Logo

दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी माघ २४ गते देखि



Spread the love

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज सेस (नेपाल) ले सिभिल इन्जिनियरिङ विभाग, केन्द्रीय क्याम्पस पुल्चोकसँगको सहकार्यमा यहि माघ २४, २५ र २६ गते दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

“दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ्ग पद्धति”को मुल नारा सहित यस वर्षको प्रर्दशनी पनि केन्द्रीय क्याम्पस, पुल्चोकको प्राङ्गणमा सञ्चालन गर्न थालिएको सेसका सचिब अभिनय अधिकारीले बताए ।

यस प्रदर्शनीमा विभिन्न विधामा सिभिल इन्जिनियरिङसँग सम्बन्धित सामग्री तथा नयाँ प्रविधि तथा सोचहरूलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिनेछ ।

प्रदर्शनीमा विभिन्न सरकारी, गैर–सरकारी तथा निर्माण व्यवसायी संस्थाहरू लगायत थुप्रै परामर्शदाताहरूद्वारा आ-आफ्नो विषयसँग सम्बन्धित सामग्रीहरू देखाइनेछ। शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका घरको डिजाइन, नमुना र त्यसका लागि आवश्यक पर्ने प्रविधिहरू पनि आकर्षणका रूपमा रहनेछन् ।

यसबाहेक सडक विभाग, खानेपानी, सरसफाइ तथा ढल निकास विभाग, सिँचाइ विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागबाट पनि सामग्रीहरू प्रदर्शनीमा राखिने छन् । विद्यार्थी स्तरमा इन्जिनियरिङसँग सम्बन्धित नमुना मोडल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सेमिनार, सफ्टवेयर प्रतियोगिता, कंक्रिट मिक्स डिजाइन प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता, कविता प्रतियोगिता, विविध मनोरञ्जन लगायत अन्य थुप्रै जानकारीमूलक कार्यक्रमहरू प्रदर्शनीका आकर्षण हुनेछन् ।

वि.सं. २०६३ सालदेखि सुरू भएको यस प्रदर्शनी २०६३, ०६४, ०६५, ०६६, ०६८, ०७०, ०७२, ०७३ र ०७४ गरी नौं पटक सफलतापूर्वक सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष मात्रै करिब २० हजार भन्दा बढिको संख्यामा प्रदर्शनी अवलकोनकर्ताको उपस्थिति रहेको थियो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विज्ञ तथा विशिष्ट व्यक्तित्वहरूबाट थुप्रै जानकारीमूलक सामग्रीहरू प्रस्तुत हुने सेस नेपालका अध्यक्ष सुरेश चौलागाई उल्लेख गर्छन् ।

प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरूले विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाटका कार्यक्रम गर्ने, विभिन्न नाटक तथा नाच प्रस्तुत गर्ने समेत गर्दछन् ।

बिस्तृत जानकारीका लागि :

Website : www.cess.pcampus.edu.np
Mail : [email protected]

यो पनि पढ्नुहोस् :

नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न (फोटोफिचर सहित )

 

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्