Logo

देउवाद्वारा गुल्मीको सम्मेलन उद्घाटन, कुन नेताले के भने ?



Spread the love

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन उद्घाटन गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा गुल्मीका गाउँ-गाउँबाट हजारौँ सङ्ख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरूले हुन नसकेको बताउँदै अहिले काँग्रेसले ऐतिहासिक रूपमा प्रथम जिल्ला सम्मेलन सुरु गरेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले सल्लेरी खबरलाई बताए ।

काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अर्को चुनावमा काँग्रेसले दुईतिहाई लिने दाबी गरेका छन् । कम्युनिष्टहरु तल देखि माथि सम्म भ्रष्टाचारमा डुबेको उनको आरोप छ । नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारीले कठै बराई भन्ने केपिलाई गुल्मेली जनताले खबरदारी गरेको बताउँदै सरकारको कामकारबाहीको चर्को आलोचना गरेकी छिन् ।

केन्द्रीय सदस्य सरिता प्रसाईले विप्लवलाई शान्ति प्रक्रियामा आउन आग्रह गरिन् । उनिले वर्तमान सरकार दलाल भएको आरोप लगाएकी छिन् । केन्द्रीय सदस्य डा डिला संग्रौलाले अब नेपाली काँग्रेसले लोकतन्त्रको विगुल फुक्ने र देशमा नयाँ ऊर्जा भर्ने बताएकी छिन् । त्यस्तै केन्द्रीय सदस्य धनराज गुरुङले भने “विप्लवले धम्काएर लुटेको छ भने सरकारले नेपाली जनता लुटेको छ ।” केन्द्रीय सदस्य दीपक गिरीले पार्टी एकजुट भएर लाग्नु पर्न र माला मात्रै लगाएर एकजुट नभइने भन्दै हृदय देखि मिल्नु पर्न बताए ।

त्यस्तै केन्द्रीय सदस्य भीष्मराज आङ्देलले दुईतिहाईको घमण्डले सरकार गहन नबनेको आरोप लगाए । केन्द्रीय सदस्य एनपी साउदले कम्युनिस्ट सरकारले राष्ट्रघात गरेको बताए । वर्तमान सरकारका कारण प्रहरी, सेनाको अवस्था खस्केको साउदले आरोप लगाए । अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार डुबेको र काण्डैकाण्डमा फसेको आरोप लगाए । केन्द्रीय सदस्य प्रकाश शरण महतले काँग्रेसले काम गर्न जानेको तर प्रचार गर्न नजानेको बताए ।

महामन्त्री शशांक कोइरालाले काँग्रेसमा अन्तरघात नहुने हो भने कसैले पराजित गर्न नसक्ने बताए । उनले सबै काँग्रेसलाई एकजुट हुन आग्रह गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अरूको समर्थन र आफ्नो विरोध सुन्न नसक्ने सरकारले विप्लवलाई प्रतिबन्ध लगाएको बताए । उनले आफूहरूले विप्लवलाई समर्थन नगरेको समेत स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता र अन्तरघात नभएको भए चुनावमा यसरी पराजित हुन नपर्न बताए । साथै कपिलवस्तु, अर्घाखाँची, प्युठान, चितवन, पाँचथर, रोल्पा लगायत जिल्लाका पार्टी सभापतिले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाली काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्ला स्तरीय नेताहरूलाई प्रतिनिधिको रूपमा खटाई पालिका स्तरीय भेला समेत सम्पन्न गरेको थियो ।

पार्टी सङ्गठनलाई जिल्ला देखि स्थानीय तहसम्म पार्टी बलियो र सशक्तढङ्गले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने, काँग्रेसको पक्षमा आएको जनलहरको शक्ति प्रदर्शन गर्ने उद्देश्य रहेको साथै पार्टीलाई आगामी दिनहरूमा कसरी अगाडि बढाउन कस्तो खालको रणनीति बनाउने जस्ता कुराहरू जिल्ला सम्मेलनबाट तयार गर्ने नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।

सम्मेलनले गर्दा सदरमुकाम तम्घासको माहौल तातिएको छ भने काँग्रेसको चहलपहल समेत बढेको छ । सम्मेलनको भोलि समापन हुनेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्