Logo

मेस्सी र सुआरेजको गोलसँगै एटलेटिको पराजित



Spread the love

२४ चैत, काठमाडौं ।

घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि बार्सिलोनाले २–० को जित निकालेको हो । खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका डिएगो कोस्टाले रेफ्रीमाथि गलत व्यवहार गरेपछि रेफ्री जेसस गिलले सोझै रातो कार्ड देखाएका थिए ।

एट्लेटिको १० खेलाडीमा समेटिएपनि बार्सिलोनाको फाइदा उठाउने प्रयास भने लगातार असफल बनिरहेको थियो । खेल खेल सकिन ५ मिनेट बाँकी रहँदा दुई स्टार खेलाडी सुआरेज र मेस्सीले एक मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई महत्वपुर्ण ३ अंक दिलाए ।

८५औं मिनेटमा लुइस स्वारेजले जोर्डी अल्वाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८६औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए।

जितसँगै बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको छ । ला लिगामा ७ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो र तेस्रो स्थानको एट्लेटिको र रियाल म्याड्रिडमाथि क्रमश: ११ र १३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ७३ अंक छ । एट्लेटिकोको ६२ तथा रियालको ६० अंक छ ।

प्रतिक्रिया दिनुहोस्