Logo

काठमाडौँ महानगरपालिका भित्रका सडकहरु अब धूलोमुक्त हुने



Spread the love

चैत १३ ,काठमाडौँ।
आधुनिक प्रविधियुक्त ‘ब्रुमरबाट’ शहरका सडक सरसफाई अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको छ । जसको सुरुवात मङ्गलबार काडमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरे ।यो अभियानसँगै काठमाडौँ बु्रमरले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले गर्दा महानगरबासीको स्वास्थ्यका साथसाथै सम्पदाहरुमा समेत असर पुगेको थियो ।
‘हेर्दा सानो लाग्न सक्छ तर यसलाई साकार बनाउन युद्ध जिते भन्दा कम गाह्रो भएन ‘ अभियानको सुरूवात गर्दै उनले थपे ‘शंका उपशंकाका कारण ब्रुमर आउनै दुईवर्ष लाग्यो । तर अब भने ब्रुमरले धूलोका साना कण समेत बटुल्ने भएकाले अभियान साकार हुने विश्वास व्यक्त गरे ।

चिल्लो सडकमा मात्र धूलो उठाउन सक्ने मेसिन भएकाले सडक विभाग र मेलम्ची खानेपानी आयोजनालाई भत्काइएका खाल्डाखुल्डीलाई तत्काल पुरिदिन विद्यासुन्दर शाक्यले आग्रह गरे । इटालीबाट ल्याइएका पाँचवटा ब्रुमरले मङ्गलबार रातिदेखि शहर सफा गर्ने थालिएको छ । राजधानीका सडकलाई महानगरपालिकाले पाँचवटा रुटमा विभाजित गरी सफाई अभियान सुरु भएको छ ।

ब्रुमर रुट नम्बर १:

टेकु, सोल्टीमोड हुँदै कलंकी त्यसपछि फर्केर त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल पुग्नेछ । र त्यस्तै, घण्टाघर, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, नारायण गोपालचोक हुँदै फर्केर घण्टाघर, भद्रकाली, शहीद गेट सुन्धारा पुग्नेछ ।

रुट नम्बर २:

मा टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सफा गर्नेछ भने फर्केर कोटेश्वर, पेप्सीकोला, नयाँबानेश्वर, बबरमहल, त्रिपुरेश्वरहुँदै कालीमाटी बल्खुसम्म सफा गर्नेछ ।

रुट नम्बर ३:

टेकु त्रिपुरेश्वर, सुन्धारा ,भोटाहिटी, विश्वज्योति हुँदै पुतलीसडक क्षेत्र हुदै कमलादी , हात्तीसार, दरबारमार्ग हुँदै केशरमहलबाट लैनचौरको खानी तथा भूगर्भ विभाग पुगेर उत्तरी गेट हुँदै बालुवाटर पुग्नेछ र फर्कंदा बालाजुबाट इन्द्रायणी हुँदै नरदेवीबाट टेकु निस्कनेछ ।

रुट नम्बर ४:

पुतलीसडक ,कमलपोखरी, मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल हुँदै गौशाला चाबहिल क्षेत्र सफा गर्ने छ ।

रुट नम्बर ५:

बु्रमरले टेकुबाट न्यूरोड, वसन्तपुर हुँदै ठमेल पुगेर धूलो सफा गर्नेछ र बाँकी रहेका दक्षिणढोका, बागबजार, डिल्लीबजार, प्रदर्शनीमार्ग, पुरानो बसपार्क क्षेत्रको धुलो उठाउनेछ ।

प्रतिघण्टा दश किलो मिटर दूरीका दरले सडक सफा गर्ने छ । सरकार र महानगरपालिकाको संयुक्त पहलमा दश करोड लागतमा पाँचवटा ब्रुमर खरिद गरिएको हो भने चीनबाट समेत थप दुईवटा ब्रुमर ल्याउने तयारी भइरहेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ,वातावरण विभाग प्रमुख लगाएत विभिन्न निकायका व्यक्तिहरुले खुलेर काठमाडौँ शहरलाई धुलोमुक्त बनाउने अभियानको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्