Logo

आमाछोरा उपचारबाट वञ्चित   



Spread the love

  २१ जेठ, राँझा। बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गाैला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् ।

तुलसा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ भने उहाँको छोरा हिरेन्द्रको दुवै मिर्गाैलामा समस्या देखिएको छ । दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गाैला पीडित शाहीकी भाउजु बिमला शाहीले बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म बिरामी पर्नुभएकी तुलसालाई गत असोजमा स्वास्थ्य जाँच गराउँदा क्यान्सर देखिएको हो । भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गौलाको समस्या देखिएको हो ।

“सासु र देवरको उपचार गराउँदैमा सवै रकम सकियो”, बिमलाले भन्नुभयो, “अहिले रु पाँच लाख ऋणमा छौँ ।” उहाँले विभिन्न सहयोगीका भरमा देवरको नियमित डायलसिस गराउँदै आएको बताउनुभयो । अहिले हिरेन्द्रको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलसिस गरिँदै आएको छ ।

क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ । “अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन”, बिमलाले भन्नुभयो । उहाँले आर्थिक सहयोगका लागि विभिन्न निकाय तथा व्यक्तिलाई गुहार्दै आउनुभएको छ ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्