Logo

बाँदर नियन्त्रणका लागि ११ सदस्यीय समिति गठन



Spread the love

२१ चैत, दमौली ।
तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई धेरै दुःख दिन थालेपछि देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिले गाउँपालिका, स्थानीय प्रशासन, स्थानीय बासिन्दा, व्यवसायी, तीर्थयात्री लगायतसँग छलफल गरी बाँदरलाई नियन्त्रण गर्ने उपायबारे क्षेत्र विकास समितिलाई सुझाव दिनेछ ।

देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिएका छन् ।

बाँदरलाई व्यवस्थापन गर्न बाँदर मैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने वा अन्य केही विकल्पबारे पनि छलफल भएको उनले जानकारी दिए । गाउँपालिकाको प्रयासले मात्रै बाँदर नियन्त्रणमा नआउने हुँदा त्यसका लागि आवश्यक सहयोग गर्न गण्डकी प्रदेश र प्रदेश नं ३ को सरकार तथा सङ्घीय सरकारलाई समेत अनुरोध गरिने भएको छ।

प्रदेश ३ को सरकार र भरतपुर महानगरपालिकाले बाँदर नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्