Logo

‘अस्वस्थ खानेकुरा’ मृत्युको सबैभन्दा ठुलो कारण बन्दै, जान्नुहोस् कुन खाना कति खाने ?



Spread the love

हरेक वर्ष कम गुणस्तरको खानाकै कारण करोडौँ मानिसको असामयिक मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । लेनसेटमा गरिएको सो विश्लेषणमा हाम्रो खाना हामीले सोचेभन्दा धेरै घातक र कतिपय अवस्थामा त चुरोट र मदिराभन्दा हानिकारक साबित हुन सक्ने बताइएको छ । अनुसन्धानका अनुसार विश्वमा पाँचमध्ये एक मानिसको दैनिक सेवन गर्ने डायटसँग सम्बन्धित कारणले मृत्यु हुने गरेको छ ।

विशेषगरी हामीले प्रत्येक परिकारमा प्रयोग गर्ने नुन आयु कम गर्नमा सबैभन्दा ठूलो भूमिका रहने गरेको पाइएको छ जसले कम उमेरमै हृदयको समस्या निम्त्याउने र क्यान्सर गराउने गर्दछ ।

कुन–कुन खानेकुराको मात्रामा ध्यान दिनुपर्छ ? 

‘ग्लोबल बर्डन अफ डिजिज’ को अध्ययनअनुसार विश्वभर अधिकांश मानिसले खाने खाना उपयुक्त डायट भन्दा धेरै फरक रहेको पाइएको छ । विशेषगरी नुन, गेडागुडी र फलफुलको सन्तुलन नमिलेको डायटलाई सबैभन्दा खतरनाक मानिएको बताइएको छ । जस्तै २०१७ मा धेरै नुनयुक्त खानाकै कारण तीस लाख मानिसको मृत्यु भएको थियो भने कम गेडागुडी भएको खाना पनि थप तीस लाखको मृत्युको कारण बनेको बताइएको छ । यसैगरी एकदम थोरै फलफुल भएको डायटले पनि बीस लाख मानिसलाई मृत्युको मुखमा पुर्याएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यता बदाम ओखर, सागसब्जी र समुद्री खानाबाट प्राप्त हुने ओमेगा–३ अनि फाइबरको कमीले पनि हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ । युनिभर्सिटी अफ वासिङटनका प्रोफेसर क्रिस्टोफर मुरे भन्छन्, “विश्वभर दैनिक लिइने गरेको डायट नै मानिसको स्वास्थ्य अवस्थाका लागि सबैभन्दा बढी जिम्मेवार हुन्छ ।”

अनूचित डायटले कसरी लिँदैछ मानिसको ज्यान ?

यसरी विश्वभर डायट सम्बन्धि भएका १ करोड अधिक मृत्युहरुमा अधिकतमको मृत्यु हृदयसम्बन्धी रोगकै कारण भएको हुनाले पनि नुन सबैभन्दा ठूलो समस्या रहेको स्पष्ट भएको छ । किनकी धेरै नुन सेवन गर्नाले रक्तचापलाई अप्रत्यासित वृद्धि गराइ हृदयघातको सम्भावना प्रबल बनाउँछ । नुनले मुटु र रगत नलीहरुमा प्रत्यक्ष असर गर्न सक्ने हुनाले पनि यसप्रति गम्भीर ध्यान दिनुपर्ने बताइएको छ । तर गेडागुडी, सागसब्जी र फलफुलले भने त्यसको ठीक विपरित काम गर्दछ र मुटु सम्बन्धि समस्याबाट बचाउँदछ । यसपछि क्यान्सर र मधुमेहका कारण हुने मृत्युयमा पनि हाम्रो खानेकुराको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

हामीले कत्तिको उपयुक्त डायट लिइरहेका छौँ ?

गेडागुडी र बदाम ओखर लगायतका दानाहरु प्रतिदिन २५ ग्राम सेवन गर्नुपर्छ । तर विश्वव्यापी रुपमा सबै देशले केबल ३ ग्राम मात्र खाने गरेको पाइएको छ । त्यस्तै हाम्रो शरीरलाई आवश्यक दैनिक ४४३ ग्राम दूध हामीले केबल ७१ ग्राम मात्र सेवन गरिरहेका छौँ । यसैगरी अनाज र गेडागुडी दैनिक १२६ ग्राम खानुपर्नेमा हामीले २९ ग्राम मात्र आफ्नो खानामा समावेश गरिरहेका छौँ । यता रातो मासु भने २२ ग्राम खानुपर्नेमा हामीले २७ ग्राम सेवन गरिरहेका छौँ । त्यस्तै नुन पनि दैीनक ३.२ ग्राम भन्दा बढी सेवन नगर्नुपर्ने भएपनि हामीले प्रत्येक दिन ६ ग्रामसम्म सेवन गरिरहेका छौँ । त्यस्तै ससेज लगायत प्रोसेस र प्याक गरिएको मासु केबल २.१ ग्राम मात्र खानु उचित हुन्छ तर औसतमा सबैले ४ ग्राम खाने गरेको पाइएको छ ।

यसरी विश्वभर स्वस्थ डायटमा छुट्ने गरेको सबैभन्दा महत्वपूर्ण खानेकुरा ‘नट्स’ अर्थात बदाम, काजु, ओखर लगायतका दानाहरु हुन् । तर सबैले यसलाई प्रमुख डायटका रुपमा नलिने चलन छ भने महङ्गाइका कारण पनि कम सेवन हुने गरेको पाइएको छ ।
मासु र चिनी पनि शरीरका लागि आवश्यक खानेकुरा हुन् ।

पछिल्लो समय रातो मासुलाई क्यान्सरसँग जोडेर अनेकौँ शीर्षकमा समाचारहरु आइरहेका छन् । तर उचित मात्रामा खान सकेमा यिनै खानेकुरा अत्यन्तै लाभदायक साबित हुने प्रोफेसर मुरे बताउँछन् । उनका अनुसार यससँगै दानाहरु, गेडागुडी, साग पनि उत्तिकै मात्रामा सेवन गरि सन्तुलित डायट लिन सके कहिल्यै कुनै हानि गर्नेछैन । त्यस्तै विश्वभर व्यापक रुपमा सेवन हुने गरेका ‘सफ्ट ड्रिङ्क्स’ पनि अनुपयुक्त डायटमा गनिन्छ ।

वास्तवमा वैज्ञानिकहरुले के खानु हुँदैन भन्नेमा मात्र केन्द्रित नरहेर स्वस्थ खानेकुरा के हो भन्ने बारेमा पनि कुरा उठाउन जरुरी भइसकेको बताइएको छ ।

तर अस्वस्थ भएपनि स्वादिष्ट खान खोज्नु कति ठीक हो ?

अनुसन्धानकर्ताहरुका अनुसार खराब डायटले नै विश्वभर औसत आयु कम गराइरहेको छ । यस विषयमा मुरे भन्छन्, “वास्तवमा अस्वस्थ तर स्वादिष्ट खानुअघि हामीले यस्ता प्रश्नबारे विचार गर्नुपर्छ – के म ५० वर्षमै हृदयघातले मर्नेछु ? या मलाई ४० वर्षमै क्यान्सर हुनेछ ?”

यसरी डायटसँग सम्बन्धित सबैभन्दा कम मृत्युदर भएका देशहरुमा फ्रान्स, इजरायल र स्पेन पर्दछन् भने दक्षिण पूर्वी र मध्य एसियामा यसको ठीक विपरित रहेको छ । विशेषगरी चीनमा अत्यन्तै चर्को खाने चलन रहेको हुँदा अस्वस्थ डायटका धेरै गम्भीर समस्याका रुपमा रहेको छ । जापानमा भने अधिक नुनको प्रयोगमा बिस्तारै कमी ल्याउन सुरु गरिएको छ, तरपनि उनीहरुको डायटमा धेरै सागसब्जी र फलफुल हुने गरेको प्रोफेसर मुरे बताउँछन् ।

यस्तोमा सबैभन्दा पहिले त सबैले नुनलाई नै कम गर्नुपर्ने मुरेको सुझाव छ । तर स्वस्थ डायटमा गरिबीको पनि उत्तिकै भुमिका रहने गर्दछ । किनकी धेरै मानिससँग स्वस्थ भनिएका खाना खरिद गर्ने क्षमता हुँदैन भने सस्तो खाना अस्वस्थकर हुन्छ भन्ने प्रचार बढी हुने गरेको छ । तर क्षमता नभएकाहरुले उदाहरणका लागि ‘बाइ वान गेट वान’ मार्फत स्वस्थकर वस्तु खरिद गर्नु कुनै खराबी नहुने मुरेको भनाइ छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्