Logo

सत्यवतीमा वोयर क्रस बाख्रा प्रदर्शनी, मासु निर्यात गर्न सक्षम



Spread the love

२५ चैत, गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाको आयोजना तथा सत्यवती गाउँपालिका बाख्रा पालन समितिको सहआयोजनामा आईतबार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा वोयर क्रस बाख्रा प्रदर्शनी गरिएको छ ।

किसानहरूलाई पशुपालन तथा कृषि क्षेत्रमा उत्प्रेरणा जगाउनको लागि बाख्रा प्रदर्शनी गरिएको हो । मेलामा वडा नम्बर ४ का किसानहरूले पालेका ११ सय ७७ वटा बाख्रा प्रदर्शन गर्नुका साथै बाख्राको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । प्रदर्शनिमा त्यस क्षेत्रका किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

साथै अब सत्यवती गाउँपालिका मासु निर्यात गर्नमा सक्षम भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले दाबी गरेका छन् । सल्लेरी खबरसँगको कुराकानिमा उनले भने “हामी अब मासु निर्यात गर्नमा सक्षम भएका छौ । १ ट्रक बोका त तत्कालै बाहिर पठाउन सक्छौ ।”

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका ढकालले भने “सबै किसानहरू उत्पादनमा लाग्नुहोस् बजारीकरणको जिम्मा हामीले लिन्छौ र अब ४०–५० हजार कमाउन विदेश जान पर्ने छैन ।”सबै किसान उत्पादनमा लागे गाउँ समृद्ध हुने उनको भनाई थियो ।

त्यस्तै, पशपंक्षी शाखाका प्रमुख नारायण खनालले पनि उन्नत जातका बाख्रा पालन र उत्पादनबाट मात्रै समृद्धि हुने कुरामा जोड दिएका थिए ।

साथै सोही अवसरमा गाउँ पालिकाबाट विभिन्न विधामा उत्कृष्ट भएका १३ जना किसानलाई जिन्सी र प्रमाण पत्रले सम्मान गरिएको थियो भने वोयर जातमा बाख्रा पालेका १८ उत्कृष्ट किसानलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

त्यसै गरी उत्कृष्ट बाख्रा पालन समूहमा भैरव स्थान बाख्रा समूह प्रथम , देउराली बाख्रा समूह द्वितीय तथा चण्डेश्वरी बाख्रा पालन समूह तृतीय भएका थिए भने गाँउपालिकाले नगद र प्रमाण पत्रले सम्मान समेत गरेको थियो ।

प्रदर्शनीमा प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी , अधिकाँश वडाका वडा अध्यक्ष , बाख्रा विज्ञ तथा किसानहरूको बाक्लो सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्