Logo

विश्व स्वास्थ्य दिवसको अवसरमा ‘लियो क्लब अफ काठमाडौं, लाजिम्पाट चौतारी’द्वारा शिविर सञ्चालन



Spread the love

विश्व स्वास्थ्य दिवसको अवसर पारेर यही चैत २४ गते आइतबारको दिन ‘लियो क्लब अफ काठमाडौं, लाजिम्पाट चौतारी’ द्वारा दक्षिणी धादिङको बिकट चेपाङ बाहुल्य बस्तीमा नि:शुल्क स्वास्थ्य सिबिर सम्पन्न गरेको छ ।

कार्यक्रम लियो क्लब लाजिम्पाटको आयोजना तथा गजुरी गाउँपालिका ४ नम्बर वडाको समन्वयमा सम्पन्न भएको हो ।

पृथ्वी लोकमार्गको आदमघाटबाट दक्षिणतर्फ २३ किलोमिटर कच्ची बाटो उकालो चढेपछि पुगिन्छ, गजुरी गा.पा. – ४ गैरिगाउँ पिडा, धादिङ स्थित ‘श्री पिन्डेश्वरी मा.वि. ।

भिरालो पाखामा कतै-कतै देखिने अधिकांस स-साना झुप्राहरुमा एउटा मात्रै कोठा छ, जसको एक कुनामा छ, दाउरा बाल्ने चुलो । अनि बाँकी भुइँमा लस्करै सुत्छन्, ४-५ जना बालबच्चा सहितको परिवार ।

त्यहाँ न बिजुलीबत्तीको सुबिधा छ, न कुनै स्वास्थ्य केन्द्र । शिविरको टोली कार्यक्रमस्थलमा पुग्दा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति भैसकेको हुन्छ । कुनै ढिला नगरी शिविर सुरु हुन्छ । धमाधम गाउँले मुहारहरू उपस्थित हुन थाल्छन् । सामान्य देखी ठुला-ठुला समस्याहरू लिएर मान्छेहरू आइरहेका हुन्छन् ।

बिहान १० बजेबाट सुरु भई बेलुकी ३:३० सम्म चलेको सिविरमा गैरिगाउँ, चिउरीखर्क, दरिङ्गाल र आसपासका ३०० भन्दा बढीले निशुल्क आफ्नो स्वास्थ्यको परिक्षण गराएका थिए ।

साथै, आवश्यक औषधि पनि निःशुल्क रुपमा वितरण गरिएको थियो । उपस्थित गाउँले वासिन्दा सबैलाई बिस्कुट र फ्रूटी पनि बितरण गरियो ।

कार्यक्रम पछि अबिर, फुलमाला, खादा तथा पुष्पगुच्छाद्वारा शिविर सञ्चालक टोलीलाई विदाइ गर्दागर्दै स्थानीयहरुको अनुहारमा कार्यक्रमप्रतिको उत्साह र यसको प्रभावकारिता प्रष्ट देख्न सकिन्थ्यो ।

 

 

प्रतिक्रिया दिनुहोस्