Logo

राजश्व असुलीमा वृद्धि



Spread the love

११ माघ, दाङ – आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ ।

 

रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् रु सात करोड ८१ लाख ८३ हजार बढी राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, सङ्कलन भएको राजश्वमा आयकरतर्फ रु ४६ करोड १० लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३३ करोड ४६ लाख ३८ हजार, घर बहालतर्फ रु तीन करोड ३६ लाख ५८ हजार रहेको छ ।

त्यस्तै अन्तःशुल्क करतर्फ रु २० करोड ३७ लाख ७३ हजार, ब्याज करतर्फ रु एक करोड ३० लाख ५५ हजार, शिक्षा शुल्क करतर्फ रु ६९ लाख २८ हजार र स्वास्थ्य सेवा करतर्फ रु २५ लाख ४२ हजार राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत लीलाप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, “पुरानो बक्यौता असूलीका साथै कर परीक्षण र कर अनुसन्धानमा पछिल्लो समयमा गरिएको वृद्धिले पनि करको दायरामा वृद्धि भएको छ र यसबाट हामी लक्ष्यभन्दा बढी कर उठाउन सफल भएका छौँ ।

त्यसैगरी विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलनमा वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्र्नुले पनि राजश्व सङ्कलन बढेको उनको भनाइ छ ।

कार्यालयले आगामी दिनमा राजश्व असूली एवं धेरै भन्दा धेरै क्षेत्रलाई करको दायरामा ल्याउन आफ्ना गतिविधि केन्द्रित गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृत शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्