Logo

सम्बन्ध सुमधुर नभएको कसरी थाहा पाउने ? कसरी बनाउन सकिन्छ स्वस्थ एवम् सुमधुर सम्बन्ध ?



Spread the love

सम्बन्ध अनेक खालका हुन्छन् । पारिवारिक सम्बन्ध, साथीसंगीको सम्बन्ध, ब्वाएफ्रेन्ड-गर्लफ्रेन्ड सम्बन्ध, बोस-कामदार, शिक्षक-विद्यार्थी सम्बन्ध, लगायत ।

सम्बन्धहरू बनाउन निकै सजिलो छ, तर यसलाई टिकाइ राख्न साह्रै गाह्रो । बाहिरी कुरामा जतिसुकै सफलता हासिल गरे पनि यदि मान्छेको सम्बन्धमा सुमधुरता छैन भने हामी खुसी हुन सक्दैनौं । परिवारमा कलह, साथीसंगीमा मनमुटाब जस्ता तिक्तताले व्यक्तिलाई भित्रैदेखी कमजोर पार्दिन्छ ।

सम्बन्ध सुमधुर नभएको कसरी थाहा पाउने ?

– तपाईंको सहकर्मीले उसका हरेक नराम्रो स्वभाव या नराम्रो दिनको आरोप तपाईंलाई लगाउँनु ।
– बिनाकारण सधैं शंका उपशंका गरिरहनु ।
– तपाईंको साथी सर्कल, परिवार, आफन्तजनबाट टाढै राख्न खोज्नु ।
– सधैं गाली गर्नुका साथै होच्याउन खोज्नु ।
– असुरक्षित महशुस गराउँदै डर सृजना गराइ रहनु ।
– इच्छा लागेको या मन पसन्द कुराहरू गर्न नदिनु ।
– तपाईंको इच्छाविपरित जबर्जस्ती छुन खोजिरहनु ।
– भनेको अनुसार नभए ‘मर्दिन्छु, हात काट्दिन्छु, सबैलाई भन्दिन्छु’ आदि इत्यादि भन्दै तर्साइरहनु ।

माथि उल्लेखित लक्षणहरूले कुनै पनि सम्बन्ध अस्वस्थ रहेको पुष्टि गर्छ । एउटा कुरा ख्याल गर्नुस्, यदि कुनै व्यक्तिले तपाईंलाई कारण बनाउँदै नानाभाती आरोप लाउँदै अनेक हर्कत गरिरहेको छ भने ती सबमा ऊ नै जिम्मेवार रहेको हुन्छ, न कि तपाईं । उसको मनमा जे छ, उसले त्यही गर्छ । त्यसमा तपाईंको दोष नहुन पनि सक्छ ।

यदि तपाईंको सहकर्मीले तपाईंलाई शारीरिक, मानसिक, भावनात्मक, आर्थिक या अन्य कुनै रुपमा शोषण गरिरहेको छ भने त्यसमा ऊ र उसको मानसिकता नै जिम्मेवार हुन्छ । यसमा तपाईंले आफुलाई दोषी मान्नु पर्ने कुनै कारण छैन ।

कसरी बनाउने स्वस्थ एवम् सुमधुर सम्बन्ध ?

१. एकअर्का प्रति विश्वास गर्नुस्
आफ्नो सहकर्मी/सहयात्री माथि अनावश्यक शंका गर्नुले पनि सम्बन्ध तहशनहश पार्दिन सक्छ । एकअर्कामाथि विश्वास गर्नुस्, हरेक कदममा साथ, सहयोग दिनुस् । एकअर्काको गोपनियता (प्राइभेसी) लाई सम्मान गर्दै अर्काको फोन, फेसबुक, भाइबर, म्यासेज, लगायतका पर्सनल कुरामाथि अनावश्यक निगरानी नराख्नुस् । यसले धेरै शंका गर्ने बानी बसाल्छ र सम्बन्धमा चिसोपन ल्याउँछ ।

२. अन्तरंग कुराकानी गर्नुस्
आफ्नो पार्टनरसँग बेलाबेलामा कुराकानी-गफगाफ गरिराख्नुस् । सधैं बोलिरहने मात्र नगर्नुस्, उसको कुरा पनि सुन्ने बानी बसाल्नुस् । अक्सर धेरैजसो सम्बन्ध कुराकानीको अभाव र गलत बुझाइ (मिस अन्डर्स्ट्यान्डिङ) का कारण बिग्रिरहेका हुन्छन् ।

३. एकले अर्काको सम्मान गर्न सिक्नुस्
हरेक मान्छे इज्जत-सम्मानको भोको हुन्छ । ऊ त्यहाँ मात्र खुसी हुन सक्छ, जहाँ उसलाई प्रशस्त सम्मान मिल्छ । होइन भने उसले बिस्तारै त्यहाँबाट भाग्ने प्रयास थाल्छ । त्यसैले सम्बन्धको सवालमा पनि सम्मानले निकै ठुलो अर्थ राख्छ ।
आफ्नो पार्टनरले गरेका कामहरू, हासिल गरेका उपलब्धीहरूलाई प्रशंसा गर्न सिक्नुस्, सम्मान गर्न सिक्नुस् । कतिपयले ‘सफलता’लाई खाली पैसासँगमात्र दाज्ने स्वाभावले पनि समस्या निम्तिरहेको हुन्छ ।

४. मित्रता बढाउनुस्
कुनै पनि सम्बन्धमा व्यक्ति-व्यक्ति बीच केही समानता अवश्य हुन्छन् नै । आ-आफ्ना रुचि, उद्देश्य र सपनाका कुरा गर्दै एकअर्कासँग मित्रताको लहर ल्याउनुस् । समानतालाई स्वीकार्नुस् र असमानतालाई सम्मान गर्न जान्नुस् । सम्बन्ध यसै सुमधुर बन्नेछ ।

५. एकअर्काका सीमितता (लिमिटेसन्स) बोध गर्नुस्
स्वस्थ सम्बन्धकालागि पार्टनरबीचमा सीमितता हुन जरुरी छ । एउटा केटाले के बुझ्न जरुरी छ भने उसकी गर्लफ्रेन्ड पनि कसैकी छोरी हो, दिदी हो, बहिनी हो । उसका लागि ती सम्बन्ध पनि उत्तिकै महत्वपुर्ण छन् ।
कहिलेकाही टाढा हुनु पनि सम्बन्ध नजिक हुनु हो, टुट्नु होइन । सम्बन्धबाट टाढिएर कैलेकसो साथी, परिवारसँग रमाइलो गर्नु कुनै अस्वस्थ कदम होइन । यो बुझ्न एकदमै जरुरी छ ।

(एजेन्सीको सहयोगमा)

तस्बिरः गुगल

प्रतिक्रिया दिनुहोस्