Logo

नेपाली सेनामा महिलाको आकर्षण बढ्दो



Spread the love

काठमाडौँ , चैत१४ गते  ।
यही चैत १ गते नेपाली सेनाले अधिकृत क्याडेट छनौटको अन्तिम नतिजा प्रकासित गर्यो । जसमा दुई सय अधिकृत क्याडेट मागिएकोमा १ सय ५६ जनाले मात्र नाम निकाल्न सफल भए।

सेनामा सिपाहीदेखि प्राविधिक सहायक रथी गरी ४ हजार ५ सय ११ महिला छन्। अधिकृत र माथिल्लो पदमा ४ सय ५८ जना महिला छन्। सेनाले भर्नामा २० प्रतिशत महिला कोटा छुट्याउँदै आएको छ र शारीरिक परीक्षामा समेत महिलाहरूलाइ केही छुट दिइएको छ।

महिला, आदिवासी, जनजाति, मधेसी, दलित र खुलामा संख्या तोकेर विज्ञापन गरिएकामा महिलाले मात्र कोटाअनुसार नाम निकालेका थिए। १८ जनाको कोटाबाहेक अन्य समूहबाट थप ६ जना महिला थपिए।
यो तथ्यांकले के देखाउँछ भने नेपाली सेनामा महिलाको आकर्षण बढेको मात्र छैन उनीहरू यहाँ आफ्नो क्षमता समेत प्रस्तुत गर्दै आइरहेका छन् ।

अधिकृत क्याडेटका लागि पुरुषले १५ पटक ‘सिटअप’ गर्नुपर्छ भने महिलाले ८ पटक गरे पुग्छ। पुरुषले १० पटक ‘पुसअप’ गर्नुपर्छ भने महिलालाई ५ पटक गर्नुपर्छ। पुरुषले ५५ सेकेन्डमा पूरा गर्नुपर्ने ३ सय मिटर दौडमा महिलाका लागि ६५ सकेन्डको प्रावधान छ। पुरुषले दुई माइल दौड १६ मिनेटमा पूरा गर्नुपर्छ भने महिलाले २१ मिनेटमा पूरा गरे पुग्छ।

अहिलेसम्म महिलाहरू सेनाको प्राविधिक सहायक रथीसम्म पुगेका छन्। दुई जना मात्र महिला सहायक रथी छन्। अब भने महिलाहरूका लागि प्रधानसेनापतिसम्मै पुग्ने बाटो खुला भएको छ।

नेपाली सेनाकी सेनानी सुलोचना पौडेल प्रधानसेनापतिका लागि हुने सबै प्रक्रियामा पुरुषसरह भाग लिएकी छिन्। प्रधानसेनापति बन्न स्टाफ कलेज पास गर्नैपर्ने व्यवस्था सेनामा छ। यसअघिसम्म महिलाहरू स्टाफ कलेज परीक्षामै सहभागी थिएनन्। सुलोचना सेनामा अति महत्वपूर्ण मानिने स्टाफ कलेज पास गरेकी पहिलो र एक्ली महिला हुन्। अब अन्य अफिसर महिलाले पनि स्टाफ कलेजका लागि प्रतिस्पर्धा गर्न पाउँछन्।

‘अहिले त महिलाप्रति धारणा बद्लिएको छ। घरभित्र मात्रै किन बस्ने, महिलाहरू पनि देश विकासमा सहभागी हुन सक्छन् भन्ने सोच बढेको छ,’ सुलोचनाले भनिन्, ‘सैनिक सेवा कठिन हो तर असम्भव छैन। सेनामा आउने इच्छाशक्ति छ भने मिहिनेत गर्नुपर्छ, सफल भइन्छ।’

प्रतिक्रिया दिनुहोस्