Logo

सार्वजनिक जग्गा अतिक्रमण रोक्न धापाखेलवासीको महानगरपालिका समक्ष माग



Spread the love

१५ बैशाख, काठमाडाैँ – धापाखेलवासीले सार्वजनिक जग्गा अतिक्रमण रोक्न महानगरपालिका समक्ष माग गरेका छन्।

आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले महानगरपालिका–२४ (साविक धापाखेल गाबिस वडा नम्बर वडा नं ९) स्थित जग्गाहरू अतिक्रमण भइरहेकाले त्यसलाई रोक्न माग गरेका हुन् ।

साविक वडा ९ स्थित पर्ति जग्गामध्ये चार आना क्षेत्रफलको एउटा कित्ता रोयल गोर्खाज कम्पनीले केही वर्ष पहिले पर्खाल लगाएको उनीहरूले बताएका छन् । कम्पनीले उक्त जग्गा पछि अरुलाई नै विक्री गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

सार्वजनिक जग्गा संरक्षण समिति, धापाखेलका संयोजक वेदनाथ दाहालले महानगरले सक्रिय रुपमा लाग्दा मात्रै सार्वजनिक जग्गा अतिक्रमण रोक्न सक्ने बताए।

यस ठाउँमा सार्वजनिक जग्गालाई अर्को कुनै जग्गासँग सट्टापटा गरी फिल्ड कामय गर्न खोजेको उनको आरोप छ ।

ज्ञापनपत्र बुझ्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण महानगरपालिकाले प्राथमिकतामा राखेको बताए।

विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार ३० प्रतिशत खाली जग्गा आवश्यक भए पनि महानगरभित्र चार प्रतिशतभन्दा कम मात्रै खाली जग्गा छ। उनले भने, ‘हामीसँग अहिले जति खाली जग्गा रहेको छ, त्यसलाई संरक्षण गर्न महानगरले सम्झौता गर्दैन।’

स्थानीयवासीसँगै महानगरपालिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हरि दाहालले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरपालिकाले पर्याप्त काम गर्न नसकेको बताए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति मदनबहादुर अमात्यले सार्वजनिक जग्गाको संरक्षण गर्न सधैं स्थानीयवासीसँग मिलेर लाग्ने बताए।

स्थानीयवासीले काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, ललितपुरलाई समेत ज्ञापनपत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्