Logo

प्रधानाध्यापकको नियुक्तिमा ढिलासुस्ती भएपछि पठनपाठनमा असर



Spread the love

७ जेठ , कनकाई । नमूना विद्यालयका रुपमा प्रस्तावित झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा छ महीनादेखि प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीका कारण पठनपाठनमा असर परेको छ ।

प्रधानाध्यापकको दाबेदारीका रुपमा बहालवाला निमित्त प्रधानाध्यापक गोपीकृष्ण भट्टराईसहित अन्य तीन सहायक प्रधानाध्यापकहरु कर्णबहादुर डाँगी, हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटीबीच भएको प्रतिस्पर्धाका कारण अध्यापनमा समेत असर परेको छ । नयाँ शैक्षिक सत्रको पहिलो परीक्षा आउन अब एक महीना मात्र बाँकी रहँदा पनि आजसम्म विद्यालयमा सबै विषयको अध्ययन अध्यापन नियमित नहुनुमा विद्यालय प्रशासनको लापरवाही भएको अभिभावक चन्द्रप्रसाद प्रसाईंले बताउनुभयो ।

उक्त विद्यालयले अध्यापनसँगै अन्य दैनिक गतिविधिमा समेत बेवास्ता गर्दै आएको छ । विद्यालयको शौचालयको दुर्गन्धले विद्यार्थीहरुलाई कक्षाकोठामा बस्नसमेत समस्या भएको कक्षा दशमा अध्ययनरत छात्रा गरिमा पोखरेलको गुनासो थियो । शौचालयका सबै प्यान फुटेका र तिनको मर्मत तथा सरसफाइमा विद्यालय प्रशासनको ध्यान नगएको अर्का अभिभावक धर्मानन्द भट्टराईले बताउनुभयो । अङ्ग्रेजी माध्यमलाई प्राथमिक्ता दिएर नमूना विद्यालयका रुपमा अघि बढेको यस विद्यालयमा भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुको विद्यालय पोशाक, विद्यालय आगमनको समय, अनुशासनजस्ता विषयमा बेलैमा सरकारी अनुगमन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्लामा नमूना विद्यालयका रुपमा प्रस्तावित प्रायः सबै विद्यालयमा निर्देशिकाअनुसार प्रधानाध्यापकको व्यवस्थापन भई विद्यालय विकास योजना कार्यान्वयन हुन थालेको बताइएको छ । प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीकै कारण नमूना विद्यालयका लागि शिक्षा विभागबाट सःसर्त आउने अनुदान रकमसमेत रोकिने अवस्थामा पुगेकाले अभिभावकहरू चिन्तित भएका छन् । विद्यालयमा केही शिक्षकहरु स्वास्थ्यको कारण देखाउँदै बिदामा छन् ।

उक्त विद्यालयमा अन्य तीन शिक्षकको अभाव भएकाले विज्ञापन सार्वजनिक गरेर पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताउनुभयो । शैक्षिक संस्थामा यस किसिमको सङ्क्रमणकालीन अवस्था आउन नदिन व्यवस्थापन समितिकातर्फ बाट हदैसम्मको प्रयास भइरहेको र चाँडै यसको निकास आउने प्रतिबद्धता अध्यक्ष उप्रेतीले जनाउनुभयो ।

यस विषयमा टुङ्गो लगाउन छ महीनाअघि देखि विभिन्न चरणमा बसेका बैठक र भएका छलफलबाट पनि निकास नआएपछि प्रक्रिया लम्बिँदै गएकाले प्रधानाध्यापकका चारै सम्भावित उम्मेदवार यतिबेला प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा व्यस्त रहेको बताइएको छ ।

तत्कालीन प्रधानाध्यापक निर्मलकुमार खतिवडा सेवा निवृत्त भएपछि गत मङ्सिर २५ गतेदेखी निमित्त प्रधानाध्यापकका रुपमा भट्टराईले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
––– रासस

प्रतिक्रिया दिनुहोस्