Logo

साँखु बज्रयोगिनीमा वाग्मती तीर्थयात्रा समूह



Spread the love

३ वैशाख, काठमाडौँ। ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र वाग्द्वारबाट बिहीबार बिहान शुरु भएको यात्रा बूढानीलकण्ठलगायत सात तीर्थ पार गर्दै साँखु बज्रयोगिनी पुगेको हो ।

यसक्रममा पर्ने सात तीर्थमा स्नान, पूजा र दर्शन गरियो । तीर्थमा यज्ञसहित सात पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो । वाग्द्वारबाट साँखु बज्रयोगिनीसम्म अनन्त, अप्सर, पञ्चतारा, षट्कुमार, विष्णुलक्ष्मी, रुद्रगौरी र ब्रह्मसरस्वती गरी सात तीर्थमा स्नान, पूजा र दर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । बिहीबार राति तीर्थयात्री समूह साँखु बज्रयोगिनीमै बास बसी आज नेमुनि, वनदेव र बज्रयोगिनीको हवन यज्ञ भइरहेको उहाँले जानकारी दिनुभयो ।

यज्ञ सकेपछि यात्रा चाँगुनारायण हुँदै आजै पशुपति क्षेत्रमा आउने जनाइएको छ । चाँगुनारायण र दशावतारमा पूजा एवं दर्शन गरी मनोहरा नदीमा स्नान गरेर गुह्येश्वरी, मृगेश्वर (हरिणेश्वर) मा पूजा तथा दर्शन गरिने छ । आजै पशुपतिमा विरुपाक्षलाई दही च्यूरा खाई रुद्रगाडेश्वरमा बास बस्ने तीर्थ यात्रामा नेमुनिको प्रतिनिधिका रुपमा भूमिका निर्वाह गरिरहनुभएका मदन भट्टले बताउनुभयो ।

बेलुकी वाग्मतीको तान्त्रिक साधनासहित नदीको महत्वका बारेमा प्रवचन गरिने जनाइएको छ । हिमवत्खण्डलगायत पौराणिक ग्रन्थमा उल्लेख भएका वाग्मतीको महत्वका बारेमा तीर्थ यात्राका मूल पुरोहित भट्टले वाचन गर्नुहुनेछ ।

वैशाख शुक्ल षष्ठीका दिन वैशाख २७ गते शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो । समूह कटुवालदहबाट सुन्दरीघाट, टेकु शङ्खमूल, पशुपति क्षेत्र, गोकर्णेश्वर, सुन्दरीजल, वाग्मतीको उद्गमस्थल, बूढानीलकण्ठ हुँदै साँखु बज्रयोगिनी आइपुगेको हो ।

ने मुनिले शुरु गर्नुभएको विश्वास गरिने वाग्मती तीर्थयात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएको थियो । कोषका सदस्य सचिव डा ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः शुरु भएको हो । तीर्थयाक्राका त्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ ।

जेठ ४ गते शनिबार वैशाख शुक्ल पूर्णिमाका दिन पशुपति रुद्रगाडेश्वरमा समापन यज्ञ गरेपछि यस वर्षको नौ दिने यात्रा समापन हुनेछ । त्यसै दिन यात्राको जल प्रसाद वितरण गरिने जनाइएको छ । विसं २०४१ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो । गत वर्ष पुनःनिरन्तरता दिँदा यसको अवधि साता दिन थियो ।

यात्रामा ५३ महिला भक्तसहित १११ तीर्थयात्री छन् । विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडा यात्रा हुन्थ्यो । नदी स्वच्छ हुँदा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो । हाल प्रदूषित पानी भए पनि हातमा छम्कँदै हिँड्न बाध्य हुनुपरेको पुजारी भट्टले गुनासो गर्नुभयो ।

तीर्थयात्राले वाग्द्वारकै जस्तो स्वच्छ पानी कटुवाल दहबाट उपत्यका बाहिर पठाउने गरी जागरण अभियान फैल्याउने कोषको लक्ष्य छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानलगायत सहायक नदीको सफाइ अभियानसँग सहकार्य गरिने पनि सदस्य सचिव ढकालले बताउनुभयो ।
––– रासस

प्रतिक्रिया दिनुहोस्