Logo

बिन्दास निरौला बाजे



Spread the love

साढे ४ फिट जतिको ज्यान। हल्का चाउरी पर्दै गरेको अनुहार। शिरमा खिस्स परेको ढाँका टोपी। हिँडाइमा आफ्नै मनमगन अन्दाज। अनि, मन्द मुस्कानले सजिएको ओठमाथि उही सिग्नेचर जुँगाको ताउ। अर्थात् वर्षौदेखि पुल्चोक क्याम्पसका गोरेटोहरूमा आफ्नो बुढ्यौली कायामा तन्नेरी रस लिएर हिँडिरहेका एक हस्ती। मिस्टर विश्वनाथ निरौला उर्फ निरौला बाजे। नाम तो सुना ही होगा ?

पुल्चोक क्याम्पसमा पढेका तर निरौला बाजेलाई नचिनेका इन्जिनियर सायदै होलान्। सिभिल र आर्किटेक्चरका लागि सर्भे-ल्याब-ब्वोए। होस्टेल बसेकाहरूका लागि अन्नदाता-खाजादाता। पुल्चोक ग्राउण्डतिर गइरहने खेलाडीहरूका लागि ‘निरौला स्टोर’का एक मात्र मालिक। अनि, रहेका सबैका लागि एक हल्कारा। एक बिन्दास बाजे। काका, सर अनि कसै-कसैको त दाइ पनि।

उनी देख्दा जति बिन्दास देखिन्छन्, त्यो भन्दा कैयौँ ज्यादा रसिला पनि छन्। उमेरले साठी हान्न थाले तापनि, उनी अझै कुरकुरे इन्जिनियरहरूका जिग्री भएर हिँड्छन्। हत्तपत्त कसैको मन दुखाउँदैनन्। तपाईँ जस्तो हुनुहुन्छ, उनी हुबहु त्यस्तै भएर प्रस्तुत भइदिन्छन्। उरन्ठेउला केटाहरू माझ गए, ठट्यौला कुरा। सिरियस मान्छेसँग भए, उस्तै गम्भीर कुरा। कुराका बिच-बिचमा टुच्च-टुच्च अङ्ग्रेजी वाक्यहरू नआए त, के-को निरौला फ्लेवर ?

सर्भे विभागमा भेट्दा,

”ह्वाट डु यु निड ?”

”ओके ! ओके !!”

सर्भे गरिरहेको भेट्दा,

“डु फास्ट, डु फास्ट !”

पसलमा भेट्दा,

”दही मात्रै खाएर हुन्छ ? बनाना खाओ, ज्यान बनाओ ।“

होलसेलमा, बिल्कुलै मिठा छन्, निरौला बाजे। ‘निरौला स्टोर’का स्याउ-केरा-खरभुजा-फ्रुटी र बेकरी भन्दा पनि बेहद मिठा।

उनको यहीँ अन्दाज कै कारण झन्डै ३ दशक लामो पुल्चोक क्याम्पसको बसाइँमा पनि कसैसँग त्यस्तो मनमुटाब, झगडा या भनाभन हुन पाएन उनको। यस्तै रस-रमाइलो मै बिते उनका पुल्चोकियन दिनहरू।

किनकिन मलाई चैँ सधैजसो लागिरह्यो, जो मान्छे हरदम हँसिलो-रसिलो भएर हिँडिरहेको देखिन्छ। पक्कै उसको जीवन कथा उस्तै दर्दनाक पनि अवश्य हुन्छ नै। जुन दर्द, अक्सर मुस्कुराइरहेका ओठहरूको छाँयामा कहीँ लुकिरहेको हुन्छ। यस्तै लागिरह्यो मलाई, निरौला बाजेलाई देख्दा पनि। त्यसैले पनि खुब हौसिए म, उनको कथा सुन्न र तपाईँलाई सुनाउन।

नयाँ वर्षको दिन। बिहानको दश बजे। बुढा, सर्भे विभागमा टुसुक्क बस्न भ्याइसकेका रैछन्। खुसुक्क बोलाए। लुसुक्क आए। हल्का डिटेल बताएपछि, उनी खिस्स हाँस्दै तयार भइहाले। आफ्नो कथा सुनाउन। त्यसैले लाग्यौँ हामी सरासर, एउटा दामी लोकेसन खोज्दै तल ग्राउण्डतिर।

यसो हेर्दा, जिरो इनर्जी हाउसको साइडमा साइत जुर्‍यो। मन्द-मन्द घाम। सिमेन्टको पेटी। ढिला नगरी ब्यागको रेकर्डर छेउमा राख्दै सुरु भए, उनीसँग गफ्फिन।

अनि, लाग्यौँ हामी सरासर, मस्तमौला निरौला बाजेको बर्थप्लेस उर्फ जन्मथलो ‘पूर्व-खोटाङ’तिर।

ooo

२०१७ साल। खोटाङ ऐंशेलुखर्कको एक ब्राह्मण परिवारमा उनी जन्मिए। जन्मिएको ९ महिना मै आमाको स्वर्गवास हुन पुग्यो। उनको अबोध भाग्यबाट भगवानले आमाको ममतालाई जन्मँदै सदासदाका लागि पूर्णविराम लाइदिए। ९ महिने अबोध निरौलालाई बाउले मामाघरमा पठाएर, आफूले भने तुरुन्तै अर्को बिहे गर्न तिर लागे। बाउ भएर पनि उनी, झन्डै टुहुरा जस्तै बन्न पुगे।

खोटाङबाट विराटनगर बसाई सर्ने क्रममा, मामाले उनलाई पनि आफूसँगै लगे। मामाघरमा उनी घरायसी काम सबै गर्थे। त्यसबापत उनलाई स्कुल पनि भर्ना गरिएको थियो। पछि बिस्तारै उनले अरूको घरतिर पनि खाना पकाउने, कपडा धुने, सरसफाइ गर्ने जस्ता थुप्रै काम गरेर जीविका चलाउन थाले। पुग अपुग, जाडो गर्मी जसोतसो सहँदै उनले जिन्दगीको स्टेरिङ घुमाइरहे। बिस्तारै उनीमाथि जबर्जस्ती आत्मनिर्भर हुनुपर्ने भार पनि आइसकेको थियो।

बिहान-साँझ सबै काम भ्याएर पनि उनी जसोतसो स्कुल पनि गइरहेकै थिए। तर, गाह्रो भने निकै थियो। उनको सबै परिस्थिति डामाडोल थियो। सुरुसुरु पढ्न पाउने त कुरै थिएन। फलतः उनी बिल्कुल सन्तुष्ट थिएनन्, आफ्नो दैनिकीदेखि। दैनिकीले डोर्‍याइरहेको, त्यो सुदूर जिन्दगीदेखि।

यस्तैमा एक दिन, सपनाको बिटो रहरको नाम्लोमा बोकेर १८ वर्षका तन्नेरी निरौला काठमाडौँतिर हान्निए। डा. डी.पी रिजालको घरमा घरेलु कामदारको रूपमा उनी पुरानो बानेश्वर र ताहाचलमा झन्डै २-३ वर्षसम्म खटिएर काम गरे। त्यहाँ काम गर्दा उनी कहिल्यै समयमा स्कुल जान पाउँदैनथे। सधैँ कामको लोड। जहिल्यै भ्याइ नभ्याइ। तैपनि उनी बिना कुनै गुनासो सधैँ इमानदारीका साथ काम गर्दै पढ्दै गरिरहे। त्यहाँ छोडेपछि उनले केही समय ताहाचल कै एउटा रेस्टुरेन्टमा पनि काम गरे। तर अहँ ! उनको मन पटक्कै माने पो।

हरेक दिन जब उनी सबै कामधन्दा सकेर सुत्न थाल्थे, तब एकाएक उनलाई आफ्नो जिन्दगी अलि बेवारिसे लाग्न थाल्यो। कहिले यता, कहिले कता। हुबहु हावामा उडिरहेको चराको प्वाँख जस्तै। जिन्दगीलाई अलि निश्चित दिशातिर लैजानु पर्छ भन्ने उनलाई लाग्दै गयो। त्यसैले उनी, काठमाडौँ मै बस्दै आइरहेका ठुलीआमाका छोरासँग भेट्न गए। गज्जब भयो। तिनै दाइ र भाउजूको भनसुनको भरमा ३९ सालमा उनी पुल्चोक क्याम्पस छिरे। पियनको अस्थायी जागिरमा।

ठ्याक्क १० बजे पुल्चोक क्याम्पस। दिनभरि पियनको जागिर। अनि, साँझ परेपछि पाटन स्कुलको ‘नाइट क्लास’। ८ देखि एस.एल.सी सम्म उनी यसै गरी पढे। बानेश्वरको डेराबाट शंखमुल हुँदै टिर्लिङ-टिर्लिङ साइकलको घण्टी बजाउँदै निरौला बाजेका दिनहरू जसोतसो बितिरहे। ३०० को जागिर, ३० रुपियाँ कोठा भाडा। खाना-बस्न-पढ्न जेहोस् पुर्‍याइ रहेकै थिए उनले।

साइकलसँग उनको निकै करिबको सम्बन्ध रह्यो। बानेश्वर-शंखमुल-पाटन-पुल्चोक क्याम्पसका गोरेटोहरूमा लाखौपल्ट गुडे उनको साइकलका पाङ्ग्राहरू। त्यति बेला शंखमुलमा काठको पुल थियो रे। एक दिन उनी हतार हतार बानेश्वरबाट पुल्चोक आउँदै थिए। एकाएक उनको साइकल काठको पुलबाट फुत्किन पुग्यो। सिधै तलको सिस्नुघारीमा। बिचरा ! निरौला बाजे। धेरैबेरसम्म पनि उनको शरीरमा करेन्ट बगिरह्यो। त्यो पल सम्झिदा अहिले पनि खुबै हाँसो लाग्छ उनलाई।

त्यो समय उनी अहिलेजस्तो चटपटे मान्छे कहाँ थिए र ! मन भने त्यो बेला पनि निश्चल नै थियो उनको। हत्तपत्त कसैको कुभलो नचिताउने, कसैको मन नदुखाउने। पुल्चोकका इन्जिनियर ठिटाहरू उनका गुरु थिए। उनलाई कक्षामा नजानेका-नबुझेका कुरा सबैजनाले मजाले सिकाइदिन्थे। बदलामा उनी बस् ! फिस्स मिठो मुस्कानले धन्यवाद टक्राइदिन्थे।

पाटन स्कुल पढ्दाताका साथीहरूसँग फिल्म हलतिर नि खुब गए उनी। अशोक हल, रञ्जना हल, पशुपति हल, विश्व ज्योति हल कहाँ मात्र पुगेनन् उनी। एकचोटी त के भए छ भने। साथीसँग उनी भक्तपुरमा ‘अच्छा बुरा’ फिल्म हेर्न जाने भए। त्यति बेला ट्रलिबसको जमाना। जाँदा ट्रलिबस चढेर नाइट सो हेर्न भनी केटाहरू हिँडे। तर फर्किँदा चिल्लै। पैसा जति सब चिलिम, आए केटाहरू लुरुलुरु हिँड्दै भक्तपुर दरबार स्क्वाएरबाट बानेश्वरसम्म। राजेश खन्ना, दिलीप कुमार उनका मनपसन्द हिरो थिए त्यो बेला। तर अहिले दशकौँ भइसक्यो, उनी फिलिम हेर्न हलमा नगएको। कस्ता भए हल, कस्ता चलिरहेछन् फिलिम ! उनी अनजान छन् हिजोआज।

तिनचोटिको प्रयासमा एस.एल.सी सक्काएपछि उनले पियनको जागिर छोड्दिए। बरु बेरोजगार बसे केही महिना। तर जागिर खाएनन्। अन्ततः क्याम्पसले एक दिन ‘सर्भे ल्याब ब्वाइ’को माग गर्‍यो। उनले परीक्षा दिए, पास पनि भए। सरकारी जागिर पक्का। केही वर्षमै पुल्चोक क्याम्पसमा होस्टेल सुरु भयो। होस्टेल वार्डेनसँगको नजिकको सम्बन्धका कारण उनले पनि एउटा सानो कोठा पाए। जिन्दगी झन् सजिलो भयो। निरौला बुढा मक्ख।

यस्तैमा एक दिन गाउँको एउटा दाइ भेटियो। उसले जवान निरौलालाई बिहे गर्ने सल्लाह-सुझाव दियो। अझ हुँदाहुँदा बिहेका लागि केटी पनि उसैले खोज्दिने र कुरा पनि फिक्स गर्दिने भयो। बस् निरौलाले ‘हुन्छ’ भन्दिए भो। मिस्टर निरौला मक्ख।

वर्षौपछि उनी गाउँको बाटो लाग्ने भए। त्यो पनि बिहे गर्न। केटी को हो ? कस्ती छ ? केही थाहा नपाएरै बिहेको साइत पक्कापक्की भयो। बिहे पनि भयो। हल्का-फुल्का खर्चमा ‘गाउँले बिहे’ गर्दै उनले नव दुलही बज्यैलाई पनि लिएर फेरी काठमाडौँ फर्किए। आफू अलि होचो भए पनि, दुलही अग्ली-राम्री पाएकोमा मनमनै उनले भगवानलाई र त्यो लमीलाई पनि धन्यवाद भन्न भ्याए।

जसोतसो गुडिरहेको दुई पाङ्ग्रे ‘निरौला जिन्दगी’मा अब थप दुई पाङ्ग्रा पनि थपिन आइ पुगे। अलि बढी जिम्मेवार महसुस हुन थाल्यो। दुबै जना मिलेर अगाडि बढ्दै गए। निरौला दम्पतीले के मात्र गरेन होला। क्वाटर अगाडि डालोमा पसल थापेर बसेन कि ! क्यान्टिन चलाएन कि ! क्याम्पसको पानी मर्मतमा काम गरेन कि ! निरौला बाजेको जागिर त भइहाल्यो नै। जे काम भेटियो, त्यसकै भरमा खुट्टा टेक्दै हिँड्दै गरिरहे उनीहरू। कोठामा चोर पस्दाका ती दयनीय पलहरू, छोराछोरी हुर्काउँदाका ती गरिबी दिनहरू अनि अरूबाट हेपिँदाका सबै विगत सम्झिदा निरौला मन अझै पनि अमिलो भएर आउँछ।

छोरा नाति समानको मतिर हेर्दै उनले भने,”हेर भाइ ! लाइफ त सब एक्सपेरियन्स रहेछ। सुन्नुन, आफू इमानदार, लगनशील अनि सफा मनको भयो भने भगवानको पनि केही नलाग्दो रैछ। जिन्दगी आफ-से-आफ आफ्नो आकारमा ढलिहाल्दो रैछ।“

हुन पनि। अहिले उनीसँग के छैन ? दुइटा छोरा इन्जिनियर, पुल्चोक क्याम्पस बाटै। एउटी छोरी पनि इन्जिनियर, सबै पैसा कमाउने तरखरमा। भक्तपुरमा एउटा सानो घर पनि। यसमा उनी आफ्नी अर्धाङगिनी अर्थात् मिसेस निरौलालाई पनि उत्तिकै श्रेय दिन्छन्। उनी त्यतिको आँटिली, सहयोगी, इमानदार नभइदिएको भए, शायद यी दिन देख्न उनलाई अवश्य पनि मुस्किल पर्ने थियो।

यसो सम्झिँदा, उनको न बचपन नै बचपन जसरी बित्यो, न त जवानी। कसैलाई राम्ररी प्रेम नगरीकनै उनको जवानी गयो। एककिसिमले उनी उमेरमा त कहिल्यै बिन्दास हुन पाएनन्। अभाव र परिस्थितिको परिधिबाट उम्किन खोज्दा-खोज्दै समय कतिबेला बुढो भयो, उनले चालै पाएनन्।

ooo

जेहोस् ! निरौला बाजे अचेल बिन्दास छन्। हरेक दिन आफ्नो क्युट ज्यानमा दुई हात पछाडि राख्दै पुल्चोकका गोरेटोहरूमा ढलक-ढलक ढल्किरहन, उनले भ्याकै छन्। सर्भे ल्याब पनि भ्याकै छन्। पसल पनि भ्याकै छन्। गफ गर्न नि भ्याकै छन्। “ए केटा हो ! लु अब इन्सट्रुमेन्ट बुझाइहाल त” भन्दै कराउन पनि भ्याकै छन्। “यी आजकालका लड्कीहरू त के भाका हुन हो, केरा भनेसी खाली नाक खुम्च्याएर हिड्छन् त !” भन्दै छिल्लिन नि भ्याकै छन्।

यही दशैमा बुढाले जीवनमा पहिलोपल्ट प्लेनको सफर गर्न नि भ्याएछन्। दशैं अफरको सुनौलो मौकामा। बाठा बुढा ! हिजोआज आइफोन फाइभको मोबाइलमा छोरीले खोल्दिएको फेसबुक पनि चलाउन थालेका छन्। कुरैकुरामा मोबाइल झिकेर मलाई टुच्च देखाउन पनि भ्याए उनले। तर अफसोस ! खै किन हो, बुढाले उहिल्यै पठाएको मेरो रिक्वेष्ट भने पटक्कै एसेप्ट गरेनन्।

खैर ! निरौला बाजे पुल्चोक क्याम्पसका एक हल्कारा हुन्। एक अविस्मरणीय हस्ती। यस्ता हस्ती, जसलाई क्याम्पसको फोहोरी राजनीति फिटिक्कै मन पर्दैन। विद्यार्थी राजनीति, शिक्षक राजनीति, कर्मचारी राजनीति। सबका सब उनलाई बेकार लाग्छन्। कम्तीमा क्याम्पसको हितका लागि भए पनि यी कम हुनुपर्छ रे। उनी चाहन्छन्, रिटायर्ड भएर बाहिर निस्किदा पनि मान्छेहरूलाई उनले, ‘आफूले त्यत्रो वर्ष काम गरेको क्याम्पसको बारेमा सुनाउँदा सदैव गर्व लागिरहोस्’। बस् ! उनको चाहना यत्ति हो। हुन पनि, जिन्दगीका अधिकांश सुस्केराहरू उनका, पुल्चोक क्याम्पस कै चार पर्खालभित्र त गुन्जिए। माया नलागोस् पनि कसरी !

यसो हेर्दा बाजे, उमेरमा काका तर कुरा सुन्दा अझै लक्का जवान। अर्थात् हामी सबैका प्रिय मिस्टर विश्वनाथ निरौला सधैँ यस्तै बिन्दास भैरहून्। पुल्चोक क्याम्पसका रुमानी यादहरूमा उनको तस्बिर कहिल्यै फिका नलागोस्। उनी यसै गरी रंगीरहून्, जिन्दगीको क्यानभासमा। वर्षौपछि क्याम्पस छिर्दा पनि, यतै कतै उनी यसै गरी केही थान अल्लारे इन्जिनियरहरूमाझ बसेर यसो टुच्च दिइरहेकै भेटिउन्। या भनौ, जहाँ होउन्, यस्तै मस्तमौला भैरहून्।

जय !

निरौला बाजे,

चियर्स जिन्दगी !!!

ooo

ooo

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्