Logo

कथाः समर्पण



आजभन्दा ६ वर्ष अगाडि मेरा गाला उजाड थिए । हरियाली त केवल वातावरण मात्रै देखिन्थ्यो । अचेल वातावरणभन्दा मेरा गालामा हरियाली वृद्धि भएको छ ।

आइ.एस्.सी दिएर काठमाडौँ लम्कदा मसँग के थियो के थिएन ! अहँ केही सम्झन्न । सम्झन्छु त केवल मनका बहहरू, मुटुबाट पम्प भएर बग्ने रगतसँगै बगेका सपनाहरू । सफल भएर आफ्नो दाह्री मुसार्ने चाहना मेरो पनि थियो ।

सफल हुनु यसर्थमा हैन कि, पछि सरकारी मोटर चढेर गेटमा बस्ने हर्के दाइको स्यालुट थापुँ । सबैले हाई-हाई गरुन् । कसैलाई गाह्रो पर्दा मै कहाँ हात फैलाउन आउन् । अनि ऋण दिएर चर्को ब्याज असुल गरूँ ।

सफल हुनु भनेको मेरो लागि स्वतन्त्र हुनु थियो । स्वावलम्बी हुनु थियो । आफ्नो खुट्टामा उभिएर काँधमा रहेका अनेकौं अभिभाराहरुलाई जोगाइरहनु थियो । जबसम्म ति पूरा हुदैन थिए ।

उपत्यका चहार्दा चहार्दै बल्ल तल्ल जागिर हात परेको थियो । कम्प्युटर मास्टरको जागिर । भक्तपुरको एउटा स्कुलमा । मास्टर भन्ने बित्तिकै नाक खुम्चाएर मुख बंगाउने धेरै हुन्छन् । मलाई चैं आफुले जानेको कुरा अरुलाई सिकाउन गजब रमाइलो लाग्छ । स्कुलको पहिलो दिन, विद्यार्थीलाई मात्रै हैन मास्टरलाई नि गाह्रो लाग्दो रै’छ । मास्टर भैसकेको थिएँ तर उमेर त्यही स्कुलमा पढ्ने दुई-चारजना दश कक्षाका बिद्यार्थी सँग मिल्थ्यो होला । दाह्री पनि त पलाइसकेका थिएनन् ।

खैर जे होस्, पहिलो दिन नै सोही स्कुलमा पढाउने सुष्माले लट्ठ पारिन् । उनी सानो कक्षाकालाई पढाउथिन् । एसेम्बलीको बेला अरु राष्ट्रगान गाउँथे, म मनमनै सुष्मागान गाउँथे । हावा चल्दा आँखा छेक्न पुगी हाल्ने उनको कपाल अनि सरक्क कति मजाले कपाल पछाडि लगेर कानमा अड्काउने उनका कोमल हात, आहा ! मनमा कताकता काउकुती लागिरह्यो । तर सुष्माबाट आँखा अन्त कतै मोडिएनन् । पागल, आँखा कि म ?

समय बित्दै गए । मेरा दुई नजर सुष्माको सौन्दर्य मै गएर अडिन्थे । दिन फेरिए पनि न अरुले गाउने राष्ट्रगान फेरिएको थियो, न मैले गाउने सुष्मागान । सात चोटी तलब थापिसक्दा पनि मेरो नजर सुष्माको नजरसँग कहिल्यै जुधेनन् । जुधोस् पनि कसरी ? उनको भुइतल्लामै दिन बित्थ्यो । आफ्नो दोश्रो र तेश्रो तल्ला गर्दै ठिक्क । क्यान्टिनमा खाजा खान पनि साथीभाइ सँगै जाने गर्थें । नजुरेको हो या जुराउन नखोजेको हो त्यो मैले आफैले ठम्याउन सकिनँ । नजुर्नुमा कुनै दोष थिएन, जुराउन नसक्नुको दोषी मेरो लजालु स्वभाव नै हुनु पर्छ ।

हिजोभन्दा आज, आज भन्दा भोली झन् राम्री हुने प्रयत्न गरिरहेकी थिई जस्तो लाग्यो सुष्माले । कहिले काँही त लाग्यो जिस्काइदिउँ, कतै ‘म त के राम्री छु र हौ मायाको हेराई हो राम्रो’ भनी पो हाल्छे कि ! मनमा सुष्मालाई नजिस्काएको दिन थिएन, अपसोच बोली कहिल्यै फुटेन, सुष्माले कहिल्यै सुनिन ।

०००

त्यो दिन सुष्माले समेत सम्झाई मलाई ।

मलाई निकै रमाइलो लागेको दिन थियो त्यो । स्कुलको फाउण्डरको भान्जालाई भट्टी पसलमा देखेर दुई थप्पड लगाएको थिएँ मैले । उमेर मेरो नि उसको जस्तै हुँदो हो । तर शिक्षक भएर बसेपछि, बिद्यार्थी प्रति आफ्नो दायित्व नि हुँदो रहेछ । खाए खावोस् भनेर उसको भविष्य माथि खेलबाड गर्न मनले मानेन । मैले उसको भविष्य प्रति खेलबाड गर्न चाहिनँ । जवाफमा उसका मामाले मेरो वर्तमानसँगै खेलबाड गरिदिए ।

म अब त्यस स्कुलको मास्टर रहिनँ । जागिर मैले नै छोडेको हुँ । तर सम्पूर्ण मेम्बरहरुको सामुन्ने उभ्याएर मलाई लगाएको आक्षेपले नै स्कुल छोड्न बाध्य भएको थिएँ ।

रन्थनिएको दिमाग फोनमा सुष्माको बोलि सुनेपछि सेलायो, केहि हदसम्म । यो घटनाले दिएको पहिलो उपहार भनेकै सुष्माको नम्बर थियो । सुष्मा, अन्य स्टाफ लगायत विद्यार्थीको अनुरोधमा फेरि सोही स्कुल जोइन गरें, पहिले भन्दा धेरै तलब लिएर । तलबवृद्धि मेरो दोश्रो उपलब्धि थियो ।

सुष्माको नम्बर पाएपश्चात् बिहान उठ्ने बित्तिकै “गुड मर्निंग मिस” भनेर मेसेज सेन्ड गर्ने बानी बसेको थियो । भविष्यमा त्यो ‘मिस’ ‘मिसेस’मा बदल्ने अभिलाषा पनि सानो थिएन । पहिलाभन्दा हामी धेरै नजिकियौं । सायद सुष्माले पनि मलाई माया गर्न थालिसकेकी थिई ।

तिजको दिन थियो । म बिरामी परेर कोठामा नै बसेको थिएँ । तिज नभएको भए सायद स्कुल जान्थे होला, सुष्मालाई भेट्न भए पनि । सुष्मा कलिंग देखेपछि गलेको जिउँमा एकदम ताकत आएजस्तो भयो ।

हत्त न पत्त फोन उठाएर भनें – “भन सुष्मा के छ ?”

“के छ भनेर त मैले सोध्न पर्ने, आज स्कुल आइएनछ त किन हो ?”

सुष्माले प्रश्न घुलेको जवाफ फर्काइ ।

सन्चै छु । अलि टाउको दुखेर नआएको भनेर कुरो टुंगाएँ र फोन राखें । तिजको दिनमा सुष्मा किन स्कुल आई ? कतै उसलाई पनि मसँग भेट्ने इच्छा त थिएन ? भन्न पर्थ्यो नि कमसेकम । म जसरी भए पनि पुगिहाल्थे नि ।

म पनि कस्तो जाबो टाउको दुख्दैमा स्कुल नगै’रा ! पालैपिच्छे सुष्मा र आफैलाई फलाकिरहें । हामीले एकअर्कालाई माया गर्न थालिसकेका थियौं ।

आइ.एस्.सीको रिजल्ट आयो ।

मेरो सिम्बल नम्बर अलि लामो भएजस्तो छ । लिस्टमा अटाएनछ ।

फोन गरेर कुरा घरमा सुनाएँ । घरबाट सकारात्मक कुरा आयो – “यतै आइज अनि फेरी पढाइ दोह्र्याउनू” ।

आमाले नम्र स्वरमा केही नबिग्रेको भाव झल्काउँदै भन्नु भयो । पढाइभन्दा मलाई सुष्मा प्यारो लाग्न थालिसकेको थियो । सुष्मालाई छोडेर सरस्वती अंगाल्न मनले पटक्कै मानेन ।

आफन्तले गिज्याउँछन्, समाजले नराम्रो नजरले हेर्छ भन्ने बहाना बनाएर घर नआउने कुरा आमालाई सुनाएँ । आमाले मान्नुभएन । सुष्मालाई सबै कुरा बताएँ ।

“हामीलाई सँगै बनाउन सक्ने कुरा भनेकै तिम्रो पढाइ पनि हो । तिमी घर फर्क, पढेर आऊ, म तिमीलाई कुरिरहन्छु ।“ भनेर उसले बताएपछि मात्र मैले घर फर्कने टिकट काट्न सकेको थिएँ ।

घर फर्कनुभन्दा अगाडि उसले घर बोलाएकी थिई । कम्प्युटर बनाउने बहानामा । सोही बेला हातमा हात राखेर भनेकी थिई,”म सधैं तिम्रो हो सुमित । तिमी पढाइ सकेर फर्क । म तिमीलाई नै कुरिरहन्छु ।“

आइ.एस्.सी.लाई मात दिने हिसाबले अब मैले प्लस टु जोइन गरें । सुष्मालाई बिर्सेर पढाइमा ध्यान दिन सकिरहेको थिइनँ । बेला बेला सम्पर्क गरिरहन्छु भने पनि कल बटन दबाउने आँट आक्कल-झुक्कल मात्रै मिल्थ्यो । ऊ भने सधै जसो सम्झिरहन्थी ।

म सबै बिर्सेर “अगाडि बढ सुष्मा” भनेर सम्झाइ रहन्थे । ऊ मलाई नै कुरिरहेको कुरा बताउँथी । आँखा रसाएर आँसु गाला भिजाउँदै खस्थे भुईंतिर । कतिलाई गाला मै सिध्याएँ । कति झर्न समेत पाएनन् ।

सायद झार्न नसकेको आँसु सुष्मा बनेर बसिरह्यो । सधैझैँ एकरात सुष्माको फोन आयो । बुवाले अन्तै बिहे गरिदिने कुरा बताई । मुटु कामेर लड्लाझैँ भयो ।

सुष्मा पाउँने आशाले पढाइ फेरी सुरु गरेको थिएँ, पढाइले गर्दा सुष्मा गुमाउनु परेको मलाई असह्य भयो । पहिला झर्न नसकेका आँसु बरर गाला भिजाउँदै रसायनशास्त्रको कापीमा खसे, अक्षर ठुला ठुला भए । ठुला ठुला अक्षरले मेरा बढ्दै गरेको दुःख झल्काएझैँ लाग्यो । लेखिएका अक्षरको अस्तित्व आँसुले बगायो, त्यही आँसु जसले सुष्मालाई समेत मेरो जिन्दगीबाट बगाउँदै थियो, सधैको लागि ।

यस्तै हो सुष्मा, सोचे जस्तो सधैँ हुदैन नि ! उतारचढाब कै पर्याय त हो जिन्दगी भनेर निकै सम्झाएँ ।

“तिमी बिना म अपुरो हुनेछु, सुमित” बाहेक केही भन्न सकिन उसले ।

आफ्ना बारेमा अनेकथरी भए-नभएको खराब कुराहरु बताउँदै उसलाई मबाट टाढिन आग्रह गरें । उसको खुसी नै मेरो खुसी थियो ।

बन्न लागेको उसको घरबार बिगारेर म कहिल्यै खुसी हुन सक्दिन थिएँ । यदि उसको हुनेवाला श्रीमानले उसलाई खुसी राख्ने बाचा गरेको छ भने मैले सुष्मा मेरी नै हुनपर्छ भनेर कराउनु कुनै जायज कुरा हो जस्तो लागेन ।

मेरो चाह नै सुष्माको खुसी हो । सुष्मा खुसी भए म खुसी हुनसक्थे । सायद साँचो माया गरेकोले होला !

सुष्माले वैवाहिक जीवनमा प्रवेश गरेपछि मैले सम्पर्क गर्न चाहिनँ । घरबार बिग्रेला भन्ने डरले आँट पनि आएन ।

ऊ भने बेलाबेला फेसबुकमा बोल्न आइरहन्थी । उसकी छोरी ठुली भैसकेकी छे । मैले प्लस टु पास गरेर इन्जिनियरिङ्ग सकाइ सकेको छु । आफुले हुन खोजे अनुसारको सफल भए जस्तो पनि लाग्छ । आफ्नो छुटै कम्पनि छ, आफ्नो खुट्टामा उभिन सकेको छु । सुष्मालाइ त यो जुनीमा पाउन सकिन । तर, काठमाडौँ आउने बेलाको लक्ष्य ‘सुष्मा’ हैन ‘सफलता’ थिइन् | सायद त्यो आफुले हात पारे जस्तो लाग्छ । सफलता सम्म पुर्याउने आँट, साहस, भरोसा भन्नु फेरी ‘सुष्मा’ नै हुन् ।

ऊबिना ‘सफलता’ सँग भेट सायद हुँदैन थियो होला मेरो ।

अबको चाह भन्नु नै सुष्माको खुसी हो । उसको खुसीमा नै म खुसी हुन सक्छु । थाहा छैन उसको दुःखमा मेरा आँखा रसाउछन् या रसाउन्नन्, मन चै अवश्य दुख्नेछ ।

सुष्मा सँग छुटिएको छ-सात बर्ष भैसकेको छ । छ-सात बर्षमा धेरै सफलता पनि हात पारियो ।

मनले भने सुष्मा र सफलतालाई सँगै पाउन पाएको भए निकै रमाइलो हुन्थ्यो भन्ने मात्रै कल्पिरहन्छ । बिदा भैसकेकी सुष्मालाई सम्झिएर एकोहोरिनु भन्दा पनि फेरी-फेरी आइराख्न सक्ने सफलताको लागि एकोहोरिन थालेको छु अचेल ।

लेखकबाट थपः

कथा : स्पर्श

त्यो रुख ( कविता )

 

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

  • 790
  • 200
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया दिनुहोस्