Logo

आमाको किरियामा बसे दुई छोरी



Spread the love

१७ चैत, भक्तपुर ।
चाँगुनारायण नगरपालिका–९ का प्रभा गिरी र उनकी बहिनि प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिका बारेमा थाहा थिएन तर जब बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिदा यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे। आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस पनि गरे ।

‘आमाको पार्थिव शरीरमा दागबत्ती दिएर एक मुठ्ठी माटो समेत नदिने निर्दयी बाबुले श्रीमतीको किरिया पनि बस्दिन, जूठो पनि बार्दिन भनेपछि दागबत्ती दिएर आमाको अन्तिम संस्कार गरी हामी दुई नै आमाको किरियामा बसेका हौ’, गहँभरी आँशु पार्दै जेठी छोरी प्रभाले भनिन् ।

भक्तपुर क्यान्सर अस्पतालमा पाठेघर क्यान्सरको उपचारका क्रममा निधन भएपछि पार्वतीको दाहसंस्कारका लागि खबर गर्दा पनि नआएपछि गुठियारले गएर ल्याएका पति हरिबहादुरले मृतक श्रमिती र छोरीहरुको अनुहारसमेत नहेरी फर्किएको छोरीहरु बताउँछन् ।

बाबुले एक पटक पनि आफूहरुलाई फर्केर नहेरेको गुनासो गर्दै सौतेनी आमा ल्याएपछि बाबु पनि सौतेनी हुन्छ भन्ने बल्ल थाहा भएको दुबैछोरी बताउँछन्। जेठी छोरी प्रभा भन्छिन् ‘बुबाले कान्छी आमा ल्याउँदा म सानै थिए, मेरी बहिनी त आमाको गर्भ मै थिई, मरो आमालाई घरबाटै निकाल्न खोजेका थिए, आमालाई धेरै नै शारीरिक तथा मानसिक यातना भोग्नु पर्‍यो ।

पार्वतीको दाजु गोपालले भने ‘घरमा खाने चामल समेत छैन भनेर बहिनीले निकै गुनासो गरेपछि दुई भाञ्जीलाई सानैदेखि आफूले ल्याएर पालेको, पढाएको बताउँदै ज्वाइँले श्रीमती र छोरीहरुप्रति अलिकति पनि माया नदेखाएको देख्दा यस्ता बाबु पनि हुदाँ रहेछन् भन्ने लागेको बताउँछन् ।

स्नातकोत्तर अध्ययनको तयारीमा रहेकी प्रभा र स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रमिताको भविष्य पनि उनै मामा गोपालको काँधमा थपिन पुगेको छ । गोपाल भन्छन्,’ यी दुई भाञ्जीको भविष्यमा जस्तोसूकै परिस्थितिमा पनि लड्नसक्ने र आफ्नै खुट्टामा उभिनसक्ने बनाउनुछ ।’

आफू जन्मेपछि अहिलेसम्म एक पटक पनि बाबुले मुख नहेरेको र आमाको मृत्युमा समेत बाबुले देखाएको निर्दयता सम्झिँदा धिक्कार्न मन लाग्छ । उनी भन्छिन् ‘एकदिन सबैको मर्ने दिन आउँछ, सुख सधैं हुँदैन, बाबु भएर पनि दुःखमा हामीलाई पनि सम्झने दिन आउला नि ।’

आमाको किरिया पछि जाने ठाउँ कही नहुदा प्रभा र प्रमिताले मामाघरमै जाने निधो गरेकी छिन्। आफ्नो अधिकारको लागि कानूनी लडाइँ लडेर भए पनि न्याय माग्ने योजनामा छन् दुई दिदीबहिनी ।

-रासस

प्रतिक्रिया दिनुहोस्