Logo

सडनडेथमा नेपाल पुलिस क्लबलाई उपाधि



Spread the love

२२ वैशाख, भद्रपुर – काँकडभिट्टामा आयोजना भएको मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । हिजो अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब विजेता बनेको हो ।

विजेता पुलिस क्लबले रु १० लाख एक हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता त्रिभुवन आर्मीले रु पाँच लाख एक हजार नगद पुरस्कार पाएको छ । निर्धारित ९० मिनेटभर दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा खेलाइएको थियो । तर टाइब्रेकरमा समेत ३–३ गोल बराबर भएकाले सडनडेथबाट खेलको निर्णय गरिएको थियो ।

सडनडेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेस कुथुलाई ठोक्किँदै जाली चुमेको थियो । परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो ।

बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि पाएका पुलिस क्लबका रवि पासवानले रु एक लाख एक हजार पुरस्कार पाउनुभएको छ । वैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजकसहित पुलिस, आर्मी, सङ्कटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भूटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्