Logo

‘आभा फर क्रियटिभिटी’ ले सम्पन्न गर्यो ‘आभा काव्य लहर – ४’



Spread the love

‘आभा फर क्रियटिभिटी’ले २०७५ सालको आफ्नो अन्तिम कार्यक्रमका रुपमा ‘आभा काव्य लहर – ४’ सम्पन्न गरेको छ। शनिबार राजधानी स्थित सर्वनाम थिएटरमा चार गजलकारका गजल वाचनसँगै कार्यक्रम सम्पन्न भएको हो । धनकुटाका अनन्त अनुराग, अछामका कमल संघर्ष, गोरखाका प्रदिप रोदन र गुल्मीका कृष्णप्रसाद अर्यालले कार्यक्रममा आफ्ना ५/५ गजल वाचन गरेका हुन्।

नियमित रचना वाचनको ३० औं शृङ्खला समापन गरिसकेपछी विशेष शृङ्खला संचालन गर्ने उद्देश्य हेतुले ‘आभा काव्य लहर’ नामको काव्य अङ्क शुरूवात गरेको आभाले आफ्नो पहिलो शृङ्खला कविता विशेष राख्यो । असारमा सम्पन्न सो शृङ्खलामा असिम सागर, रोशन परियार, अमृता स्मृति, प्रज्वल अधिकारी र मनोज भण्डारीले आफ्ना ५/५ कविता वाचन गरेका थिए ।

गजल विशेष आफ्नो दोस्रो अङ्कमा एम. पि. केयरलेस, हुकुम धड्कन, सुमन स्मारीका, इश्वर दाहाल र ठाकुर चुरेलाई निम्ताएर राजधानीको ध्यान खिँचेको आभा त्यसपछि साहित्यप्रेमीहरुको प्रेम बटुल्न थाल्यो ।

तेस्रो शृङ्खलामा डा. देवी नेपाल, मनोज बोगटी, बि. पि. अस्तु र सुरज पराजुलीले आआफ्ना ६/६ वटा कविता वाचन गरेका थिए ।

राजधानी लगायत मोफसलमा पछिल्लो समय साहित्यक गतिविधि बढ्दो छ । यसमा आफ्नो बलियो उपस्थिति देखाउन आभा सफल भएको कार्यक्रममा उपस्थित भएकाहरुले जिकिर गरे ।

“राजधानीमा धेरै समय पश्चात् गजलका शेर जस्ता शेर सुन्ने अवसर पाइयो। दर्शकको उपस्थितिले सर्वनाम थिएटरको हलमा बस्ने ठाउँ थिएन। ढोकाबाट उभिएर हेर्नेको भिड थियो। हलबाट बाहिरिदा दर्शक सबै सन्तुष्ट थिए सायद । र, त सबै मुस्कुराउदै निस्किए ।” कवि नारायण काइँलोले बताउँछन् ।

“कुनै कार्यक्रम झुर हुन्छन्, निक्ली जाउ लाग्ने, त केही कार्यक्रम उत्कृष्ट हुन्छ्न्, पछि सम्म सम्झिरहने, जस्तो कि ‘आभा काव्य लहर’ ।”, सुवास अपवादले बताए ।

आभा काव्य लहर -४ मा वाचित २० गजल, काफिया, रदिफको संरचना पालन सहितको काव्यात्मक सुवास दिएर लेखिएका संस्थाका सदस्य प्रभात तिमिल्सिना बताउँछन् । “सम्भव भएसम्म बौद्धिक कला चेत तथा प्रयोगधर्मी ,गजल मात्रै काव्य लहरमा सुन्न पाइन्छ, ढुक्क रहनुहोस् ।”, उनी थप्छन् ।

“अनन्त अनुरागले दोस्रो चरणको आफ्ना दुई लयबद्द गजल गाएर सुनाए । गजल आफै गेय विधा पनि हो, लयात्मकताले गजललाई श्रृङ्गारयुक्त काव्यिक मिठास प्रदान गर्छ।”, संस्थाका संस्थापक अध्यक्ष एवम कवि तथा चित्रकार रसिक राज भन्छन्,”अनन्त ज्यू नेपाली गजल क्षेत्रलाई नयाँ स्वादका साथ अमरत्व प्रदान गराउन लालयित देखिनुहुन्छ । यो भन्दा सार्थक कुरा अरु के हुनसक्छ ?”

“वाहीवाही र सोखले लेख्दैनन् प्रदिप रोदन । उहाँको गजल नयाँपन र सामाजिक सम्प्रेषणतातर्फ उन्मुख लाग्छ । यो हदसम्मको उहाँको समर्पित भाव ! म उहाँको जब्बर फ्यान हुँ । फ्लोवर पनि ।” संस्थाका सहसचीव राजु झल्लु प्रसाद नसोचेको रुपमा नेपाली गजललाई खँदिलो बनाउने कार्य गरिरहेका आफ्नो पर्सनल फेबरेट गजलकारहरुको लिस्टमा प्रदिप रोदन टप टेन भित्रै रहेको बताउँछन् ।

कवि योगेश घिमिरे बताउँछन्, “कमल जी आफैंमा एउटा ‘ब्रान्ड नेम’ हो । यसो हुनुमा एउटा मात्रै कारण रहेको छ । म तपाईंलाई एउटा प्रसङ्ग सुनाउँछु । जब कुनै शिकारीले हरिणमाथी वाण प्रहार गर्छ । त्यो विक्षिप्त हरिणको हृदयले गरेको आर्तानाद गजल हो । र, त्यो आर्तानाद उहाँको गजलमा भेटिन्छ ।”

“गजलमा प्रणयको भाव व्यक्त हुन्छ नै । गजललाई अर्थाउनेहरु गजल प्रेमिकासँगको मधुर वार्तालाप पनि हो भन्ने गर्छन । कृष्णप्रसाद ज्युअँको शेरहरुमा प्राय: प्रेम आयो भने । आएको हो तर मलाई उहाँको शेरहरुमा रुप सौन्दर्य भन्दा गुण सौन्दर्य भेटे । मिलनको लागि उहाँ त्यस हदसम्म आतुर हुनुहुँदो रहेछ । उहाँको त्यसप्रकारको अनुनय, विनय या अनुरोध जे भन्नुहोस्, मैले त उहाँको गजलमा प्रेम आध्यात्मिकता पाएँ । मोहित जोशी कृष्णप्रसाद अर्यालको शेरहरुमा प्रेम भाव सँगसँगै धार्मिक, प्राकृतिक काव्यीक भाव पनि प्रसारित भएको पाएको बताउँछन् ।

कलाका विभिन्न पाटा साहित्य, चित्रकला, प्रफमेन्स आर्ट, संगित लगायत जनचेतना र समाजसेवामा समेत अनवरत रुपमा कदम चालिरहेको ‘आभा फर क्रियटिभिटी’ ले ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी शुरु गरेको हो । कार्यक्रम हरेक तीनतीन महिनामा आयोजना हुने र आगामी असार २८ गते हुने आभा काव्य लहर-५ कविता विशेष रहने यस शृङ्खलाकी संयोजक अन्शु खनालले बताइन्।

प्रतिक्रिया दिनुहोस्