Logo

जनताका आवश्यकताको परिपूर्ति नै सरकारको मुख्य ध्येयः उपप्रधान मन्त्री पोख्रेल



Spread the love

१९ बैशाख, बर्दिवास – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण भएसँगै अब जनताका आवश्यकताको परिपूर्ति नै सरकारको मुख्य ध्येय भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने शुरुआत गरिने बताए ।

शिक्षा र स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारको सम्मान गर्दै वर्तमान सरकारले यी कामलाई महत्वका साथ प्राथकितामा राखेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

‘सरकारले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प अघि सारेको छ, यो सरकार र कुनै पार्टी विशेषको कुरा नभएर आम नेपालीको साझा चासो हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘बितेका एक वर्ष संविधानअनुसार ऐन कानून बनाउने आधारभूत काम सम्पन्न गरिएका छन्, अब आर्थिक वर्ष २०७६÷०७७ बाट जनताका आवश्यकताको सम्बोधन गरिने कार्यक्रम सञ्चालन गरिनेछन् ।’

प्रदेश दुईको बर्दिवासमा बर्दिवास मेडिकल कलेज र राजविराजमा रामराजाप्रसाद सिंह मेडिकल कलेज निर्माणको निर्णय कार्यान्वयनको चरणमा प्रवेश गर्नु उपलब्धिपूर्ण भएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाँच वर्षभित्रै बर्दिवास मेडिकल कलेजको पठनपाठन शुरु गरिने गरि काम अघि बढाउन सरकार लागिपरेको बताए ।

बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीले कलेज स्थापना र संरचना निर्माणको गुरुयोजना, माटो परीक्षण (भौगोलिक परीक्षण), वातावरणीय प्रभाव मूल्याङ्कन, कलेज निर्माण हुने जग्गाको भोगाधिकार र त्यसपछि डिपिआरको चरण पार गरेपछि संरचना निर्माणको काम शुरु हुने जानकारी दिए ।

समारोहलाई राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेशसभा सदस्य भरतप्रसाद साह र राजर्षी जनक विश्वविद्यालयका उपकुलपति डा भरत झाले प्रदेश २ को मध्यभागमा काम शुरु गरेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजनाले समयमै काम सम्पन्न गरेर कलेज सञ्चालनको पूर्वाधार तयार गर्ने विश्वास व्यक्त गरे ।

समारोह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि कलेजसम्बन्धी काम अहिले काम अघि बढेको हो ।

सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०७५÷०७६ मा कलेज पूर्वाधार विकासका लागि रु ८७ लाख बजेट छुट्याइएको उपसचिव सुवेदीले बताए । ।

यसबाहेक विश्वविद्यालय अनुदान कोषबाट बर्दिवास, सुर्खेत र बुटवलका लागि मेडिकल कलेजमा रु १०/१० करोड रकम विनियोजन भएको सुवेदीले जानकारी दिए । सबै विधाको अध्ययन÷अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि ३०० श्ययाको अस्पताल पनि निर्माण गरिने सुवेदीको भनाइ छ ।

कलेज स्थापनाका लागि बर्दिवास–४ मा भब्सी र अटाबे पुलबीच पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टी ७५ रोपनी जग्गाको सिफारिश भएको छ । सिफारिश जग्गा वनक्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए ।

यसबाहेक मेडिकल कलेजका लागि बर्दिवास–२ मा जग्गाको थप व्यवस्था गरिने नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास नगरक्षेत्रमा कृषि, पशुविज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक तहसम्मको र शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तरसम्मको पठनपाठन शुरु भइसकेको र चिकित्साशास्त्रको कलेज स्थापनाको काम अघि बढेपछि अब बर्दिवास सबैको शैक्षिक गन्तव्य बन्ने यहाँका बुद्धिजीवीले आस सँगालेका छन् ।

प्रतिक्रिया दिनुहोस्