Logo

बागचौर नगरपालिकामा गाई-भैंसीलाई सुत्केरी भत्ता , किसान उत्साहित



Spread the love
१७ पौष, सल्यान- बागचौर नगरपालिकाको “कृषिमा अनुदान कृषकलाई प्रोत्साहन” कार्यक्रम अन्तरगत भैंसी पालक किसानहरूलाई प्रोत्साहन स्वरुप सुत्केरीभैंसी स्याहार भत्ता बितरण सुरु गरिएको छ।
पौष १६ गते नगर प्रमुख लोकमान बुढाथोकी ,उप प्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल ,पशुपंक्षी बिकास शाखा प्रमुख लोकेन्द्र डाँगी र कृषि शाखा प्रमुख हनुमान यादब लगायतले किसानहरूको घरघरमा पुगि प्रती सुत्केरी भैंसी रू. ३,००० का दरले सुत्केरी भैंसी स्याहार भत्ता हस्तान्तरण गरेर यस कार्यक्रमको विधिवत उद्गघाटन गरेका हुन् ।
बागचौर नगर कार्यपालिकाको निर्णय अनुसार,पौष महिना यता सुत्केरी भएका भैंसी र उन्नत जातका गाईलाई सुत्केरी स्याहार भत्ता दिइने भएको छ। सुत्केरी स्याहार भत्ता लिनलाई भैंसी सुत्केरी भएको १ हप्ता भित्र भैंसी र पाडोको फोटो र वडा कार्यालयको सिपारिस सहित बागचौर नगरपालिकाको पशुपंक्षी बिकास शाखामा निबेदन पेस गर्नु पर्नेछ। यस्तो किसिमको सिफारिस लिदा कुनै शुल्क नलाग्ने नगरपालिकाले जनाएको छ । गाई भैंसी सुत्केरी भएको तर पाडो/पाडी नपालेका किसानले यो सुबिधा पाउने छैनन। पौष महिना भन्दा पछी सुत्केरी भएका गाई भैंसीका किसानहरुलाई मात्र यस कार्यक्रममा समावेश गरिने पनि नगरपालिकाले स्पष्ट पारेको छ।
सोमबार, नगरपालिका अन्तर्गत वडा नम्बर ८ र ९ सुत्केरी भैंसी स्याहार भत्ता बुझ्ने किसानहरूमा गौरीलाल डाँगी, बेदप्रसाद डाँगी, डम्मरी कुमारी डाँगी,लिला बहादुर डाँगी, देव बहादुर डाँगी, अ्मृता डाँगी ,कमला देबि चन्द, केशराम डाँगी र खड्ग सिंह बस्नेत रहेका छन् । यो कार्यक्रमले किसानलाई थोरै भए पनि राहत हुने र कृषि तथा पशुपालनमा युवा पुस्तालाई आकर्षित गर्ने, स्थानीय युवाहरुले घरमै रोजगारी पाउने, किसान उत्साहित हुने नगर प्रमुख बुढाथोकीले विश्वास लिएको बताए ।

 

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्