Logo

काँग्रेस गुल्मीको जिल्ला सम्मेलन चैत १६ र १७ गते हुँदै



Spread the love

नेपाली काँग्रेस गुल्मीले प्रथम जिल्ला सम्मेलनको तयारीलाई यति वेला तीव्रता दिएको छ । नेपाली काँग्रेस गुल्मीले यही चैत १६ र १७ गते जिल्ला सम्मेलन गर्न लागेको नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।प्रथम जिल्ला सम्मेलनलाई ऎतिहासिक भन्दै निकै महत्त्व र चासोको रूपमा हेरिएको छ भने सम्मेलनबाट सिङ्गो काँग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन राष्ट्रिय रूपमै सन्देश प्रवाह हुने बताइएको छ ।
पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरूले हुन नसकेको बताउँदै अहिले काँग्रेसले ऐतिहासिक रूपमा प्रथम जिल्ला सम्मेलन गर्न लागेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले सल्लेरी खबरलाई बताए ।

उनले भने पार्टी सङ्गठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म पार्टी सङ्गठनलाई बलियो र सशक्तढङ्गले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने, काँग्रेसको पक्षमा आएको जनलहरको शक्ति प्रदर्शन गर्ने उद्देश्य रहेको भन्दै पार्टीलाई आगामी दिनहरूमा कसरी अगाडि बढाउन कस्तो खालको रणनीति बनाउने जस्ता कुराहरू जिल्ला सम्मेलनबाट तयार गर्ने सभापति श्रेष्ठलेको भनाई रहेको छ ।

गत फागुन २२ गते बसेको जिल्ला कार्य समितिको २७ औँ बैठकको निर्णय अनुसार यही चैत्र १६ र १७ गते हुन लागेको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको तयारीको लागि जिल्लाका १२ वटै स्थानमा पालिका स्तरीय भेला राखिएको नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले सल्लेरी खबरलाई जानकारी गराए ।ऐतिहासिक जिल्ला सम्मेलनलाई काँग्रेस केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, केन्द्रीय सदस्य गगन थापा, गुरु घिमिरे लगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने पार्टी सूचना तथा सञ्चार विभाग प्रमुख विष्णु कुमारी सापकोटाले जानकारी दिइएकी छिन् ।

सम्मेलनलाई भव्य रूपमा सम्मन्न गर्नको लागी नेपाली काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा पालिका स्तरीय भेला समेत सम्पन्न गरेको छ । ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको तयारीको लागि जिल्लाका गाउँपालिका तथा नगरपालिकामा भेलाको आयोजना गरिएको पार्टी उप–सभापति विष्णुप्रसाद बलालले जानकारी दिएका छन् ।

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाली काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्ला स्तरीय नेताहरूलाई प्रतिनिधिको रूपमा खटाएको थियो । चैत्र १ गते जिल्लाको रुरु गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको थियो । रुरु गाउँपालिकामा प्रतिनिधिको रूपमा सचिव खिलध्वज पन्थी त्यहाँ पुगेका थिए । चैत्र २ गते विभिन्न गाउँपालिका तथा नगरपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको हो ।

जसमा धुर्कोट गाउँपालिकामा प्रतिनिधिको रूपमा सभापति भुवनप्रसाद श्रेष्ठ स्वयम् आफैँ पुगेका थिए भने छत्रकोट गाउँपालिकामा उप–सभापति विष्णुप्रसाद बलाल, रेसुङ्गा नगरपालिकामा सचिव खिलध्वज पन्थी, मदाने गाउँपालिकामा सचिव विष्णु कुमारी सापकोटा, चन्द्रकोट गाउँपालिकामा श्रीप्रसाद भलामी प्रतिनिधिको रूपमा पुगेका थिए । ईस्मा गाउँपालिकामा जिल्ला सदस्य नारायण रिजाल, गुल्मी दरबार गाउँपालिकामा जिल्ला सदस्य झविन्द्र विश्वकर्मा प्रतिनिधिको रूपमा गएका थिए ।

त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकामा पार्टीले प्रतिनिधिको रूपमा महासमिति सदस्य तथा जिल्ला सदस्य छन्दबहादुर पहराई, कालिगण्डकी गाउँपालिकामा जिल्ला सदस्य अनन्तराम पौडेल, सत्यवती गाउँपालिकामा सह–सचिव गोपालप्रसाद पाण्डेय, मालिका गाउँपालिकामा जिल्ला सदस्य चन्द्रबहादुर महतलाई खटाएको छ । मुसिकोट नगरपालिकामा चैत्र ९ गते, कालिगण्डकी गाउँपालिकामा ४ गते, सत्यवती गाउँपालिकामा ९ गते र मालिका गाउँपालिकामा ९ गते भेला हुने बताइएको छ ।पार्टीको महासमिति बैठकका कारण केन्द्रीय नेताहरूको अनुपस्थित हुने देखिएपछि यसअघि गर्ने भनिएको सम्मेलन स्थगित भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्