Logo

घुम्ती शिविरबाट १०१ वर्षीय वृद्धाले लिइन गुल्मीमा नागरिकता



Spread the love

जिल्ला प्रशासन कार्यालय गुल्मीले सञ्चालन गरेको घुम्ती शिविर निकै फलदायी बनेको छ ।

प्रशासन कार्यालय गुल्मीले यही फागुन २२ र २३ गते जिल्लाको विकट मानिने कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट १०१ वर्षीय वृद्धा पविदेवी थापाले नागरिकता लिएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तथा घुम्ती सेवा शिविरको नेतृत्व गरेका लक्ष्मण पाण्डेले दिएको जानकारी अनुसार उक्त शिविरबाट ५ सय ३५ जनाले नागरिकता लिएका छन्, जसमा पुरुष २ सय १९ र महिला ३ सय १६ जना रहेका छन् ।

साथै १ सय ४२ जना महिला र १ सय २८ जना पुरुष गरी २ सय ७० जनाले मतदाता परिचयपत्र लिएका छन् । १ सय ३३ जनालाई कृषि सम्बन्धी परामर्श दिँदा ३ सय जना किसानलाई निःशुल्क बिउबिजन वितरण गरिएको थियो ।

जिल्ला अस्पताल गुल्मीको सहकार्यमा २ सय ३४ जना बिरामीको चेक जाँच गरिएको थियो भने करिब ६० हजार बराबरको औषधी नि:शुल्क वितरण गरिएको बताइएको छ ।

त्यस्तै नेपाल टेलिकम गुल्मी शाखाबाट १ सय ८० वटा नि:शुल्क सिम वितरण गरिएको थियो । साथै घरेलु उद्योग अन्तर्गत १५ वटा घरेलु उद्योग दर्ता, १० वटा नवीकरण र ३५ वटा घरेलु उद्योगलाई परामर्श दिइएको थियो । भने ३९ हजार ७ सय ५० रकम बराबर राजस्व सङ्कलन भएको थियो ।

गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका मध्ये सबैभन्दा विकट मानिने कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको यो शिविर निकै फलदायी देखिएको छ ।

यस ठाउँबाट सदरमुकाम तम्घास आउन छिमेकी जिल्ला पाल्पा, स्याङजा हुँदै आउनुपर्ने बाध्यता रहेको छ भने करिब ७ घण्टा सदरमुकाममा आउन मात्र समय खर्चिन पर्न हुन्छ । त्यस्तै एक जना व्यक्तिको सदरमुकाम आउँदा जाँदा न्यूनतम ५ हजार खर्च हुने गरेको र यो शिविरले त्यस क्षेत्रका जनताको करिब २७ लाख रकम बचत गरेको अनुमान छ ।

छोटो समयमा धेरै सेवा सुविधा प्रदान गर्न पाएकोमा आफूहरूलाई धेरै खुसी लागेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तथा घुम्ती सेवा शिविरको नेतृत्व गरेका लक्ष्मण पाण्डेले सल्लेरी खबर सँगको कुराकानीमा बताए । पाण्डेले भने “हामीहरूले बिहान ७ बजे देखि साझा ८ बजे सम्म सेवा प्रदान गरेका थियौ ।”

शिविरमा सेवा लिनेको चाप बढेको हुँदा निर्धारित समय भन्दा अर्को दिन अर्थात् फागुन २४ गते पनि सेवा प्रदान गरिएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्