Logo

डर्टमन्डलाई भारी गोल अन्तरले हराउदै बायर्न शीर्षस्थानमा



Spread the love

२४ चैत, काठमाडौं ।
बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डमाथि ५–० को फराकिलो जित निकालेको हो । फराकिलो जितसँगै साविक विजेता बायर्न म्युनिख एक अंकको अग्रता कायम गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेको बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा माट हमेल्स, जेभियर मार्टिनेज र सर्जी गनाब्रीले समान १ गोल गरे ।

बायर्नले खेलको १०औं मिनेटमा हमेल्सको गोलबाट अग्रता बनाएको थियो । १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ४१औं मिनेटमा जेभियर मार्टिनेज र ४३औं मिनेटमा सर्जी गनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० को मजवुत अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा डर्टमन्डले सुधारिएको खेल पस्केपनि गोल गर्न असफल हुदा एक गोल खान पुग्यो । ८९औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए ।

यससँगै बुन्डेस लिगामा ६ चरणको खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ । शीर्षस्थानको बायर्नको २८ खेलबाट २० जित र समान ४ बराबरी र ४ हारबाट ६४ अंक पुगेको छ । समान खेलबाट डर्टमन्ड १९ जित ६ बराबरी र ३ हारबाट ६३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि बायर्नले घरेलु मैदानमा एकतर्फी नतिजा निकाल्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्