Logo

महायज्ञबाट एक करोड भन्दा बढी रकम सङ्कलन,आउँदो शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालन गर्ने



Spread the love

१७ बैशाख, गुल्मी – गुल्मीको दरबार गाउँपालिका वडा नम्बर ४ स्थित रुन्खादह माध्यमिक विद्यालयले आयोजना गरेको विराट ज्ञान महायज्ञबाट विद्यालयले १ करोड २८ लाख २० हजार ५ सय १५ रुपैयाँ रकम सङ्कलन गर्न सफल भएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले विद्यालयले यही बैशाख ६ गते देखी १२ गते सम्म महायज्ञको आयोजना गरेको थियो । शिक्षालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले प्राविधिक शिक्षाको आवश्यकता ठहर्दै महायज्ञको आयोजना गरिएको विद्यालयका प्राचार्य देव बहादुर पाण्डेले बताए ।

महायज्ञमा आँफु सक्दो दान तथा सम्पूर्ण जनताले तन,मन र धनले सहयोग गरेको महायज्ञ मूल समारोह समितिका संयोजक ठाकुर प्रसाद शर्माले सल्लेरी खबरलाई बताए । सोमबार सल्लेरी खबरसँग कुराकानी गर्दै महायज्ञ मूल समारोह समितिका संयोजक तथा पूर्व प्रचार्य समेत रहेका शर्माले भने  “समाजमा ज्ञानको ज्योति छर्ने उद्देश्यले मुष्ठी दानबाट शिक्षकहरूलाई तलब खुवाउँदै बडो सङ्घर्षका साथ आज यो स्थानमा आईपुगेका छाैँ ।”

साथै, पौष महिनामा प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि अनुमति लिने र आउँदो शैक्षिक सत्र अर्थात् २०७७ साल देखी विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्ने शर्माले बताए । महायज्ञबाट आर्थिक रकम सङ्कलनसँगै हिन्दु धर्मको समेत रक्षा भएको र यस क्षेत्रका जनताले धार्मिक ज्ञान तथा नैतिक शिक्षा प्राप्त गरेको महायज्ञ मूल समारोह समितिका संयोजक ठाकुर प्रसाद शर्माको बुझाई रहेको छ ।

महायज्ञमा गुल्मी जिल्लाका जनप्रतिनिधि,समाजसेवी,शिक्षा प्रेमीहरुको उल्लासमय सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्