Logo

रेसुङ्गामा कृषि बजारीकरणको जिम्मा नगरपालिकाले लिन्छ : मेयर डिल्लीराज भुसाल



Spread the love
फाइल तस्बिर

गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रका किसानले उत्पादन गरेका कृषि उपजको जिम्मा लिने भएको छ । किसानहरूले उत्पादन गरेका कृषि उपजले बजार नपाएको गुनासो आएपछि नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको जिम्मा लिने प्रतिबद्धता जनाएको हो ।

मङगलवार नगरपालिकाले किसान र व्यापारी बिच छुट्टाछुट्टै छलफल समेत गरेको गरेको थियो । किसानसँग भएको छलफल कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले भने “किसानले उत्पादन गरेका सबै कृषि उपजको जिम्मा नगरपालिकाले लिन्छ, तपाइहरू निर्धक्क भएर उत्पादनमा लाग्नुहोस् । नगरपालिकाले किसानको बारीबाटै बिक्री वितरणको व्यवस्था मिलाउँछ ।”

सदरमुकाम तम्घासमै हाटबजार नहुँदा यस क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफुलले उचित बजार मूल्य पाउन सकिरहेको छैन भने विचौलियाका कारण आम उपभोक्ता र किसान समस्यामा पदै आएका थिए । अब नगरपालिकाले हाटबजार वा कृषि सङ्कलन केन्द्रको माध्यमबाट कृषि उपजको व्यवस्थापन गर्नेछ ।

नगरपालिकाको प्रतिबद्धता प्रति किसानहरू हर्षित भएका छन् भने प्रतिबद्धता कार्यन्वनमा शङ्का पनि व्यक्त गरेका छन् । विगतमा नगरपालिकाले गरेका काम प्रभावकारी नभएको र सदरमुकाम तम्घास जस्तो ठाउँमा समेत झन्डै ८,९ वर्ष देखी हाटबजार सञ्चालनमा आउन नसक्नुले आफूहरूलाई कार्यन्वनमा शङ्का लागेको किसानहरूले बताएका छन् ।

त्यस्तै व्यापारी र नगरपालिका बिचको छलफलले किसानले उत्पादन गरेका कृषि उपज कृषि सङ्कलन केन्द्रबाट खरिद गर्न सहमति भएको रेसुङ्गा नगरपालिकाले जानकारी दिएको छ ।
यस क्षेत्रमा आलु, टमाटर, प्याज, सुन्तला, कागती लगायतका तरकारी एवम् फलफुल उत्पादन हुँदै आएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्