Logo

आईसीसी अन्डर-१९ एसिया विश्वकप छनोटमा नेपालद्वारा ओमन फराकिलो अन्तरले पराजित



Spread the love

आईसीसी अन्डर-१९ एसिया विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले प्रतिद्वव्द्वी टिम ओमानलाई फराकिलो अन्तरलर पराजित गरेको छ। मलेसियामा जारी छनौट प्रतियोगितामा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा ओमान ४४.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै जम्मा ७९ रन झिनो अंकमा समेटिन पुग्यो। परिणामतः नेपालका लागि जित सहज बन्न पुग्यो ।

नेपालको कसिलो बलिङसामू ओमानका अमनप्रित सिराह र जिल तान्नाले मात्र दोहोरो रनको स्कोर बनाए। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।नेपाली बलरले मात्र १ छक्का र  ३ चौका दिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो।

खराब सुरुवात गरेको नेपालले पहिलो ५ विकेट ८१ रनमै गुमाएको थियो। ओपनर रित गौतम १० रन , पवन सर्राफ ५ रन बनाएर आउट भए।  यस्तै नेपाल अन्डर-१९ टिमको लागि डेब्यू खेलमा अभिशेक बस्नेत १५ रन बनाएर आउट भए। सन्दिप जोरा ४ तथा हरि चौहान २ रन बनाएर आउट भए।

यसअघि प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसँग १ रनले ( डी/एल मेथड) पराजित भएको थियो। तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

यद्यपी नेपाल अंक तालिकामा दोश्रो स्थानमा छ। सबै ४ खेलमा शतप्रतिशत जित निकालेको युएई शीर्ष स्थानमा छ। विश्वकप छनोट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई हराउनुपर्नेछ भने युएईले ओमानसँग हार्नु पर्नेछ।

प्रतियोगिताको विजेता टिम २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने अन्डर-१९ विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्