Logo

भीरकोटका छ सामुदायिक विद्यालय समायोजन



Spread the love

३१ जेठ, स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिकाका छ सामुदायिक विद्यालयलाई एकापसमा समायोजन गरिएको छ । नगर शिक्षा समितिको बैठकले नगरभित्रका छ आधारभूत तहका विद्यालयलाई पायक पर्ने नजिकैको विद्यालयमा समायोजन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको विद्यालय शिक्षा ९१–१२० तहको शैक्षिक गुणस्तर वृद्धिका लागि चालू शैक्षिक सत्रबाट लागू हुने गरी विद्यालय समायोजन गरिएको हो । आचार्यका अनुसार समायोजन हुने विद्यालयमा पशुपति आधारभूत विद्यालय भीरकोट–५, थालेखर्क आधारभूत विद्यालय भीरकोट–५, मोहनी आधारभूत विद्यालय भीरकोट–८, बालज्योति आधारभूत विद्यालय भीरकोट–६, कालिका बालहित आधारभूत विद्यालय भीरकोट–४ र छाङ्छाङ्दी आधारभूत विद्यालय भीरकोट–४ रहेका छन् । समायोजन गरिएसँगै अन्य दुई आधारभूत तहका विद्यालयको कक्षा घटाइएको छ । १–५ सम्म कक्षा सञ्चालन भएका सरस्वती आधारभूत विद्यालय र रानीरह आधारभूत विद्यालयको कक्षा घटाएर १–३ बनाइएको छ ।

भौगोलिक विकटताका कारण गाउँ छोडेर शहर केन्द्रित हुने परिपाटीले विद्यार्थी सङ्ख्या न्यून हुनु तथा संस्थागत विद्यालयतर्फ बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा रहेका आधारभूत विद्यालय समायोजन गर्नुपर्ने अवस्था आएको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए । “अबको शिक्षा पद्धतिलाई परिमार्जन गरी प्रविधियुक्त र व्यावसायिक बनाउनु आवश्यक छ”, उनले भने । विद्यालय समायोजनसँगै हाल भीरकोट नगरपालिकाका–९ मा ३९ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्