Logo

गुल्मीमा एक महिनामै बन्छन् ४ सय बढी राहदानी, राहदानीबाटै करिब २ करोड संकलन



Spread the love

प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीमा प्रति महिना ४ सय ३१ जना भन्दा बढीले राहदानी बनाउने गरेको पाइएको छ ।

गुल्मी जिल्लामा यस आर्थिक वर्षको चैत मसान्तसम्म महिला र पुरुष गरी ३ हजार ८ सय ८१ जनाले राहदानी बनाएका छन् । राहदानीबाटै १ करोड ९६ लाख रकम राजस्व उठेको छ।

प्रदेश नम्बर ५ का १२ जिल्ला मध्ये गुल्मी जिल्ला धेरै राहदानी बनाउने जिल्लामा परेको छ । प्रदेश भित्रका धेरै जनसङख्या रहेका जिल्ला सरह गुल्मी त्यही अनुसार राहदानी बन्नुले गुल्मीमा वैदेशिक रोजगार प्रतिको आकर्षणलाई प्रस्ट पारेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सल्लेरी खबरलाई बताए ।

वैदेशिक रोजगार अन्तर्गत कतार, मलेसिया देखि ब्रिटिस लाहुरे साथै अध्ययनको लागी अस्ट्रेलिया, जापान, अमेरिका लगायत ठाउँमा जाने गरेको प्रमुख जिल्ला अधिकारी पौडेलको बुझाई रहेको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल

गत आर्थिक वर्षमा कुल ५ हजार ८ सय ३४ जनाले राहदानी बनाएका थिए भने आर्थिक वर्षमा नौँ महिनामै ३ हजार ८ सय ८१ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सल्लेरी खबरलाई बताए ।

गुल्मीबाट यो आर्थिक वर्षको साउनमा पुरुष २ सय ६० र महिला ८९ गरी ३ सय ४९ जनाले राहदानी बनाएका छन् । त्यस्तै भदौमा २ सय १७ पुरुष र ६० महिला गरी २ सय ७७ जनाले राहदानी बनाएका छन् । असोजमा २ सय ३७ पुरुष र ६६ जना महिला गरी ३ सय ३ जनाले राहदानी बनाएका छन् । त्यस्तै कार्तिकमा सबै भन्दा धेरै पुरुष ५ सय ३७ र महिला १ सय ८० गरी ७ सय १७ जनाले राहदानी बनाएका छन् ।

मंसिरमा पुरुष ४ सय १४ र महिला १ सय २५ जना गरी ५ सय ३९ जनाले राहदानी बनाएका छन् भने पुस महिनामा ३ सय ६६ पुरुष र १ सय २६ महिला गरी ४ सय ९२ जनाले राहदानी बनाएका छन् । माघमा पुरुष ३ सय ६ र महिला १ सय २८ जना गरी ४ सय ३४ जनाले राहदानी बनाएका छन् । फागुनमा २ सय ४५ पुरुष ,१ सय ९ महिला गरी ३ सय ५४ जनाले राहदानी बनाएका छन् । त्यस्तै चैत महिनामा पुरुष २ सय ६५ र महिला १ सय ५१ गरी कुल ४ सय १६ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीकी मुना पाण्डेले जानकारी दिइन् ।

गुल्मी जिल्लामा विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार २ लाख ८० हजार १ सय ६० जनसंख्या रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्