Logo

सदरमुकामको सेवा गाउँ-गाउँमा



Spread the love

जिल्ला प्रशासन गुल्मीको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको सहआयोजनामा चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ४ शान्तिपुरमा २ दिने नि:शुल्क घुम्ती शिविर सम्पन्न भएको छ ।

चैत ८ र ९ गते गरी दुई दिन सम्म सञ्चालन गरिएको उक्त घुम्ती शिविर बाट वडा २ का ७५ बर्षीय दल बहादुर गुरुङले नागरिकता  लिएको जिल्ला प्रशासन गुल्मीका प्रशासकीय अधिकृत गोपाल पाण्डेले सल्लेरी खबरलाई जानकारी गराए । उक्त शिविर बाट ३ सय ३३ जनाले नागरिकता लिएका छन् । जसमा महिला २ सय २१ र पुरुष १ सय १२ जना रहेका छन् ।

त्यस्तै ३ सय ७३ जनाले फोटो सहितको मतदाता नामावलीको परिचय पत्र पाएका छन् भने कृषि ज्ञान केन्द्र गुल्मीबाट ३ सय ११ जनतालाई उन्नत बीउ बिजन वितरण गर्नुका साथै कृषि परामर्श दिइएको थियो भने जिल्ला अस्पताल गुल्मीको सहकार्यमा १ सय ३५ जना बिरामीको जाँच गरिएको थियो भने झन्डै ३३ हजार ७ सय ५० रुपैयाँ बराबर को नि:शुल्क औषधि समेत वितरण गरिएको थियो ।

त्यस्तै सोही शिविरबाट १० वटा नवीकरण र २९ वटा साना तथा घरेलु उधोग दर्ता गरिएको छ भने ८९ हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।

शिविरमा नागरिकता लिनेमा अपाङ्ग तथा अशक्तहरूको संख्या  पनि धेरै रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । शिविरको अन्तिम दिन ९ गते अर्थात् शुक्रवार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एकीकृत घुम्ती शिविर तथा त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयको अनुगमन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेल, चन्द्र कोण गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर  खत्री तथा सदरमुकामबाट गएको पत्रकारको समूह सहितको टोलीले शान्तिपुरमा रहेको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय साथै एसइई परीक्षा रहेका बिधालय का २ वटा केन्द्र, बजार तथा मजुवामा रहेको मालपोत कार्यालयको पनि अनुगमन गरेका थिए ।

अनुगमन पछि सल्लेरी खबर संँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भने “स्वास्थ्य चौकी निकै उत्कृष्ट रहेको छ, प्रहरी चौकी अलि जोखिममा रहेको छ, यसमा मेरो ध्यानाकर्षण भएको छ ।”  उनले सबै कर्मचारीलाई जनताको मन जित्ने गरी काम गर्न समेत सुझाव दिएका थिए ।

सोही अवसरमा सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख दिनेश रायमाझीले चन्द्रकोट बहुमुखी क्याम्पसका विधार्थीलाई विपद व्यवस्थापन तथा लागू औषध नियन्त्रणको बारेमा प्रशिक्षण समेत दिएका थिए । सशस्त्र प्रहरी गुल्मीले जिल्ला का ३२ वटा स्थान मा ३५ सय भन्दा बढीलाई विपद व्यवस्थापन तथा लागू औषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको प्रमुख दिनेश रायमाझीले सल्लेरी खबरलाई बताए ।

केही समय अघि जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाको विकट मानिने कालीगण्डकी गाउँपालिकाका काम एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी १ सय १ वर्षीया वृद्धा सहित ५ सय ३५ जनालाई नागरिकता प्रदान गरेको थियो । आगामी दिनमा जिल्लाको मदाने गाउँपालिका र मालिका गाउँपालिकामा शिविर सञ्चालन गर्न योजना रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्