Logo

रेडक्रसले बारा र पर्सा जिल्लाहरुमा सहयोग तीब्र बनाउदै



Spread the love

२० चैत, काठमाडौँ ।

पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी हावाहुरीले प्रभावित बारा र पर्सा जिल्लाहरूमा करिब २ हजार ११ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन गरिएको छ । यसरी मोबाइल एप्लिकेशनबाट तथ्याङ्क लिन स्थानीय तह, रेडक्रस र सुरक्षाकर्मीको टोलीले काम गरिरहेको छ ।

रेडक्रसले २ सय ६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६  मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी र १० मिटर डोरी रहेका छन् ।
यसका अतिरिक्त ४ सय ९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा २ सय ४६ थान तारपोलीन र डोरी वितरण गरिएको छ । त्यस्तै, ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २ सय के जी चामल, १ सय केजी दाल र ५० केजी आलु वितरण गरिएको छ ।
त्यस्तै, बारामा थप २५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ ।

विपत् व्यवस्थापन विभागका निर्देशक मोना अर्याल र उपनिर्देशक रुद्रनारायण अधिकारी सर्वेक्षण तथा सहयोग गतिविधिको लागि प्रभावित क्षेत्र तर्फ जाँदै छन् । रेडक्रसको बारा जिल्ला शाखालाई विभिन्न जिल्ला शाखाहरूले सहयोग गरेका छन् ।  विभिन्न जिल्लाबाट नगद सहित खाद्यान्नको सहयोग बारामा पुगिसकेको छ ।

बारा जिल्ला शाखालाई झापा जिल्लाबाट पचास हजार, सिराहा जिल्ला शाखाबाट ५१ हजार, सिन्धुली जिल्ला शाखाबाट २ लाख ७५ हजार, भक्तपुर जिल्ला शाखाले ५५ हजार सहयोग गरेका छन् । त्यस्तै, सुनसरी जिल्ला शाखाबाट २१ हजार नगद सहयोग गरको छ । चितवन जिल्ला शाखाबाट खाद्यान्न सामग्री च्युरा ५ सय केजी, भुजा १ सय ५० केजी र चाउचाउ १५ काटुन सहयोग बारामा पुगेको छ ।
(दिब्य राज पौडेलको सहयोगमा तयार पारिएको समाचार)

प्रतिक्रिया दिनुहोस्