Logo

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा प्रथम मेयर कप भलिबल प्रतियोगिता उद्घाटन



Spread the love

दिपसागर भण्डारी


२१ जेठ, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा प्रथम मेयर कप प्रतियोगिता उद्घाटन भएको छ । मंगलबार उद्घाटन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले जनताले अधिकार प्रत्याभूति गर्ने गरी आँफुहरुले काम गरिरहेको बताए।

सिङ्गो नगर विकासको लागि जनताबाट निर्वाचित भएर आँफुहरु जनताको सेवा गर्न आएकाले यसमा आँफुहरु प्रतिबद्ध रहेको पुनले बताएका छन् । बनगाड कुपिण्डे नगरपालिकामा पछिल्लो समयमा राजनीतिक हस्तक्षेप व्याप्त रहेकाले यसलाई कम गरिदिन सो नगरका राजनिज्ञहरुलाई अनुरोध गरेका थिए । नेकपा सल्यानका अध्यक्ष समेत रहेका पुनले  स्थानीय सरकारका काम कारबाहीहरूलाई असर पुग्ने खालका क्रियाकलाप नगरिदिन अनुरोध गरेका थिए । उनले आगामी वर्षहरूमा खेल क्षेत्रमा पर्याप्त रूपमा बजेट विनियोजन गर्ने बताए । कला संस्कृति र लोप हुन लागेका बनगाडका पुराना मौलिक झाँकीहरू ल्याएर कार्यक्रममा प्रस्तुत गर्ने सबैलाई नगर प्रमुख पुनले धन्यवाद समेत दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बनगाड कुपिण्डे नगरपालिका कला संस्कृति तथा पर्यटकीय हिसाबले धनी नगरपालिका भएको बताए । राष्ट्रकै गौरव बोकेको कुपिण्डे ताल, बनगाडी गीत तथा नाच समेत उक्त नगरपालिकाको सम्पत्ति भएको बुढाथोकीले बताए । नगर प्रमुख बुढाथोकीले प्रथम मेयर कप भलिबल प्रतियोगितालाई सफलताको शुभकामना दिँदै खेल क्षेत्र राष्ट्रकै सम्पत्ति भएकाले यसलाई विकास गर्न र गुणस्तरीयता कायम राख्न आगामी नगरसभाबाट खेल क्षेत्रलाई बजेट विनियोजन गर्न नगर प्रमुखलाई अनुरोध समेत गरेका थिए । विशिष्ट अतिथि बुढाथोकीले गोविन्द पुन नगर प्रमुख मात्र नभएर नेकपा सल्यानका जिल्ला अध्यक्ष समेत रहेकाले नगरमा आउने राजनीतिक समस्याहरूलाई हल गर्न पनि अनुरोध गरे ।

कार्यक्रमका अर्का अतिथि दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बनगाड कुपिण्डे नगरपालिकाको समृद्धिका लागि पहिलो कुरा राजनीति एकता हुन आवश्यक रहेको बताए । उनले बनगाड कुपिण्डे नगरपालिकाले समान रूपले नगरको विकास गर्न लाग्ने र राजनीतिक विपरीत धारका राजनीतिज्ञहरूले सकारात्मक कार्यमा साथ दिने तथा नकारात्मक कार्यहरूमा खबरदारी गरे पाँच वर्षमा बनगाड कुपिण्डे नगरपालिका समृद्ध बन्ने बताए ।

मेयर कप उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमकी अतिथि तथा कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले स्थानीय सरकार सञ्चालन प्रक्रियामा सम्भावना र चुनौती दुवै रहेकाले सम्भावनाहरूलाई अगाडि बढाउँदै जाँदा चुनौतीहरू किनारा लाग्ने बताएकी छिन् । उनले स्थानीय सरकारले जनपक्षीय कार्यहरूलाई अगाडि बढाउँदै गए सङ्घीयताको मर्म पुरा हुने भइन् ।

बनगाड कुपिण्डे नगरपालिकाकी उपप्रमुख मञ्जु यरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजीवी,कर्मचारी लगायत नगरवासी र खेलाडीहरूको उपस्थिति रहेको थियो । ३ दिनसम्म सञ्चालन हुने प्रथम मेयर कप भलिबल प्रतियोगितामा नगरका १२ वटै वडाबाट पुरुष तर्फ १२ वटा टिम र महिला तर्फ ९ वटा भलिबल टिम सहभागी भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४  का अध्यक्ष मोहम्मद रोकाको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन कार्यक्रममा नगरका प्रत्येक बडाहरूबाट पुरानो संस्कृति जगेर्ना हुने गरी विभिन्न झाँकी सहित नृत्य प्रस्तुत गरिएको थियो । पुराना लोप हुन लागेका बनगाडी टप्पा,सैरेलु,सिंगारु,पञ्चेबाजा,हिउँपा,मयूर नाच र लहरे नाच समेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको हो ।

उद्घाटन सत्रको पहिलो दिन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरिएको थियो । सल्लिबजारमा सुरु भएको बनगाड कुपिण्डे नगरपालिकाको प्रथम मेयर कप उद्घाटन सत्रको सञ्चालन सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्