Logo

साम्बाले महिला फुटबलमा सफल खेलाडीको परिचय बनाए



Spread the love

चैत १५, २०७५।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फुटबलमा साम्बाको उपनामबाट चिनिन्छिन्। गत फागुन २८ देखि चैत ८ गतेसम्म भएको साफ च्याम्पियनसिप महिला फुटबलमा साम्बाले ४ गोल गरिन्। भारत विरूद्धको फाइनल खेल नेपालले ३-१ ले गुमायो तर नेपाली फुटबल टोलीकी ‘गोल मेसिन’ साम्बाले अहिलेसम्म २६ अन्तराष्ट्रिय गोल गरिसकेकी छिन् ।

महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाई सकेकी छिन् तर उनको फुटबल यात्रा भने सहज रहेन।लमजुङमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै धेरै संघर्ष गर्नुपर्‍यो। स्कुलका केटाहरुसँग फुटबल खेल्दा परिवारको गाली, आमाको पिटाइ र बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश समेत पालना गर्नुपर्‍यो। तर उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलले आफ्नो फुटबल खेलाडी बन्ने सपनालाई जीवित बनाई राखिन् ।

साम्बाका चार दिदीबहिनी र दुइ दाजुभाइ छन् । साम्बाको लागि फुटबल जर्सी किन्नु सपना थियो। उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा नखाएर फुटबल खेली रहिन केटाहरूसँग।

‘चप्पल लगायो भने च्यातिन्थ्यो’, साम्बा ती दिन सम्झँदै भन्छिन्, ‘मम्मीले कराउनुहुन्थ्यो। त्यसैले खाली खुट्टा खेiल्थें।‘म छोरी मान्छे हो लजाएर हिँड्नुपर्छ, फ्रक लगाउनुपर्छ, लजालुपन हुनुपर्छ भन्ने मेरो मन मस्तिष्कमा आएन पनि’, साम्बा सम्झिन्छन्। केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।’परिवारबाट दबाब थिएन’, साम्बा भन्छिन्, ‘पढाइ र खेलकुद दुबै राम्रो हुँदै गयो।’साम्बा ब्वाइज कट हेयर स्टाइल राख्छिन्। कतिपयले उनलाई केटा भन्ठान्छन्। ‘भाइ भन्छन्’, साम्बा भन्छिन्, ‘मान्छेहरू कहिलेकाहीँ झुक्किन्छन्।’फुटबलमा मात्र नभएर जिल्ला स्तरको दौडमा र भलिबलमा सिल्भर मेडल समेत ल्याएको साम्बाले छिमेकीको मुख टालिन्।

२०७१ साल सावित्राका लागि टर्निङ प्वाइन्ट रयो। लमजुङकै घले गाउँमा आयोजना भएको फुटबल प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै सबैभन्दा धेरै ९ गोल गरिन्।खेल हेर्न राष्ट्रिय रेफ्री शुक्र लामा घलेगाउँ पुगेका थिए। सावित्राको खेल देखेर शुक्रले उनलाई सशस्त्र प्रहरीको फुटबल टोलीमा आबद्ध हुने मौका मिलाइदिए। लामाले सावित्रालाई फोन गरेर सशस्त्र प्रहरी क्लबमा आउन सुझाव दिए।

वैशाखसम्म घलेगाउँको खेलमा खेलिरहेकी सावित्रा तीन महिनापछि सशस्त्र प्रहरीको एपिएफ क्लबमा महिला फुटबल खेलाडी बनिन्। उनलाई क्लबमा आफूलाइ प्रमाणित गर्ने थप चुनौती थपियो। तर मेहेनती साम्बाले हौसला गुमाइनन्।

सन् २०१४ उनका लागि खुसीको बाहर बनेर आयो । त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्यु खेलमै गोल गरिन् । त्यसलगतै एकाएक उनी गोल मेसिनको उपनाम बाट चिनिन थालिन् । साम्बालाई आफूले केही पाउने अपेक्षाभन्दा राष्ट्रका लागि केही गर्ने भोकले अझै सताइरहेछ।

प्रतिक्रिया दिनुहोस्