दुई ध्रुवमा दुई बालकको जन्म भएछ । ग्रह, दशा, नक्षत्र, समय सबै कुरा ठ्याक्कै मिलेर होला .. उनीहरूको स्वभाव एकै । दुबै जना रीसहा ,झगडालु र जिद्दी स्वभावका थिए ।एउटा ध्रुवका बाबुआमा आफ्नो छोराको बानी देखेर दुखी भएछन्, भने अर्को ध्रुवका बाबुआमा भने छोराको निडर र हठि स्वभावका कारण अत्यन्तै खुसी देखिन्थे ।

बाल्य अवस्था एकै गरी बित्यो बालकहरूको । मात्र बाबुआमाको निराशा र खुसीको बिचमा । बालकको स्वभावमा भने कुनै परिवर्तन थिएन । युवा अवस्थामा प्रवेश गर्दा एउटा ध्रुवमा बस्ने बाालकको झगडालु स्वभावको कारण समाजमा अराजकता निम्ताएको भन्दै पुलिस प्रशासनको निगरानीमा थियो, भने अर्को ध्रुवमा निडर र हठि स्वभावको कारणले अन्यायमा परेकाको लागी लडिदिने लिडर बनेको थियो । आवाज विहीनको आवाज बने झै ।

आज फेरी आमैले सुनाउँदै थिइन्, एउटा ध्रुवको बालकको स्वभावकै कारण पुलिस प्रशासनको हातमा परी जेलमा सजाय भोग्दै छ रे । अनि अर्को ध्रुवको बालक उही स्वभावको कारण देशको सफल राजनीतिज्ञ र निडर नेता बनेको छ रे। कठै परिवेश ,कठै दृष्टिकोण ।

 

प्रतिक्रिया दिनुहोस्