Logo

पानी खसेपछि विकासको महसुस हुन थाल्योः कुलमोहरवासी



Spread the love

५ बैशाख, काठमाडाैँ –  दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् ।

विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउँछन् ।

‘साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,’ गिरीले भने, ‘यो बस्तीमा पहिलो पटक पानीको धारा खस्यो ।’

कुलमोहर बस्ती बसेको करीब ४८ वर्ष भयो । त्यहाँका स्थानीयवासीले घर नजीकै रहेको खोलाको पानीले जीवन चलाउँदै आएका थिए ।

लमही–घोराही सडकखण्डको नजीकै पर्ने कुलमोहर गाउँ लमहीको बजारभन्दा पनि पुरानो गाउँ भनेर चिनिन्छ । अर्जुन खोलाको जरुवाको पानी खाएर कुलमोहर गाउँवासी हुर्किए ।

करीब ९० घरधुरी सङ्ख्या रहेको कुलमोहरवासीले वनको बाटो भएर करीब एक घण्टा पैदल हिँडेर पिउने पानी ल्याउनुपर्ने समस्या रहेको कमला गिरीले बताए । तर लमही नगरपालिका–६ को कार्यालयले कुलमोहरवासीको मुहारमा परिवर्तन ल्याइदिएको छ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लागत अनुमानअनुसार कुलमोहर गाउँमा धारा जडानका निम्ति वडा नं ६ को वडा कार्यालयबाट रु दश लाख बजेट विनियोजन भएको थियो ।

सोही बजेट र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राविधिक सहयोगमा गाउँमा धारा पुर्याउन सफल भएको वडाध्यक्ष गणेशमान चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्