Logo

आईपीएलः नेपाली शान सन्दीप लामिछाने भर्सेस् रसिद खान, कसले बढी विकेट लेलान् ?



Spread the love

एकदिवसीय क्रिकेटमा विश्वकै उत्कृष्ट अलराउन्डरका साथै ट्वान्टी–२०क्रिकेटमा विश्वकै एक नम्बरका बलर हुन् अफगानिस्तानका २० वर्षे स्पिनर रसिद खान । इन्डियन प्रिमियर लिग खेल्ने पहिलो अफगानी खेलाडी हुन् । १९ वर्षे सन्दीप लामिछाने, विश्वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी ।

 

विश्व क्रिकेटमा रसिदको त बेग्लै सान छ । ट्वान्टी–२० त्रिकेटको बलरमध्ये आईसीसी वरीयतामा रसिद विश्वकै नम्बर एक स्थानमा छन् । त्यसैगरी एकदिवसीय प्रतियोगितामा उनी एक नम्बरका अलराउन्डर हुन् भने बलरमा तेस्रो नम्बरमा छन् । उनलाई पहिलोपल्ट सन् २०१७ मा हैदराबादले ४ करोड भारुमा किनेको थियो ।

आईपीएलको पहिलो सिजनमै १७ विकेट लिएर सनसनी मच्चाएका रसिदलाई २०१८ आईपीएल लिलामीमा किग्सं इलेभन पन्जाबले ९ करोडको भाउ लगाएपछि हैदराबादले त्यति नै रकममा आफूसँगै राखेको थियो । आईपीएलमा रहेको खेलाडीमाथि पहिलो दाबी साबिकको टिमको हुने नियमका आधारमा हैदराबादले रसिदलाई आफूसँग राख्न सफल भयो । यस वर्ष पनि हैदराबादले सोही रकममा रसिदलाई आफूसँगै राख्यो । रसिदले सन् २०१८ को आईपीएल सिजनमा २१ विकेट र २०१७ मा १७ विकेट लिएका थिए ।

जसरी दुई खेलाडीबीच एक वर्षको अन्तर छ । ठीक, त्यसरी नै आईपीएलमा पनि एक वर्षको अन्तरमा दुई खेलाडीको प्रवेश भएको हो । रसिदले २०१७ मा पहिलो पटक आईपीएलमा अवसर पाए भने सन्दीप २०१८ को सिजनमा दिल्लीसँग आबद्ध भए । खेलका हिसाबले पनि रसिद र सन्दीपमा समानता छ । दुवै दायाँहाते लेग स्पिनर हुन् । दुवै खेलाडी एउटै ओभरमा विभिन्न ६ थरीको बलिङ गर्ने क्षमता राख्छन् ।

मूल्यका हिसाबले भने रसिदसँग सन्दीपको तुलना हुँदैन । सन्दीपलाई दिल्लीले पहिलोपल्ट २० लाख भारुमा मात्र अनुबन्ध गरेको थियो । यसवर्ष पनि त्यही रकममा आफूसँगै राख्यो । अनुबन्ध रकम कम भए पनि सन्दीपले पहिलो सिजनमै आफ्नो प्रभाव छाडेका थिए । गत वर्ष दिल्लीको गृहमैदानमा भएको मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदै सनसनी नै मच्चाएका थिए । गत वर्ष अन्तिम तीन खेल खेल्ने मौका पाएका सन्दिपले ५ विकेट लिएर सबैको मन जितेका थिए ।

शुक्रबार नयाँदिल्लीको फिरोज शाह कोटला मैदानमा यिनै रसिदको टिम सनराइजर्स हैदराबाद र नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स आपसमा भिड्दै छन् । सोही म्याचका लागि पूर्वाभ्यास गर्न रसिद र सन्दीप दुवै कोटला मैदानमा थिए । दुवैले करिब ३ घण्टा मैदानमा अभ्यास गरे । त्यसक्रममा रसिद र सन्दीपको आपसी मेल लोभलाग्दो थियो । मैदानमा रहेका अन्य खेलाडीले पनि उनीहरूबीचको हिमचिम बडो रोचक ढंगले नियालिरहेका थिए ।

बिहीबारको खेलमा सन्दीपले खेल्न पाउने नपाउने अझै निश्चित छैन । जबकि हैदराबादका लागि रसिद बलिङ मेरुदण्ड नै हुन् । हुन त यो सिजनमा रसिदभन्दा राम्रो नतिजा दिएका छन् सन्दीपले । रसिदले ३ खेलेमा २ विकेट लिएका छन् । आफ्नो पहिलो म्याचमा पनि एक विकेट लिन सफल भएका सन्दीपले दुई म्याच खेलेर तीन विकेट लिइसकेका छन् ।

अघिल्लो वर्ष सन्दीपलाई अन्तिम तीन खेलमा मात्र मौका दिएको दिल्लीले यो सिजनमा दोस्रो खेलदेखि नै मैदानमा उतारेको छ । त्यसले टिमको उनीप्रतिको भरोसा र विश्वास गत वर्षभन्दा थप बढेको देखिन्छ ।

सँगै उनको हालसम्मको प्रदर्शन पनि उत्कृष्ट छ । त्यस हिसाबले पनि बिहीबार गृहमैदानमा हुने हैदराबादविरुद्धको म्याचमा सन्दीपले अवसर पाउने सम्भावना नकार्न सकिँदैन । त्यसो भयो भने सन्दीप र रसिदको बलिङको ‘फिर्की’ निकै नै रोमान्चक हुने निश्चित छ ।

(यो समाचार दिल्लीबाट कान्तिपुर दैनिकका लागि सुरेशराज न्यौपानेले लेखेका हुन् ।)

प्रतिक्रिया दिनुहोस्